रातोपाटी ब्रिफिङ : बेटिङ गर्ने पनि प्रहरीको निशानामा, विदेश गएर नफर्किने कर्मचारी बर्खास्त
आज २०८० असार ६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
‘वान एक्स बेट’को प्रचारमा कलाकार
सट्टेबाजीको प्रचार गरेर गैरकानुनी काम गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जना कलाकार, ३ जना युट्युबरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कलाकारहरु पक्राउ पर्नुअघि जेठ ३० मा कैलाली घर भएका २९ वर्षीय दिनेश खड्कासहित ५ जना पक्राउ परेका थिए । उनीहरु ‘वान एक्स बेट’का नेपाली एजेन्ट हुन् ।
सरकारी कोटामा विदेशिएका कर्मचारी
सरकारी कोटामा अध्ययन बिदामा पढ्न विदेशिएका झन्डै तीन दर्जन कर्मचारीलाई बर्खास्त गर्न थालिएको छ । अध्ययन सकेर स्वदेश फर्किए पनि काममा नफर्किएपछि केहीलाई बर्खास्त गरिएको छ भने केहीमाथि बर्खास्त गर्ने प्रक्रिया चलिरहेको छ ।
‘अनडकुमेन्टेड’ श्रमिकलाई वैधानिक बनाइने
वैदेशिक रोजगारीमा रहेका ‘अनडकुमेन्टेड’ (वैधानिक कागजात नभएका) नेपाली श्रमिकहरूलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा अवैध रूपमा बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालेको हो ।
बैंकहरू तनावमा
लगानी गरेको पैसा नउठ्दा बैंक तथा वित्तीय संस्था तनावमा छन् । केन्द्रीय बैंकको पछिल्लो तथ्याङक अनुसार बैंकहरूले गरेको कुल कर्जा लगानीको ३.३४ प्रतिशत खराब कर्जा अर्थात् नन्पर्फमिङ लोन (एनपिएल) मा परिणत भएका छन् ।
पेसा नै फेसबुक ह्याकिङ र ठगी
करिब डेढ महिनाअघि खगेन्द्र खड्कालाई उनको चिनजानमा रहेका एक साथीको नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । साथीको नाम र फोटोसहितको रिक्वेस्ट आएपछि खगेन्द्रले तत्कालै त्यसलाई एसेप्ट पनि गरे । रिक्वेस्ट एसेप्ट गरेपछि दुई जनाबीच कुराकानी पनि हुन थाल्यो । खगेन्द्रले ती व्यक्ति आफ्नै साथी ठानेर कुराहरु पनि सेयर गरे ।
महानगरको नीति तथा कार्यक्रम
काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर बालेन शाहले नयाँ रोजगारीको सिर्जना, स्थानीय उत्पादन, पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्नेसहित योजना अघि सारेको बताए । यस्तै नीति तथा कार्यक्रममा १० वटा गौरवका योजना समेटिएका छन् ।
समाजवादतिर जान कि सत्ता टिकाउन ?
सत्तारुढ तीन र संसदीय अभ्यास बाहिर रहेको एक गरी चार दल सम्मिलित समाजवादी मोर्चा घोषणापछि राजनीतिक वृत्तमा अनेक प्रकारका टीकाटिप्पणी हुन थालेको छ । मोर्चा घोषणा कार्यक्रममा सहभागी नेताहरूले समाजवादी मोर्चा कसैविरुद्ध नरहेको दाबी गरेका थिए । तर दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू मोर्चा घोषणाप्रति केही सशङ्कित देखिएका छन् ।
उपेन्द्रलाई कस्तो असर पार्ला ?
हालै घोषणा भएको समाजवादी मोर्चामा सहभागी भएको जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि चर्चामा आएको छ । मधेस केन्द्रित राजनीति गर्दै आएको जसपाका अध्यक्ष उपेन्द्र यादवले वामपन्थी दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग मोर्चा बनाएपछि मधेसमा चर्चाको विषय बनेको छ ।
कानुन बनाउने कामले लिएन गति
गत मंसिरमा भएको निर्वाचनपछि प्रतिनिधिसभाको बैठक बस्न थालेको नै ७ महिना भइसक्यो । तर, कानुन निर्माण गर्नुपर्ने मुख्यदायित्व भएको संसद्ले कानुन निर्माणको कामलाई गति दिन सकेको छैन ।
साफ च्याम्पियनसिप फुटबल
साफ च्याम्पियनसिप फुटबलको बुधवार भएको उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३-१ गोलले पराजित भएको छ । कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । नेपालले भने एक मात्र गोल दोस्रो हाफमा गरेको थियो । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औँ मिनेटमा कप्तान खालिद हाजिहले गरेका थिए ।