मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : बालेनको आक्रोशदेखि रास्वपाको पहिलो वार्षिकोत्सवसम्म

बिहीबार, ०७ असार २०८०, २३ : ०९
बिहीबार, ०७ असार २०८०

नागरिकता ऐन कार्यान्वयन गर्ने बाटो खुला, अदालतको आदेशले प्रेम चलाउनेलाई पनि राहत

आज मिति २०८० साल असार महिनाको ७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

बालेनको कठोर अभिव्यक्ति

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् ।

विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि शाहले काठमाडौँ महानगरभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै शाहले यस्तो अभिव्यक्ति दिएका हुन् ।

यसैबीच बालेनको अभिव्यक्तिले अदालतको मानहानी हुने भन्दै कतिपयले उनको बेलगाम बोलीको आलोचना गरेका छन् ।

रास्वपाको पहिलो वार्षिकोत्सव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापना दिवसका अवसरमा धन्यवाद र क्षमा माग्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकबाट धन्यवाद र क्षमा पनि माग्ने निर्णय भएको रास्वपाका सभापति रवि लामिछानेले बताए ।

पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले स्थापना दिवसमा धन्यवाद र क्षमा माग्ने निर्णय गरेका छौँ ।’ एक वर्षको अवधि ऊर्जावान् र सकारात्मक रहेको उनले बताए ।

बिहीबार नै रास्वपा स्थापनाको एक वर्ष पुगेको छ । रास्वपाले सो अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापानमा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अनिल केशरी शाहलाई जिम्मेवारी दिएको छ ।  आजै पार्टी प्रवेश गरेका उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको सभापति रवि लामिछानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले आगामी ८४ सालको निर्वाचनपछि नयाँ राजनीतिक दलको नेतृत्वमा सरकार बन्ने ठोकुवा गरेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगर मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई पार्टीमा जोड्न सकारात्मक रहेको बताएका छन् ।

नागरिकताबारे सर्वोच्च

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  बिहीबार न्यायाधीशद्वय डा।आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।

सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई राहत पुग्ने गरी अन्तरिम आदेश जारी गरेको छ ।  चलाउनेलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

बजेटमा अझै लफडा

नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट स्वीकार गर्न नसक्ने बताएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताए ।

माओवादीको सर्कुलर

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकअघि मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ । बिहीबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर रहेको सर्कुलर केन्द्रीय कार्यालयमार्फत मातहतका कमिटीमा पठाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच समाजवादी मोर्चा बलियो बनाउनेबारेमा गम्भीर छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्ड र विप्लवबीच समाजवादी मोर्चालाई सुदृढ बनाउने बारेमा छलफल भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको टिप्पणी गरेका छन् । सोही कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको यादवको भनाइ छ ।

क्रिकेटमा नेपाल पराजित

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपाल दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग पराजित हुन बाध्य भएको हो ।

यो पनि...

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रटाचार मुद्दा दायर गरेको छ ।

 यादवले जागिरे अवधिमा कमाएको आम्दानी भन्दा दोब्बर सम्पत्ति जोडेको र त्यसको स्रोत खुलाउन नसकेपछि आयोगले मुद्दा दार्ता गरेको हो ।

देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ । विभागका अनुसार हालसम्म सातै प्रदेशमा तीन लाख १९ हजार तीन सय १४ हजार पशु चौपाया निको भएका छन् ।


नागरिक उड्डयन प्राधिकरण कार्यालयले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष एवम् बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले माओवादी केन्द्रसँग एकता गर्न औपचारिक जवाफको प्रतीक्षामा रहेको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकारहरूसँगको कुराकानीमा श्रेष्ठले माओवादीसँग पार्टी एकता गर्न राखेको प्रस्तावको जवाफ कुरेको बताए ।

निजी मेडिकल शिक्षा अध्यापन गराउने शिक्षालयहरूले १० दिनभित्रमा नर्सिङको भर्ना कार्यक्रम अगाडि बढाउन आग्रह गरेका छन् । चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई ज्ञापन पत्र बुझाउँदै १० दिने अल्टिमेटम दिएको हो ।

नेपाल र भारत सरकारबीच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतीय पक्षले नेपाललाई पानी दिन बर्सेनि आलटाल गर्दै आएको छ । दुई देशबीच भएको सम्झौता अनुसार भारतीय पक्षले नेपालको लागि वार्षिक ८५० क्युसेक पानी नहरको माध्यमबाट दिनुपर्ने उल्लेख छ ।

भन्सार विभागको रिपोर्ट

चालू आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको रिपोर्ट अनुसार जेठ मसान्तसम्म कूल १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । यद्यपि यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६।०१ प्रतिशतले कमी हो ।

यो पनि

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप