सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण  : नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार

शुक्रबार, ०८ असार २०८०, २२ : २७
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले समग्रमा नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सो सर्वेक्षण प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखाएको हो । प्रतिवेदनले स्वास्थ्य क्षेत्रका कतिपय क्षेत्रहरु भने अझै स्थिर देखिएको जनाएको छ । 

महत्त्वपूर्ण राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्रयासहरू थप बढाउन आवश्यक रहेको सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताए । 

२०२२ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण नेपालमा सन् १९९६ पछि गरिएको छैटौँ जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण हो ।  नेपालीहरूको स्वास्थ्य स्थिति र सेवाको उपयोगलाई गहिरो रूपमा बुझ्न २६ वर्ष सम्मको तुलनात्मक  तथ्यांक समेटिएको पौडेलको भनाइ छ । 

सर्वेक्षणले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको उल्लेख छ। 

यसैगरी नेपाली महिलाहरूले  मातृ स्वास्थ्य सेवा लिने क्रम बढेको तथ्यांकले देखाएको छ । 

यसैगरी ९४ प्रतिशत गर्भवती महिलाहरूले दक्ष स्वास्थ्यकर्मीहरूबाट बच्चा पाउनु अघिका जाँचहरू गराउने गरेको पाइएको छ । 

जबकि सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षणले २५ प्रतिशत महिलाहरूले मात्र दक्ष स्वास्थ्यकर्मीहरूबाट गर्भवती सेवा प्राप्त गरेका थिए । 

त्यस्तै ७३ प्रतिशत गर्भवती महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिना भित्रमा पहिलो गर्भवती जाँच गराउने गरेको पाइएको छ । जुन आमा र बच्चा दुवैको लागि जोखिमहरू कम गर्न महत्त्वपूर्ण समय हो । 

८१ प्रतिशत गर्भवती महिलाहरूले सिफारिस गरे अनुसार कम्तीमा चार पटक गर्भवती सेवा प्राप्त गरेका छन् । सन् १९९६ मा ८ प्रतिशत जीवित जन्महरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए भने २०२२ को सर्वेक्षण अनुसार ७९ प्रतिशत देखाएको हो । 

त्यस्तै जन्मेपछि नवजात शिशुहरूलाई दुई दिन भित्र थप स्वास्थ्य जाँच गराइएको पाइएको छ । यसैगरी नेपालमा आधा भन्दा बढी ५७ प्रतिशत विवाहित महिलाहरूले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्ने गरेको देखिएको छ । जसमध्ये ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् । त्यस्तै १५ प्रतिशतले परम्परागत विधिहरू प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ । 

महिला बन्ध्याकरण, डिपो र इम्प्लान्ट जस्ता आधुनिक परिवार नियोजनका साधन वा विधिहरू नेपालमा सबै भन्दा बढी प्रयोग भएको पाइएको छ ।

तथ्याङ्क अनुसार नेपालले कूल प्रजनन् दरलाई २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको देखाउँछ । विगत साढे दुई दशकमा नेपालमा प्रजननदर आधाले घटेको देखिन्छ । सन् १९९६ मा प्रति महिलाले ५ बच्चा जन्माउथे भने सन् २०२२ मा प्रति महिलाले २.१ बच्चाहरू मात्र जन्माउँछन् ।

पाँच वर्ष मुनिको बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको देखिन्छ । सन् १९९६ मा ५ वर्ष मुनिका प्रति १,००० जीवित जन्ममा ११८ को मृत्यु हुने गरेको थियो । भने सो मृत्युदर तुलनात्मक रूपमा घटेर हाल प्रति १,००० जीवित जन्ममा ३३ पुगेको छ । 

दीर्घकालीन कुपोषणको एउटा सङ्केत पुड्कोपन वा उमेर अनुसार उचाइ कम हुनु हो । यो सर्वेक्षण अनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप