शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय

बालनिबन्ध : साधन र स्रोत

बिहीबार, ०७ असार २०८०, ०९ : ४१
बिहीबार, ०७ असार २०८०

हामीलाई कुनै पनि काम सम्पन्न गर्न साधनको आवश्यकता पर्छ । साधन भएपछि स्रोत पनि हुने नै भए । विना स्रोत कुनै पनि चीज उत्पन्न हुनै सक्दैन । यस्तो अवस्थामा कतिपयलाई लाग्न सक्छ साधन छुट्टै हो, स्रोत छुट्टै हो । हो, सरसरती हेर्दा देखिने त्यही हो तर त्यो रूपमा मात्र हो सारमा होइन । सारमा त यही हो कि हरेक साधनको स्रोत ऊभित्रै रहेको हुन्छ । यसको अर्थ यही हो कि साधनको स्रोत पनि साधन नै हो । अर्थात् साधनको स्रोत साधनमै हुन्छ, साधनभित्रै हुन्छ । साधनले नै स्रोत बोकेर हिँडेको हुन्छ । समस्याभित्र साधन र साधनभित्र समाधान भएजस्तै साधनभित्रै स्रोत हुन्छ । यसलाई तपाईँ तलको उदाहरणबाट प्रस्ट हुन सक्नुहुन्छ ।  

मानिलिनुस् तपाईँ खाना पकाउँदै हुनुहुन्छ । यहाँ खाना पकाउने साधन आगो हो । यद्यपि खाना पकाउन, खाना पाक्न भाँडो, चुलो, इन्धन सबै चाहिन्छ तर आगो बिना खाना पाक्दैन । ती सबै भएर पनि आगो भएन भने खाना काँच्चै हुन्छ, खान सकिन्न । त्यसैले खाना पकाउने मामिलामा आगो नै मूल साधन हो । अब भन्नुस् आगोको स्रोत चाहिँ के होला त ? उत्तर सहज छ आगोको स्रोत आगो नै हो । आगोबाट उसको उत्पत्ति हुन्छ र काम सकिएपछि आगोमै पुगेर समाधिस्थ हुन्छ । त्यसैले जहाँ चाहिन्छ त्यहीँ र जति बेला चाहिन्छ त्यति नै बेला उसलाई प्रकट गर्न सक्नुहुन्छ । 

आगो भन्ने चीज हावा, पानी, माटो, पहाड, पत्थर, बोट, बिरुवा, वनस्पति जताततै हुन्छ । यस अर्थमा तिनीहरू नै स्रोत हुन् कि जस्तो लाग्न पनि सक्छ तर यो पनि रूपमा मात्र हो, सारमा होइन । हो, स्थूल आँखाले हेर्दा देखिने त्यही हो तर सूक्ष्म रूपमा केलाउनुभयो भने जहाँ रहेका भए पनि आगोको स्रोत आगो नै पाउनुहुनेछ । यसैबाट प्रस्ट हुन्छ कि तपाईँको खाना बनाउने वा खाना पकाउने आगोको स्रोत आगो नै हो । 

यसलाई अर्को उदाहरणबाट अझ थप प्रस्ट हुन सक्नुहुन्छ । मानिलिनुस् तपाईँ कृषक हुनुहुन्छ, अथवा माली पनि हुन सक्नुहुन्छ । तपाईँलाई पानीको आवश्यकता प¥यो । वर्षातको मौसम भए त आकाशबाट पनि बर्सेला तर जहिले पायो तहिले पानी बर्सँदैन, बर्सने कुरै हुँदैन । तथापि तपाईँलाई पानी त जुनसुकै मौसममा पनि चाहिन्छ नि होइन र ? त्यतिबेला के गर्नु हुन्छ ? सकिन्छ, सम्भव हुन्छ भने नजिकैको खोलाबाट कुलो काटेर ल्याउनुहोला । त्यो सम्भव छैन भने बोकेर ल्याएर भए पनि अन्नपात, बोटबिरुवामा हाल्नुहुन्छ होला, यही होइन ? होऽ यतिबेला अन्नपात, फलफूल, बोट बिरुवा उमार्न पानी साधन भयो । 

अब भन्नुस् उसको स्रोत चाहिँ के होला त ? प्रस्टै छ पानीको स्रोत पानी नै हो । ऊ पानीबाटै उत्पन्न हुन्छ, काम सकिएपछि पानीमै पुगेर हराउँछ, बिलाउँछ, समाधिस्थ हुन्छ । तपाईँले जसरी ल्याउनुभएको भए पनि, कुलो काटेर ल्याउनुभएको भए पनि र बोकेर ल्याउनुभएको भए पनि ऊ पानीबाट आउँछ र काम सकिएपछि पानीमै जान्छ । किनकि उसको गन्तव्य पानी नै हो, पानी नै हुन्छ । 

मानिलिनुस् तपाईँले पानी ल्याउनुभयो । अन्न उमार्नुभयो, बगैँचा सजाउनुभयो । पानी अन्नको दानामा घुस्यो, बोट, बिरुवामा घुस्यो, फलफूलको दानमा घुस्यो । तपाईँले खानुभयो, अन्न पचाउनुभयो, फलफूल पचाउनुभयो तर त्यसभित्र रहेको पानी पचाउनुभएन, पचाउन सक्नुभएन । यस्तो अवस्थामा ऊ काम छउन्जेल तपाईँको शरीरभित्रै रहन्छ । अनि काम तमाम भएपछि कुनै पनि तरिकाले तपाईँको शरीरबाट निस्केर बाहिर आउँछ र आफ्नै मूलरूपमा पुगेर समाधिस्थ हुन्छ । अनि जतिबेला चाहिन्छ त्यति नै बेला पुनः अवस्था अनुसार प्रकट भएर अर्को काम गर्नतिर लाग्छ । यसबाट पनि यही प्रस्ट हुन्छ कि पानीको स्रोत पानी नै हो । 

हामीलाई थाहा छ हावा सबैलाई चाहिने कुरा हो । हावा बिना कसैको पनि जीवन चल्दैन, बन्दैन, बन्न सक्दैन । हावामा स्पन्दन हुन्छ, सोही स्पन्दनले जीवन सम्भव गराउँछ । जे होस् तपाईँलाई आफू हुन, आफूलाई बचाउन यहाँ हावा साधन भयो । अब भन्नुस् त्यही हावाको स्रोत चाहिँ के होला त ? ढुङ्गा, माटो, रुख, बिरुवा, वनस्पति आदिमा पनि हावा घुसेको हुन्छ । यस अर्थमा तिनीहरू नै स्रोत हुन् कि जस्तो लाग्न पनि सक्छ तर यो पनि रूपमा मात्र हो, सारमा होइन सारको कुरा गर्नुहुन्छ भने हावाको स्रोत हावा नै हो । हावाबाटै उत्पन्न हुन्छ, काम फत्ते भएपछि हावामै पुगेर बिलाउँछ । 

तपाईँलाई हावा चाहियो । खान, बस्न, उठ्न, सुत्न, निदाउन, खाएको पचाउन, हिँड्न, हाई गर्न, आँखा झिम्क्याउन, हरेक काममा हावा नभई भएन । यतिबेला उसलाई हावाबाटै प्रकट गर्नुभयो अथवा भनौँ हावाबाटै आयो तर उसलाई सधैँ रोकेर राख्न भने सक्नुहुन्न । मरिकाटे सकिन्न, जसको रूपै देखिएको छैन कसरी राख्ने । 

यसको अर्थ हो तपाईँलाई चाहिएको बेला ऊ आउँछ, काम सकिएपछि पुनः हावामै पुगेर हराउँछ । अब यहाँ पनि तपाईँ नै भन्नुस् हावाको स्रोत के होला त ? यही नै कि हावाको स्रोत पनि हावा नै त होला । हावाबाटै आयो हावामै पुगेर समाधिस्थ भयो । 

यी केही उदाहरण हुन् । हरेक क्षेत्रमा यही नियमले काम गरेको हुन्छ । यसरी एकएक गरी केलाउँदै जानुभयो भने समस्या पनि आफैँभित्र पाउनुहुनेछ । अनि साधन र स्रोत पनि आफैँभित्र पाउनुहुनेछ । मात्र मनमा अठोट हुनुपर्छ साधन र स्रोतको कमी हुने छैन, हुनै सक्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप