रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष समाचार
काठमाडौँ । आज मिति २०८० साल असार महिनाको ८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका हुन् ।
विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात विषयमा सांसदले जिज्ञाशा राखेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकार किसानका सामस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी आवको बजेट विनियोजन गर्दा मानव विकास सूचकाङ्कमा पछि परेको प्रदेशलाई प्राथमिकता दिइएको बताए ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले समग्रमा नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सो सर्वेक्षण प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखाएको हो । प्रतिवेदनले स्वास्थ्य क्षेत्रका कतिपय क्षेत्रहरु भने अझै स्थिर देखिएको जनाएको छ ।
महत्त्वपूर्ण राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्रयासहरू थप बढाउन आवश्यक रहेको सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण प्रसाद पौडेलले बताए ।
राष्ट्रपतिको निर्णयमा सर्वोच्चको धारणा
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई प्रथम दृष्टिमै अवैधानिक भन्न नमिल्ने बताएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले निवेदनमा उठाइएका अन्य जिकिरहरूलाई रिट निवेदनको अन्तिम किनारा गर्दा विचार गरिने गर्दै हाललाई यसअघि नागरिकता विधेयकसम्बन्धमा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नमिलेको उल्लेख गरिएको छ ।
संसदमा आइतबार मन्त्रीको जवाफ
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ ।
सभाको यही असार १० गते आइतबार बिहान १०ः०० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ ।
सोही दिन गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकूद, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु लामो नरहेको दाबी गरेका छन् । अब सरकारको विकल्प खोज्ने बेला आएको उनको भनाइ छ ।
खाणलाई भेट्न पुगे मन्त्री
परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई भेटेका छन् । बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् ।
सवारी दुर्घटना
गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
यो पनि....
। काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगर प्रमुख बालेन शाहले गरेको अदालतप्रतिको टिप्पणीको समर्थन गर्दै अदालतलाई ५ प्रश्न गरेका छन् ।
जनताका पाँच जायज प्रश्न भन्दै उनले कानुनी शासनमा अदालतको निर्णय मान्नुपर्ने बताउँदै राज्यले कानूनी शासनको नैतिक धरातल गुमाएपछि न्यायलयको फैसलामाथि प्रश्न उठ्ने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ३२ गते २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा उक्लिएको छ ।
पोखराको फेवातालमा आजबाट ‘नेपाल–चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । चीन बाहिर दक्षिण एसियामै पहिलोपल्ट पोखरामा फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल भएको हो । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसनको सहआयोजना फेस्टिभल जारी छ ।
थप समाचार