बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

४८ करोडको बजेट ल्याउँदै कैलाश गाउँपालिका

बिहीबार, ०७ असार २०८०, १८ : ५९
बिहीबार, ०७ असार २०८०

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा दूध र खसी बोका उत्पादनमा अनुदान दिने घोषणा गरेको छ । 

पाालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड २ लाख रुपैयाँको बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जनाए ।

बिहीबार बसेको गाउँसभामा पालिका अध्यक्ष लोकबहादुर मोक्तानले आगामी आर्थिक वर्षको २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले कृषकले उत्पादन गरेको दूध सहकारीमार्फत् बिक्री गर्दा प्रोत्साहनस्वरुप प्रतिलिटर ३ रुपैयाँ र खसीबोका उत्पादन गरी बिक्री गर्दा प्रतिकिलो ५ रुपैयाँका दरले अनुदान दिने घोषणा गरे ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा बीमा गराएको गाई भैँसीलाई पोषण भत्ताबापत कृषकलाई २ हजार ५०० रुपैयाँ उपलब्ध गराउने, जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, कृषि क्षेत्रमा कृषकलाई सघाउन प्राविधिक जनशक्तिलाई वृद्धि गर्ने, आधुनिक कृषि औजार उपलब्ध गराउने भएको छ । 

त्यस्तै, एक वडा एक उत्पादनमा केन्द्रित भई स्वरोजगार कृषि उद्यममा युवालाई आकर्षित गर्ने, विषादीरहित प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राखेर बाली बीमा कार्यक्रम सञ्चालन गर्ने, सहकारीमार्फत् सामूहिक खेतीलाई प्रवर्द्धन गर्न अनुदान उपलब्ध गराउने भएको छ ।

यसैगरी, स्थानीय स्तरमा नै कृषि उपज बजार केन्द्रको स्थापना गर्ने, रैथाने बालीको उत्पादन र बजारीकरण गर्ने, मासुजन्य उत्पादनमा प्रोत्साहन दिने, कृषक दर्ता व्यवस्थापन गर्ने तथा कृषक कार्ड र मन कार्डको वितरण गर्ने जस्ता कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ ।

पालिकाले ‘कृषकको ग्राहक, स्थानीय सरकार’ कार्यक्रममार्फत् कृषि उत्पादन स्थानीय सरकारले नै खरिद गरिदिने, स्थानीय स्तरमा उत्पादित वस्तु तथा पेय पदार्थलाई ब्राण्डीङ गरी बजारीकरण गर्ने भएको छ ।

‘क्लिन स्कुल ग्रिन स्कुल’देखि एमबिबिएस डाक्टर सहितको कैलाश अस्पताल सञ्चालन गर्ने, पालिकाभित्र रहेका ऐतिहासिक सम्पदा र पर्यटकीय सम्पदाको पुनःनिर्माण र संरक्षण गर्ने, ग्रामीण सडकको स्तरोन्नति गर्दा अनिवार्य रुपमा नाली निर्माण गर्नुपर्ने भनेको छ ।

त्यस्तै, निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने र अध्यक्षसँग विपन्न र किशोर किशोरी बहस कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा समावेश छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टका अनुसार आर्थिक मन्दीका कारण संघीय र प्रदेश सरकारबाट आउने अनुदानमा पनि कमी आएकाले आगामी आर्थिक वर्षको बजेट पनि घटेको हो । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षमा पहिले भन्दा ३ करोड कम बजेट ल्याउने तयारी गरेको उनले बताए ।

पालिकाले आगामी असार १० गते बस्ने गाउँसभामा बजेट प्रस्तुत गर्ने गरी तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप