मनसुन सुरु हुने बित्तिकै पूर्वी नेपालमा किन भयो भारी वर्षा ?
विराटनगर । यो वर्षको मनसुन सुरु भएसँगै पूर्वी पहाडमा ठुलो जनधनको क्षति भयो । जसबाट १० जना मानिसको ज्यान गएको छ भने करोडौँको भौतिक सम्पत्ति नष्ट भएको छ । मनसुन सुरु हुने बित्तिकै यति धेरै वर्षा किन भयो, मौसमविद्हरूले यसको खोजी गरिरहेका छन् ।
स्वाभाविक हिसाबले मनसुन सुरु भएपछि हाइअल्टिटच्युटमा वर्षा हुने गर्दछ । त्यसबेला विशेष सतर्कता अपनाउन आवश्यक छ । २०७८ सालमा पनि मनसुन सुरु भए लगत्तै ठुलो क्षति हुने गरी सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आएको थियो । त्यसबेला पनि धेरै जनधनको क्षति भएको थियो ।
यस पटकको मनसुनको केन्द्र बनेको छ सङ्खुवासभाको नुम । नुममा मापन गरिए अनुसार गएको मंगलबार २४ घण्टामा ३८७ दशमलव ४ मिलिलिटर पानी पर्यो । नुममा सबैभन्दा धेरै पानी परेको तेस्रो घटना हो ।
यसअघि नुममा सबैभन्दा बढी सन् २००१ अप्रिल २२ मा ३९४.५ मिलिलिटर पानी परेको थियो । यस्तै सन् १९९७ जुन ११ मा ३८८.३ मिलिलिटर पानी परेको थियो ।
मनसुन प्रवेश गर्ने नेपालको पूर्वी भागबाटै हो । प्रायः मनसुन प्रवेश गर्दा सुरुमा हाइ अल्टिच्युटमा ठुलो पानी पर्ने सम्भावना हुन्छ । त्यसमा पनि कोशी प्रदेशको नुम केन्द्र जस्तै बनेको छ । ‘यसबाट के शिक्षा लिनुपर्यो भने जब मनसुन सक्रिय हुन्छ त्यो बेला सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ जिल्लामा चनाखो हुनुपर्ने आवश्यकता देखियो,’ मौसमविद् रामबाबु मिश्र बताउँछन्, ‘यसपटकको मनसुनमा पनि सबैभन्दा बढी पानी परेको क्षेत्र नुम नै हो ।’
यस पटकको मनसुनमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सबैभन्दा बढी ७१.६ मिलिलिटर पानी परेको छ । पाँचथरको फिदिममा १ सय मिलिलिटर हाराहारी मात्रै पानी परेको छ । तीन जिल्लाको तुलनामा अन्य जिल्लामा कमै पानी परेको मिश्रको भनाइ छ । ‘पानी त कोशी प्रदेशका सबै जिल्लामा परेको छ । झापामा पनि परेको छ । तर, मोरङ, सुनसरीको तराई क्षेत्र र उदयपुरमा खासै पानी परेको छैन । विगत १० दिनदेखि अन्य सबै क्षेत्रमा अलिअलि पानी परिरहेको छ ।’
सङ्खुवासभाको नुममा मापन भएको रेकर्ड अनुसार जुन १३ (जेठ ३० गते) १४१.६ मिलिलिटर पानी परेको थियो । यस्तै जुन १६ (असार १ गते ) १२३, जुन १८ (असार ३ गते) १११.४, जुन १९ (असार ४ गते) १३५.२ र जुन २० (असार ५ गते) सर्वाधिक ३८७.४ मिलिलिटर पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभाग धरानका प्राविधिक अधिकृत समेत रहेका मिश्रका अनुसार ५० मिलिमिटरभन्दा धेरै र एक सय मिलिमिटरभन्दा थोरै पानी परेमा ‘भारी वर्षा’ भएको मानिन्छ । एक सय मिलिमिटरभन्दा बढी पानी परेमा ‘अति भारी वर्षा’ भनिन्छ ।
मनसुन असन्तुलित
प्राविधिक अधिकृत मिश्रले यो पटकको मनसुन अरू मनसुनभन्दा आइसोलेटेड खालको रहेको बताए । ‘यस भन्दा अगाडिको मनसुनमा महिना दिनसम्म पानी परिराख्ने, छिनछिनमै पानी परिराख्ने खालको हुन्थ्यो । यो वर्षको मनसुन आइसोलेटेड खालको छ,’ उनले भने, ‘एकै ठाउँमा धेरै पानी पर्ने, १ घण्टामै धेरै पर्ने र अरू ठाउँमा सुख्खा हुने खालको वर्षा आयो ।’
उनले नेपालतिर आउने मनसुनको बाटोमा डिस्टर्ब भएपछि असन्तुलित जस्तो देखिएको उनले बताए । ‘अहिले प्राकृतिक लाइफ साइकल पनि असन्तुलित बनिरहेको छ । त्यसकारण अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि हुने हो । यो अहिले पनि भयो र पछि पनि हुनेछन् । अब हामीले यस्ता घटना हुँदा पनि कसरी एड्जस्ट हुने भन्ने विषयमा काम गर्नुपर्ने देखिन्छ ।’
क्षति कम गर्न सचेतना र पूर्वसूचना आवश्यक
सङ्खुवासभाको ठुलो बाढी आयो । त्यसमा एक दिन अगाडि बाढी शाखाले विज्ञप्ति निकालेको थियो । यी नदीहरूमा जलस्तर वृद्धि हुने भनेर । त्यसपछि तत्काल सतर्कता अपनाउनु पर्थ्यो ।
दोस्रो कुरा हाइड्रोहरूमा पनि क्षति पुगेको छ । खोलाको किनारमा हाइड्रो पावर हुन्छ । त्यस विषयमा पनि हाइड्रो पावर बनाउनेहरूले जुन नदीको किनारमा पानी बढ्छ भने त्यसलाई अध्ययन गरेर मात्रै निर्माण गर्नुपर्छ । ‘प्राकृतिक दुर्घटनाको जोखिमलाई रोक्न सक्दैनौँ यो दुर्घटना हो तर, मानवीय क्षति भने कम गर्न सक्छौँ,’ मिश्र भन्छन्, ‘कतिपय सार्न सक्ने भौतिक संरचनाको पनि सुरक्षा गर्न सक्छौँ । यसका लागि पनि पूर्व सूचना नै व्यवस्थित गर्नुपर्छ । चार पाँच दिन अगाडि भारतमा ठुलो आँधी आयो । त्यहाँ पनि धेरै धनसम्पत्ती नष्ट भयो । तर, मानिसको मृत्यु भएन । किन भन्दा त्यो पूर्वानुमान र सचेतना नै हो ।’
मिश्रको अनुभवमा पूर्वी नेपालमा भन्दा सूचना प्रणाली व्यवस्थित गर्ने कुरामा पश्चिमतिर अलिक व्यवस्थित देखिएको छ । ‘पूर्वमा पनि स्थानीयस्तरसम्म मौसम पूर्वानुमान तथा सम्भावित विपद्को व्यवस्थापनको लागि टिम निर्माण गर्नुपर्छ । सूचना प्रणालीको विकास पनि गर्नुपर्छ,’ मिश्र भन्छन् ।
धरानस्थित मौसम पूर्वानुमान कार्यालयबाट हुने काम
धरानमा रहेको कार्यालयले मौसम विज्ञानको क्षेत्रमा कोशी र मधेस प्रदेश हेर्ने गरेको छ । जल विज्ञानको हिसाबले कोशी, कमला, कन्काइ बेसिन हेर्दछ । यसमा मधेस प्रदेशको केही भाग पर्छ भने कोशीको सबै भाग पर्छ ।
यो कार्यालयले कार्यक्षेत्रभित्र रहेका मौसम र जल मापन केन्द्रहरूको सञ्चालन गर्ने, प्राविधिक कुराहरू सञ्चालनमा ल्याउने काम गर्छ । ती केन्द्रहरूको स्तरोन्नति गर्ने लगायतका काम पनि गर्ने मिश्र बताउँछन् । ती केन्द्रबाट तथ्याङ्क सङ्कलन गर्ने, सङ्कलन गरेका डाटाहरू जल तथा मौसम विज्ञान विभागलाई पठाउने काम यही कार्यालयको हो ।
यस कार्यालय अन्तर्गत जल मापन केन्द्र ४० वटा र मौसम मापन केन्द्र ८८ वटा पर्दछन् । त्यस्ता केन्द्रहरूमा मेनुयल र स्वचालित खालका मेसिनहरू पनि राखिएको छ । हाल ८० प्रतिशत स्वचालित मेसिनहरू रहेको मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
-
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
-
कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल
-
समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?
-
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, ५८ हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने
-
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन (तस्बिरहरु)