मङ्गलबार, ०४ मङ्सिर २०८१
ताजा लोकप्रिय

राजनीतिक दल सामन्तवादका किल्ला भए

बिहीबार, ०७ असार २०८०, १३ : ५१
बिहीबार, ०७ असार २०८०

नेपाली कांग्रेस, एमाले र माओवादी — यी सबै संसदीय प्रणाली स्वीकार गरेर सरकारमा पुगेका दल हुन् । 

आवधिक निर्वाचन, विधिको शासन र कानुनी राज्यलाई यिनीहरुले औपचारिक रूपमै स्वीकार गरेका छन् । मुलुकमा निरंकुश राजतन्त्रात्मक शासन प्रणालीको अन्त गरेर लोकतन्त्रको स्थापना गर्नका लागि यिनले ऐतिहासिक भूमिका खेलेका हुन् । यसर्थ यी दलको इतिहास गर्विलो छ, तर निरंकुशता विरुद्ध जनवादको पक्षमा लडेका यी दलले आफैँभित्र लोकतान्त्रिक संस्कारको विकास गर्न सकेका छैनन्, यी दलभित्र लोकतन्त्र छैन । 

यी दल सामन्तवादको किल्लामा रूपान्तरित भएका छन् । राजनीतिक दलका नेताको हैसियत अघोषित राजाको जस्तो बन्न पुगेको छ । यी दलका मुख्य नेता मठाधीशजस्ता भएका छन् । उनीहरूले राज्यका तर्फबाट उपभोग गर्ने सुख–सुविधा राजतन्त्रमा राजाहरूले उपभोग गर्ने सुख–सुविधाभन्दा कहीँ–कतै कम छैन । स्वास्थ्य उपचारको मामिलामा त यो हिजो राजाहरूले उपभोग गरेको सुविधाभन्दा कैयौँ गुनामाथि छ । 

नेताहरूको उच्च स्तरको विलासी जीवनशैली र सानमान समेत राजा–महाराजाको भन्दा कम छैन । आम कार्यकर्ता र मुख्य नेतृत्वबीचको खाडलको कुरा नगरौँ, किनकि ती दुवै नदीका दुई किनाराजस्ता भएका छन्, जसको मिलन असम्भव बन्न पुगेको छ । मुख्य नेतासँग कमरेड वा कलिगहरूको सम्बन्ध राजाका शासनका बेला राजा र दरबारियाबीचको सम्बन्धजस्तो बन्न पुगेको छ । नेताहरूसित भेटका लागि ठुलो थैलीवाल हुनु वा पारिवारिक पहुँच हुनु अनिवार्य सर्त बन्न पुगेका छन् । जो हिजो मुख्य नेतृत्वसहित काँधमा काँध मिलाएर सँगसँगै आन्दोलन र क्रान्तिको बलिवेदीमा होमिएका थिए, आज ती पाखा परेका छन् ।

चाकडी चाहने र गर्ने प्रवृत्ति यति बढेको छ, शीर्ष नेताको स्तुतिगान गर्ने वा जयजयकार पुकार्ने काममा हिजोका दरबारिया समेत पछि पर्न थालेका छन् । गणतन्त्रात्मक शासन प्रणालीमा यो चिन्ताजनक अवस्था हो । अर्कोतिर मुख्य नेताहरूमा आलोचना सहने शक्ति समाप्त भएको छ । आफूलाई अब्बल लोकतान्त्रिक साबित गरिरहनुपर्ने बाध्यताका कारण आलोचना गर्नेलाई जेलनेल हाल्न त मिल्दैन, तर आफ्ना आलोचकलाई अन्य विविध माध्यमबाट दण्डित गर्ने काम निर्बाध रूपमा जारी छ । हरेक दलको हकमा यो सत्य हो । 

सामूहिक छलफल र सामूहिक निर्णय गर्ने ‘कमिटी प्रणाली’ दलहरूमा ध्वस्त भएको छ । सबै दलहरूको विधानमा कमिटी प्रणालीलाई दह्रोसँग पक्रने भनिए पनि ठुल्ठुला निर्णय दलका मुख्य नेताले एक्लै लाद्दै आएका छन् । बैठकहरू दुर्लभ भएका छन् । सबै पार्टीका केन्द्रीय समितिहरू शीर्षस्थ नेताले गरेको निर्णयलाई अनुमोदन गर्ने अस्त्रमा बदलिएका छन् ।  

दलका नेता र कार्यकर्ताबीचको सम्बन्ध राजा र रैती, दास र मालिकको जस्तो छ । पार्टीका बैठकहरूमा नेताका गलत काम–कारबाहीबारे कुनै प्रश्न उठ्दैन । दलहरूभित्र सामन्तवादको नयाँ रूप उदय भएको छ । 

राजाको शासनमा जसरी राजपरिवारका सदस्य शक्तिशाली थिए, उनीहरूलाई सत्ता–भत्ताको व्यवस्था हुने गथ्र्यो, ठिक त्यसै प्रकारले शीर्ष नेताको परिवारका सदस्य, नाता–कुटुम्ब र आसेपासेलाई लाभका पद वितरण गरिन्छ । मुलुकमा गणतन्त्र आएको अनुभूति हुन सकेको छैन । 

नेताहरूको दोहोरो जीवनशैली पनि उदेकलाग्दो छ । भ्रष्टाचारमुक्त समाजको निर्माण गर्ने भाषण गर्ने तर व्यवहारमा राजनीतिक नियुक्ति, ठेक्कापट्टा, सरुवा–बढुवा आदिमा कमिसन असुल्ने र पार्टीको नाममा असुलिएको चन्दालाई व्यक्तिगत बनाउने रोगबाट पनि सबै पार्टी ग्रस्त छन् । मुख्य नेताबाट सुरु भएको यो रोग सरुवा रोगजस्तै पार्टीका मझौला र स्थानीय तहको नेतृत्वमा पनि व्याप्त भएको छ । 

बेरोजगार जनशक्तिलाई राजाको शासन भएका उताका खाडीका मुलुकमा पठाउनु, यता गणतन्त्र ल्याएकामा गर्विला भाषण ठोक्नु र दलभित्र सामन्तवादको अभ्यास गरिनु एउटा दुःखद प्रहसनजस्तै भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप