मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
उत्खनन

जानकी : वाल्मीकिले रामलाई अयोध्यामा जन्माउनु र मिथिलाकी सीतासित विवाह गराउनु साहित्य मात्र हो ?

शुक्रबार, ०८ असार २०८०, १५ : ५२
शुक्रबार, ०८ असार २०८०

हिन्दी फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद रहेको भनी यतिबेला नेपालमा चर्को आलोचना भइरहेको छ । संघीय राजधानी रहेको महानगरका मेयर बालेन शाहले उपरोक्त संवाद नसच्याएसम्म महानगरका हलमा हिन्दी फिल्मलाई प्रतिबन्ध गरेपछि यो मुद्दा अदालतसम्मै पुग्यो । 

यहाँ हामी राम–जानकीको वंश र राज्य नियाल्दै छौँ । यसका लागि सर्वप्रथम रामायणको चर्चा गर्नुपर्ने हुन्छ । रामायणको रचना गर्ने महर्षि वाल्मीकि संस्कृत भाषाका आदिकवि मानिन्छन् । विभिन्न भाषामा रामायणलाई लिएर अनेक कथा छन् । 

सत्यकेतु विद्यालंकारको पुस्तक ‘प्राचीन भारत : प्रारंभ से १२०६ ईश्वी तक’ अनुसार, रामायण महाकाव्य जुन रूपमा आज उपलब्ध छ, त्यो अविकल (जस्ताको तस्तै) रूपमा  वाल्मीकिको रचना होइन । यसमा सन्देह छैन, प्रारम्भमा  वाल्मीकिले रामको चरित्रलाई काव्य रूपमा लेखेका थिए । यही काव्यकै आधारमा पछि रामायणको रचना भयो । 

वाल्मीकि र राम समकालीन थिए । विभिन्न विद्वान्का अनुसार मुनि वाल्मीकि भार्गव वंशका थिए । विद्यालंकार लेख्छन्, ‘अन्य विद्वान्ले उनलाई आर्यभन्दा भिन्न कुनै जातिका मान्थे । अहिले भंगी जाति (भारतका एक अछुत जात)ले वाल्मीकिको पूजा गर्छन् । भंगीहरूमा विद्यमान अनुश्रुतिलाई महत्त्व दिने हो भने, यो स्वीकार गर्नुपर्छ — वाल्मीकि ब्राह्मण नभएर आर्यभन्दा भिन्दै कुनै जातिका थिए । जसको वर्तमान प्रतिनिधि भंगी जातिहरू हुन् ।’

पौराणिक अनुश्रुतिका अनुसार, पहिलो आर्यराजा वैवस्वत मनु थिए ।  उनका एक छोरी र आठ छोरा भए । यिनका जेठा छोरा इक्ष्वाकु मध्यदेशका राजा बने, जसको राजधानी अयोध्या थियो । इक्ष्वाकुबाट प्रारम्भ भएको सूर्यवंशमा राजा दिलीप, रघु दशरथ र राम जन्मिए । 

इक्ष्वाकुका जेठा पुत्र विकुक्षि अयोध्याको राजगद्दीमा बसे भने कान्छा पुत्र निमिले अयोध्या र वैशालीको बीचमा एउटा राज्यका स्थापना गरे, जसको राजधानी मिथिला थियो । विद्यालंकार लेख्छन्, ‘यस नगरीको नाम निमिका वंशज मिथिको नामबाट रहेको हो ।’ मिथिलाका यही वंशका राजा पछि जनक कहलिन लागे । ‘जन’को क्रमागत उपाधि जनक हुन्थ्यो ।

दीक्षित लेख्छन्, ‘वैदिक जनको पूर्वाभियान इतिहासमा गंगा नाघेर गंगा–यमुना मैदानमा प्रवेश निकै पछिल्लो समयमा भएको हो । रामकथा त्योभन्दा पहिलेको थियो । वाल्मीकिले रामलाई अयोध्यामा जन्माउनु र मिथिलाकी सीतासित विवाह गराउनु साहित्य मात्र हो ।’

मदनमणि दीक्षितको पुस्तक ‘द्रौपदी र सीता : दुइ युगका दुइ व्यक्तित्व’मा सीताको वंशावली दिइएको छ । 

उनी लेख्छन्, ‘इक्ष्वाकुका छोरा विकुक्षिबाट रामको वंशावली सुरु भएको थियो भने सीताको वंश विकुक्षिका भाइ निमिबाट सुरु भयो । निमि आठौँ आदित्य विवश्वानका छोरा मनुका नाति थिए । निमि मिथ मिथिला देशका संस्थापक र  जनक कुलका प्रथम व्यक्ति हुन्, यिनलाई विदेह पनि भनिन्थ्यो । त्यसैकारण मिथिलालाई विदेह पनि भनिन्छ ।’

दीक्षितका अनुसार, जनकका सबै नाति–पनातिहरू पुस्तौँपुस्तासम्म जनक भनिँदै गए । राम र सीताका पिता शीरध्वज जनक सूर्यवंशी थिए । ‘राम कथा कौरव वंशभन्दा पहिलेको हो । त्यो युगमा अन्तर्गोत्रीय र बहिर्गोत्रीय विवाह निकै छ्यासमिस अवस्थामा रहेको देखापर्छ,’ दीक्षित लेख्छन्, ‘वैदिक जनको पूर्वाभियान इतिहासमा गंगा नाघेर गंगा–यमुना मैदानमा प्रवेश निकै पछिल्लो समयमा भएको हो । रामकथा त्योभन्दा पहिलेको थियो । वाल्मीकिले रामलाई अयोध्यामा जन्माउनु र मिथिलाकी सीतासित विवाह गराउनु साहित्य मात्र हो । कुशध्वज जनकले खेत खन्दा सीता फेला परिन् । त्यो कथाको मिथकीय पक्षलाई एकैछिन पर सारेर हेर्दा सीताको जन्म ती जनकको प्रदेशमा कृषिको प्रारम्भिक विकाससित जोडिएको देखिन्छ ।’ 

दीक्षितका अनुसार, सीताको बाल्यकाल प्रायः अज्ञात छ । उनका पिताका घरमा लाक्षणिक अर्थात् हस्तरेखा र कुण्डली हेर्नेहरू आउँथे । सीतालाई एकान्त जीवन र वन विचरण मन पथ्र्यो । लाक्षणिकहरू सीताको हस्तरेखा हेरेर भविष्यवाणी गर्थे — ‘तिमीले वनमा बस्नुपर्नेछ ।’ 

केही लाक्षणिकले सीतालाई भन्थे — पति–पुत्रवती, सौभाग्यवती, राजमहिषी हुनेछ्यौ ।

००० 

महात्मा बुद्धको समयमा प्राचीन १६ जनपदको उल्लेख पाइन्छ– अंग, मगध, काशी, कोशल, वृजि या वज्जि, मल्ल, वत्स, चेदि, पंचाल, कुरु, मत्स्य, शूरसेन, अश्मक, अवन्ति, गान्धार र कम्बोज । 

यीमध्येको कोशल कोशल देशको राजधानी श्रावस्ती थियो भने, दोस्रो प्रसिद्ध नगर साकेत (अयोध्या) थियो । यस जनपदको पश्चिममा पाञ्चाल जनपद, पूर्वमा सदानीरा (गण्डक) नदी, उत्तरमा नेपालको पर्वतमाला र दक्षिणमा स्यन्दिका नदी पथ्र्यो भनी विद्यालंकारले उल्लेख गरेका छन् । 

यस्तै, वज्जि महाजनपदमा आठ गणराज्य सम्मिलित थिए, जसमा विदेह राज्य पनि पथ्र्यो, जसको राजधानी मिथिला थियो । अजातशत्रुको आक्रमणपछि वज्जिको राजधानी वैशालीबाट लिच्छविहरू नेपाल खाल्डो (काठमाडौंं) पसेको भनिन्छ ।

धर्मले अचेल व्यावसायिक रुप लिन थालेको छ, अर्थात् आज भारतीयले धार्मिक पर्यटनबाट फाइदा लिने उद्देश्यले सीता र बुद्धलाई आफ्नो देशको भन्न थालेका छन् । त्यस्तै प्रकारका कला, साहित्यको सिर्जना गरिरहेछन्, तर आफ्ना सिर्जनामा सामाजिक न्यायलाई भने कम ध्यान दिन्छन् ।  

अझै पनि भारत र नेपालमा जातीय विभेद तथा छुवाछुत छ । शूद्र भएर तपस्या ग¥यो भनी रामले शम्बूक ऋषिको हत्या गरेको प्रसंग रामायणमा छ । यो प्रसंग पछि थपिएकै किन नहोस्, यसले समाजमा सदियौँदेखि जातीय छुवाछुत कायम राख्न सघायो । मानिसहरु पुराना शास्त्रमाथि विश्वास गर्छन् । हामीले थुप्रै पुराना विभेदकारी विश्वासलाई हटाउन नयाँ ढंगले पौराणिक साहित्यको व्याख्या गर्नुपर्नेछ, यसबारे युवाहरुलाई बुझाउनुपर्नेछ । र, धार्मिक तथा सांस्कृतिक पर्यटनका माध्यमबाट फाइदा लिन हामी पनि केन्द्रित हुनुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप