लुम्बिनी प्रदेशका करिब ७८ हजार गाई–भैँसीमा लम्की स्किनको सङ्क्रमण, मारमा किसान
बुटवल । लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्की स्किनको प्रकोप पछिल्लो दुई महिना यता बढ्दै गएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ ।
१२ वटा जिल्ला रहेको प्रदेशमा अहिले रोल्पा,बाँके, बर्दिया, गुल्मी, प्युठान, अर्घाखाँची लगायतका जिल्लाका चौपायाहरूमा यो रोग व्यापक रूपमा फैलिएको छ ।
लुम्बिनी प्रदेशमा अहिले ७७ हजार ९ सय १३ गाई–भैँसीमा सङ्क्रमण देखिएको छ ।रोगका कारण २८ सय ३१ गाई–भैँसीको मृत्यु भएको छ । निर्देशनालयका निर्देशक डा.परबेज आलमका अनुसार १२ वटा जिल्लामध्ये अहिले सबैभन्दा असर रोल्पामामा परेको छ ।
रोल्पामा अहिलेसम्म २७ हजार पशु सङ्क्रमित भएका छन् भने ११ सय ३९ पशुको मृत्यु भएको छ । प्रदेश निर्देशनालयको अनुसार अहिले सम्मको अवस्था हेर्दा सबै कम सङ्क्रमण भएको जिल्ला नवलपरासी पश्चिम रहेको छ, जहाँ १०४ पशु सङ्क्रमित छन् भने ५ को मृत्यु भएको छ ।
चिन्तामा किसान
गुल्मीको मुसिकोट नगरपालिका–२ का रामबहादुर महतको गोरुलाई सुरुमा घाँटी र पुच्छरमा गिर्खा देखिएको थियो । पछि ज्वरो आउने, फिँज काड्ने गर्दा एक हप्तामा गोरु मर्यो ।
उक्त गाउँका मीनबहादुर महत, बुद्ध थापा, राजु नेपाली, नरबहादुर कार्की, डम्बरबहादुर बोहरासहित धेरैको गोरु मरेको तथा बिरामी परेको स्थानीय किसान वासुदेव घिमिरेले बताए ।
मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेलले सबैतिर पशु चौपायामा लागेको भाइरसले असर गरेकाले पशु स्वास्थ्यकर्मीलाई खटाउन निर्देशन दिई सकिएको बताए।
भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्र गुल्मीका प्रमुख डा भरत काफ्ले खेत रोप्नेबेला गोरु मर्न र बिरामी पर्न थालेपछि किसानहरू चिन्तामा रहेको बताउँछन् ।
प्युठानको गौमुखी गाउँपालिकाका किसानका गाई, गोरुसँगै बाख्रा पनि मर्न थालेको स्थानीय रामप्रसाद शर्माले बताए । यस्तै रोल्पामा पनि यस्तै समस्या रहेको छ ।
चौपायालाई खोप लगाउँदै किसान
लुम्बिनी प्रदेशका रुपन्देहीमा केही वर्ष अगाडि देखिएको रोग अहिले प्रदेशका सबै जिल्लामा पुगेको छ । केही ठाउँमा नियन्त्रणमा आए पनि धेरैमा ठाउँमा विस्तारको अवस्थामा रहेको पशु चित्किसकहरु बताउँछन् ।
पाल्पामा माथागढी लगायतका केही ठाउँमा अहिले रोग नियन्त्रणमा आएको छ ।लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयका अनुसार रोग नियन्त्रणको लागि जनशक्ति खटाउनेदेखि पशुमा सङ्क्रमण रोक्न लम्की स्किन खोप लगाउन थालिएको छ ।
सुरुमा गुल्मी र अर्घाखाँची जिल्लामा भ्याक्सीन लगाउन सुरु गरिएको प्रदेश निर्देशक डा.परबेज आलमले बताए ।
गुल्मीमा ७७७५ र अर्घाखाँचीमा ७५० खोप लगाइएको छ । भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीका प्रमुख डा भरत काफ्लेले गुल्मीका धेरै पालिकहरुमा यो खोप लगाउन थालिएको बताए।
उनले अहिले तत्कालको लागि कार्यालय र पालिकाको बजेटबाट किसानलाई निःशुल्क रूपमा खोप लगाउने काम भइरहेको रातोपाटीलाई बताए ।
लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले लक्षण देखिएका पशुलाई तत्काल चिकित्सकसँग परामर्श गर्न र त्यस्ता पशुलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा नलैजान आग्रह गरेको छ । साथै, पशु बाँध्ने गोठ सफा राख्न र असल भेटेनरी अभ्यास गर्न गराउन सबै स्थानीय तहलाई आग्रह गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा
-
आजको दिन कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
यस्तो छ विदेशी मुद्राको भाउ, कसको मूल्य कति ?
-
मुटु कमाउने जाडो झेलिरहेका शीतलहरपीडितलाई सेनाको सहयोग
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता