आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बजेट खर्च

मधेस प्रदेशमा कुल बजेटको ३१ प्रतिशत मात्र खर्च

कुरा बुलेट ट्रेनको गतिको, नतिजा बयलगाडा गतिजस्तो सुस्त
शुक्रबार, ०८ असार २०८०, १६ : २६
शुक्रबार, ०८ असार २०८०

जनकपुरधाम । कतै विकासे बजेट पुग्दैन त कतै बजेट भएर पनि काम हुँदैन । मधेस प्रदेशमा यस्तै भएको छ । सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३१.२९ प्रतिशत मात्र खर्च गर्न सकेको छ । 

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरे लगत्तै मधेस प्रदेश सरकार बुलेट ट्रेनको गतिमा काम गर्ने अभिव्यक्ति दिएका थिए । तर उनको काम गराई बयलगाडा शैलीमा हिँडेको छ । 

प्रदेश सरकार तथा मातहतका मन्त्रालय तथा अन्य निकायले चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् जम्मा २२  दिन बाँकी रहँदा बजेटको खर्च निराशाजनक देखिएको छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० उपनियम १ र २ मा आर्थिक वर्ष समाप्त हुनु भन्दा कम्तीमा एक साता अगाडि नै भुक्तानी निकासा बन्द हुने प्रावधान छ । सोहीअनुसार असार २४ पछि सरकारी खाताबाट आर्थिक कारोबार हुँदैन । 

तर, आर्थिक वर्षको अन्तिम महिना ११ औँ महिनामा मधेस प्रदेश सरकारले कुल विनियोजित रकमको ३१.२९ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । 

असार महिनासँगै मन्त्रालयहरूले कामको गति चौगुना बढाएका छन् । सरकारले थालेको कामको अहिलेको गतिअनुसार आर्थिक वर्षको अन्तिमसम्म ५० प्रतिशतसम्म बजेट खर्च हुने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको अनुमान छ । 

आर्थिक वर्ष बित्नै लाग्दा अहिले पनि मन्त्रालयहरूले नयाँ कामको सम्झौता गरिरहेको देखिन्छ । यसले भुक्तानीमा अप्थ्यारो पर्ने देखिन्छ । स्मरण रहोस्, चालु आर्थिक वर्षमै मधेस प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई बक्यौता भुक्तानीकै लागि निर्माण व्यवसायीहरूले मन्त्रालयमै थुनेका थिए । त्यस्तै, अर्थमन्त्री सञ्जयकुमार यादवलाई मुख्यमन्त्री कार्यालय परिसरमा घेराबन्दी नै गरेको थिए । 

मधेस सरकारले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेकोमा जेठ मसान्तसम्ममा १४ अर्ब ६८ करोड २ लाख ९० हजार ४७७ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको बाँकी २२ दिनमा मधेस सरकारलाई ३२ अर्ब २४ करोड ८ लाख ४१ हजार ५२३ रुपैयाँ खर्च गर्नुपर्ने छ । 

प्रदेश सभाका लागि ३८ करोड ८७ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएकोमा जेठ मसान्तसम्म १८ करोड ७७ लाख ५१ हजार ७४१ रुपैयाँ खर्च गरेको छ । 

त्यस्तै, प्रदेश लोक सेवा आयोगका लागि ८ करोड ९७ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएकोमा ३ करोड ९० लाख ६८ हजार ९५३ रुपैयाँ खर्च भएको छ । 

मुख्य महान्यायाधिवक्ता कार्यालयको लागि ४ करोड २ लाख २ हजार ९२० रुपैयाँ विनियोजन गरिएकोमा २ करोड ३८ लाख ६३ हजार ६२० रुपैयाँ खर्च भएको छ । 

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लागि ९१ करोड ६९ लाख ७२ हजार ३१९ रुपैयाँ विनियोजन गरिएकोमा १५ करोड ८२ लाख १ हजार ७४६ रुपैयाँ खर्च गरेका छन् ।

अर्थ मन्त्रालयको लागि २३ करोड ४४ लाख ६४ हजार ४०१ रुपैयाँ विनियोजन गरिएकोमा ७ करोड ३९ लाख ५८ हजार २७८ रुपैयाँ मात्र खर्च गरेको छ । 

त्यसैगरी, उद्योग, पर्यटन तथा वन मन्त्रालयको लागि ४ अर्ब ५४ करोड २८ लाख ४८ हजार  ६ सय रुपैयाँ विनियोजन गरिएकोमा १ अर्ब ४० करोड ८० लाख ७ हजार ९५१ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको लागि ५ करोड ३४ लाख ५८ हजार ५ सय रुपैयाँ विनियोजन गरिएकोमा २ करोड ४७ लाख १३ हजार ५ सय रुपैयाँ खर्च भएको छ । 

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लागि २ अर्ब ४४ करोड २० लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकोमा मन्त्रालयले जेठ मसान्तसम्म ५६ करोड ३२ लाख ९ हजार ७ रुपैयाँ खर्च गरेको छ । 

खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको लागि १ अर्ब ६८ करोड ५८ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएकोमा ६५ करोड ३ लाख १२ हजार ५०९ रुपैयाँ खर्च भएको छ ।

उता, गृह तथा सञ्चार मन्त्रालयको लागि ५६ करोड ८२ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएकोमा १५ करोड ८८ लाख ८ लाख ८२ हजार १९४ रुपैयाँ खर्च गरेको छ ।

वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको लागि ४ करोड १७ लाख ६३ हजार ८५२ रुपैयाँ विनियोजन गरिएकोमा १ करोड २ लाख ९४ हजार ६६८ रुपैयाँ खर्च गरेको छ । 

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि १८ अर्ब ३३ करोड ४९ लाख ३० हजार ७९९ रुपैयाँ विनियोजन गरिएकोमा जेठ मसान्तसम्म ५ अर्ब ३१ करोड २२ लाख ६२ हजार ६१४ रुपैयाँ खर्च गरेको छ ।

महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका लागि ५७ करोड ५५ लाख ३४ हजार रुपैयाँ विनियोजन गरेकोमा जेठ मसान्तसम्म ८ करोड ७९ लाख ९३ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको लागि ८ अर्ब ७ करोड २१ लाख ३४ हजार १९० रुपैयाँ विनियोजन गरिएकोमा चालु आवको ११ महिनामा ४ अर्ब ८६ करोड १३ लाख २७ हजार ६४८ रुपैयाँ खर्च हुन सकेको छ ।

प्रदेश नीति तथा योजना आयोगका लागि ७ करोड ३ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेकोमा ५९ लाख ३३ हजार ३७ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस्तै, सरकारले आन्तरिक ऋण शीर्षकतर्फ विनियोजन गरेको १६ करोड ६४ लाख ५६ हजार रुपैयाँमध्ये गत जेठ महिनासम्म खर्च नै भएको देखिँदैन । त्यसैगरी अर्थ विविधतर्फ ४ अर्ब ५५ करोड ४८ लाख ९२ हजार ४१९ रुपैयाँमध्ये १५ करोड रुपैयाँ खर्च निकासा भएको छ । 

त्यस्तै, स्थानीय तहको लागि ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ९६ करोड ४४ लाख ८७ हजार ६८५ रुपैयाँ खर्च निकासा भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप