काठमाडौँ, ललितपुर र भक्तपुरलाई सांस्कृतिक नगर बनाउन समुदायलाई तलब–भत्ता !
पछिल्लो समय भारतमा विकसित दुईवटा घटनाक्रमले नेपाली नागरिकलाई तरंगित बनायो : पहिलो, उसले आफ्नो नयाँ संसद् भवनमा राष्ट्रियता, धार्मिकता, सांस्कृतिक पहिचान र ऐतिहासिकता झल्काउने केही प्रतीक (चिह्न) राख्यो, तीमध्ये एक हो — प्राचीन मगधको मुरल अर्थात् भित्तेचित्र । नक्साभित्र लुम्बिनी र कपिलवस्तु भनी देवनागरी लिपिमा लेखिएको छ । र दोस्रो, दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को ट्रेलर । यी दुवै घटनाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई दुखेको देखियो ।
पहिलो घटनाको विरोधस्वरूप उनले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखे ।
दोस्रो घटनालाई लिएर उनले ३२ जेठमा फेसबुक स्टाटस लेखे: ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिदैन, तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइनेछैन ।’
मेयर साहको यस स्टाटसले ठूलै तरंग ल्यायो, ल्याइरहेछ । यद्यपि ‘आदिपुरुष’ फिल्ममा स्पष्ट रूपमा ‘जानकी भारतीय छोरी हुन्’ भनिएको छैन ।
जेहोस्, मेयर साहको चिन्ता र चासो देशको इतिहास र संस्कृतिप्रति बढ्दो देखिन्छ । उनी अचेल राष्ट्रवादी पनि देखिँदै छन् । सामान्यतः आफ्नो देशमा अन्य देशको कुनै पनि प्रकारको हस्तक्षेप नसहने व्यक्तिलाई राष्ट्रवादी भनेर जानिन्छ । यद्यपि ‘राज्य’ र ‘राष्ट्र’को परिभाषा हाम्रो संविधानले तोकेको छ । राज्य बलियो हुन राष्ट्र बलियो हुनुपर्छ र राष्ट्रले बहुसंस्कृति, बहुसमुदाय आदिको समष्टिलाई जनाउँछ ।
यी सन्दर्भको यहाँ चर्चा किन गरिएको हो भने पछिल्लो समय (खासगरी मोदीको उदयपछि) भारत इतिहास र संस्कृतिप्रति बढी नै सचेत देखिएको छ । उसले नयाँ संसद् भवनमा राखेको नक्सा पनि सांस्कृतिक मात्र हो, राजनीतिक होइन भनेको छ ।
पछिल्लो समय भारतको ध्यान सांस्कृतिक पर्यटनप्रति छ, त्यसैले बुद्ध र जानकी (सीता)को जन्मभूमितिर उसको रुचि बढ्दो छ ।
हामीले पनि धार्मिक र सांस्कृतिक पक्षबाट पूर्ण फाइदा लिन सोच्न र योजना बनाउन ढिला गर्नुहुँदैन । पछिल्लो समय हामीकहाँ पनि सांस्कृतिक नगरको अवधारणा प्रकट हुन थालेको छ, जो सकारात्मक छ । यही चेत र बोधका कारण मेयर साहले काठमाडौं महानगरको २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, जसको नारा थियो — ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ ।
लामो समयसम्म शासकले एकछत्र राज गरेको स्थान हो, काठमाडौं खाल्डो अर्थात् उपत्यका । यस खाल्डोले लामो कालखण्डको सभ्यता, संस्कृति र इतिहासलाई साँचेको छ । यस खाल्डोमा पर्ने तीन नगर (काठमाडौं, ललितपुर र भक्तपुर) जोडिएर अहिले एउटै सहरजस्तो भइसकेको छ । यी तीनै नगरको एउटै पहिचान छ, नेवारी संस्कृति ।
प्रत्येक मानव समुदायको जीवनयापन वा जीवनपद्धतिको आफ्नो विशिष्ट ढंग हुन्छ, नृतत्व अर्थात् मानवविज्ञान भाषामा यसैलाई संस्कृति भनिन्छ । संस्कृतिको जगमा मानव समुदायका कथाहरू रहन्छन्, समुदायका कथाहरू प्रकृति र शासकसँग जोडिएका हुन्छन्, हामीले शासककै पृष्ठभूमिबाट समाजको इतिहास खोतल्छौँ ।
काठमाडौं खाल्डोका दुई आँखा हुन् — इतिहास र संस्कृति । यी दुई आँखाबिनाको काठमाडौँ उपत्यका कल्पनै गर्न सकिँदैन । यी दुई आँखाका निमित्त सिंगो नेवार समुदाय शरीर भएर उभिएको छ र काठमाडौं खाल्डो जीवन्त इतिहास र संस्कृतिको कोख बनेको छ । नेवार समुदायले काँध छाडिदिए भने क्रमशः यी दुई आँखा सुक्दै जानेछन् र काठमाडौं उपत्यका एक दिन एक उदास उपत्यकामा परिणत हुनेछ ।
स्थानीय सरकारको नीति तथा कार्यक्रम
मेयर साहले प्रस्तुत गरेको महानगरको २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख थियो —महानगरको दीर्घकालीन सोच (सांस्कृतिक सहर, समृद्ध महानगर) लाई कार्यान्वयन गर्न देहायका रणनीति अवलम्बन गरिनेछन्:
१) काठमाडौँको संस्कृति र सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने ।
२) आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने ।
३) सांस्कृतिक पर्यटन, नवप्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम सञ्चालन गर्ने ।
४) स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने ।
५) काठमाडौँलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने ।
यस्तै, ललितपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को ‘वार्षिक नगर विकास योजना’मा ‘संस्कृति तथा सम्पदा’ शीर्षक दिएर केही बुँदा उल्लेख छन् । जसको बुँदा ३३ र ३४ भन्छ — मूर्त–अमूर्त सम्पदा संस्कृतिलाई जीवन्त राख्न प्रदान गरी आएको वार्षिक दरबन्दीहरूलाई निरन्तरता दिइनेछ । अमूर्त संस्कृति संरक्षणका लागि अक्षयकोष व्यवस्था गर्दै जाने नीतिलाई निरन्तरता दिइनेछ । महानगरपालिकाको सांस्कृतिक महत्त्वका विभिन्न जात्रा पर्वहरूको संरक्षण प्रवद्र्धन गर्न अक्षय कोषको स्थापना गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको बुँदा ३१ मा उल्लेख छ, ‘भक्तपुरको प्राचीन सम्पदा र संस्कृति लगायत विभिन्न विषयमा नगरपालिकाको स्वीकृति लिई खोज, अध्ययन तथा अनुसन्धान गर्नेहरूका लागि आर्थिक अनुदानको व्यवस्था गरिनेछ ।’
संस्कृतिकर्मीलाई भत्ता तथा पेन्सन
काठमाडौं उपत्यकामा कतिपय यस्ता जात्रा–पर्व तथा सम्पदा छन्, जसलाई जीवन्त राख्न जाति तथा समुदाय विशेषले महिनौँ खर्च गर्नुपर्छ । यसरी उनीहरूले रैथाने ज्ञान र सीपलाई सिक्दै र नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएका छन् ।
काठमाडौं महानगरको कुरा गर्दा यहाँ गुँला पर्व, ञँला पर्व, सेतो मछिन्द्रनाथको जात्रा आदि छन् । संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार, गुँला पर्वमा बुद्धको मूर्तिहरूमा पूजा गर्न जान पूरै महिना लाग्छ । साउन शुक्ल परेवाबाट सुरु भई एक महिनासम्म बौद्धमार्गीहरू गुँला बाजा बजाई नामसंगीति पाठ गर्दै चैत्य दर्शन गर्छन् । यही पूरा एक महिनालाई गुँला भनिन्छ ।
गुँला महिनाभरि गुँला बाजा बजाएर स्वयम्भू भगवानको दर्शन गर्न जाने चलन काठमाडौंवासी नेवारहरूको मात्र होइन, नेवार बस्ती भएका सबैजसो ठाउँमा आफूसँग भएका विभिन्न बाजाहरू बजाई आ–आफ्नो टोल बस्तीमा अवस्थित देवीदेवताहरूको मन्दिरमा दर्शन गर्न जाने चलन पाइन्छ ।
समुदाय नै लामो समय आबद्ध हुने अर्को पर्व हो, ञँला सेवा । यस बेला ज्यापुहरू बिहानै बाँसुरी बजाएर पीठपीठमा पुगी ञँला सेवा भनेर पूजा गर्छन्, यस पूजामा बाँसुरी बजाउने चलन हराउँदै छ ।
यतिबेला सानासाना बालिका एक महिनासम्मै दिउँसो पीठपीठमा पूजा गर्न जान्छन् । आ–आफ्नो टोलको आ–आफ्नो पीठ हुन्छ । यो संस्कृति बिस्तारै मासिँदै गएकामा संस्कृतिविद् वज्राचार्य चिन्ता व्यक्त गर्छिन् । यस्तै, इन्द्रजात्राका बेला लाखे नचाइन्छ । यसका लागि पनि समुदायले नै समय, ज्ञान र सीप खर्चनुपर्छ ।
ललितपुरको कुरा गर्दा रातो मछिन्द्रनाथको जात्रा, कार्तिक नाच, हरिसिद्धि नाच, मतयाः पर्व, सिकाली जात्रा आदि छन् । जसमा जाति विशेष लामो समय आबद्ध हुन्छन् ।
भक्तपुरमा बिस्केट जात्रा, नवदुर्गा नाच आदि छन् । संस्कृतिविद् ओम धौभडेलका अनुसार, भक्तपुरमा नवदुर्गा नाच नौ महिनासम्म चल्छ । यहाँ केही प्रमुख जात्रा पर्वको नाम लिइएको छ । नेवार समुदायले काठमाडौँ उपत्यकामा संस्कृतिको जर्गेनाका लागि जति योगदान गर्दै आएको छ, वास्तवमा खासखास जातिलाई स्थानीय सरकारले भत्ता र पेन्सन दिन आवश्यक छ । यो खालको सोच अहिलेसम्म स्थानीय सरकारको देखिएको छैन ।
संस्कृतिविद् धौभडेलका अनुसार, पहिले जात्रा–पर्व मनाउन वा संस्कृतिको जर्गेना गर्न गुठीहरू सक्रिय हुन्थे, तर गुठीहरू मासिँदै गए । गुठीहरू ब्युँताएर, त्यसलाई सक्रिय बनाउनुपर्ने उनी बताउँछन् ।
परिकारको प्रवर्द्धन
यहाँका सहरमा बढी मात्रामा लत्ता–कपडाका पसलहरू देखिन्छन् । चीनबाट ल्याएका लत्ता–कपडा कुरेर पसलमा बस्ने र आधा बढी नाफा कमाउन बार्गेनिङ गर्नेहरूको कमी छैन । अर्कोतिर यहाँका होटल–रेस्टुरेन्टमा मैदाजन्य पदार्थकै बिगबिगी छ । यस्ता पसलले जति ठाउँ ओगटेका छन्, त्यहाँ स्थानीय उत्पादन हुन्थ्यो भने ?
यहाँका नेवार समुदायका अधिकांश चाड–पर्व खाना वा परिकारसँग जोडिएका छन् । स्थानीय सरकारले बारा, चटामरी (चतांमरि), यमरी, ल्वहँचामरी लगायत नेवारी परिकारलाई प्रवद्र्धन गर्न सक्छ । यस्तै नेवार महिलाले बनाएका अयलाको बजार व्यवस्थापन गर्न सक्छ । स्थानीय उत्पादनको बिक्री गर्नेलाई स्थानीय सरकारले सहुलियत ऋण र संरक्षणको नीति लिन सक्छ ।
विद्यालयको दिवा खाजामा पनि नेवार परिकार प्रयोग गर्न सकिने संस्कृतिविद् डा. चुन्दा बज्राचार्य बताउँछिन् । ‘विशेष गरी नेवार समुदायका महिलाले अयला बनाएर बेच्न पाउने हो भने आर्थिक रूपमा सशक्त वा आत्मनिर्भर हुन सक्छन् । राजमती फिल्ममा एउटी महिलाले सरकारलाई चुनौती दिएरै रक्सी पारेर जीवन निर्वाह गर्छिन्,’ बज्राचार्य भन्छिन्, ‘गुणस्तरीय रक्सी पार्ने स्थानीय महिलालाई स्थानीय सरकारले संरक्षण गर्नुपर्छ । जाँड–रक्सी नेवारी संस्कृतिमा नभई नहुने चिज हो, अक्षताजस्तै । मासु चल्ने देवता सबैको पूजामा रक्सी राखिन्छ ।’
अयला उत्पादनका लागि रैथाने ज्ञान–सीप पनि जोडिएको छ । कि देशी–विदेशी सबै मदिरा पूर्णरूपमा प्रतिबन्ध गर्नुपर्यो, होइन भने स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न राज्य लाग्नुपर्छ ।
०००
सांस्कृतिक नगरको सिधा अर्थ हो, सभ्यता र संस्कृति झल्काउनु, तिनको प्रवर्धन गर्नु । यतिबेला महानगरपालिकाहरू नीति तथा कार्यक्रम ल्याउने तर्खरमा छन् । खासगरी काठमाडौं उपत्यकाका पालिकाहरूले संस्कृतिमा आबद्ध जाति तथा समुदायलाई भत्ता तथा पेन्सनको व्यवस्था गर्ने हो भने सांस्कृतिक नगर बनाउने अठोटमा टेवा पुग्नेछ ।
पछिल्लो समय कति नाच तथा जात्राहरूको अवधि छोट्ट्याइएको छ, अन्य काम–पेसाका कारण । भत्ता र पेन्सनको व्यवस्था गरियो भने समुदाय प्रेरित हुन्छन् र हराएका संस्कृतिको जगेर्ना गर्न सकिन्छ । सांस्कृतिक नगरमा संस्कृति र सम्पदा हेर्नकै लागि पर्यटकलाई आकर्षित गर्ने हो । यो आजको भोलि हुने कुरा होइन, दीर्घकालीन योजनाले बन्दै जाने हो ।
संस्कृतिकर्मीलाई सेवा–सुविधा नदिई संस्कृतिको जर्गेना वा प्रवर्द्धन सम्भव हुँदैन । कतिपय संस्कृति र सम्पदामा शासकका नाम जोडिएका छन्, तर त्यसको निर्माणमा नागरिकको प्रधान भूमिका रहँदै आएको छ ।
नेवारहरूको सभ्यता, इतिहास र संस्कृतिको अनुसन्धान गर्न एउटा अनुसन्धान समिति, प्रतिष्ठान वा यस्तै निकायको माग पनि भएको छ । छैटौँ विश्व नेवा दिवसका अवसर (२०७९ चैत ११) मा प्रधानमन्त्री प्रचण्डले यसप्रति आफ्नो गम्भीर रूपले ध्यान आकर्षित भएको बताएका थिए । यसतर्फ पनि स्थानीय सरकारहरूले पहल कदमी गर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत
-
मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)