मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
अनलाइन ठगी प्रकरण

२१ वर्षीय युवकको पेसा नै फेसबुक ह्याकिङ र ठगी

तेस्रोपटक पक्राउ परेपछि अदालतले मानेन धरौटीमा रिहा गर्न
बुधबार, ०६ असार २०८०, १४ : ३४
बुधबार, ०६ असार २०८०

काठमाडौँ । करिब डेढ महिनाअघि खगेन्द्र खड्कालाई उनको चिनजानमा रहेका एक साथीको नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । साथीको नाम र फोटोसहितको रिक्वेस्ट आएपछि खगेन्द्रले तत्कालै त्यसलाई एसेप्ट पनि गरे । रिक्वेस्ट एसेप्ट गरेपछि दुई जनाबीच कुराकानी पनि हुन थाल्यो । खगेन्द्रले ती व्यक्ति आफ्नै साथी ठानेर कुराहरु पनि सेयर गरे । 

एक दिन ती साथीले आफ्नो मोबाइल नै फम्र्याट भएको भन्दै खगेन्द्रको मोबाइल नम्बर माग गरे । ‘इमेल रिकभरका लागि तिम्रो नम्बर राखिदिन्छु, त्यहाँ कोड आउँछ देऊ है’ भनेर आग्रह गरे । खगेन्द्रले पनि ‘हुन्छ’ भन्दै आफ्नो मोबाइल नम्बर दिए । लगत्तै खगेन्द्रको मोबाइलमा ओटीपी (वान टाइम पासवर्ड) पनि आइपुग्यो । खगेन्द्रले उक्त ओटीपी के थियो हेर्दै नहेरी ती साथीलाई पठाइदिए । 

उक्त ओटीपी नम्बर पाउने व्यक्ति वास्तवमा खगेन्द्रको साथी नभएर ह्याकर थिए । ओटीपी पठाउने बित्तिकै खगेन्द्रको फेसबुकमा ह्याकरले ‘एक्सेस’ पाइसकेको थियो । केही दिनसम्म ह्याकरले खगेन्द्रको म्यासेञ्जरको विश्लेषण गर्‍यो । खगेन्द्रले कोसँग, के–कस्ता कस्ता कुरा गर्छन् भनेर अध्ययन गर्न थाल्यो ।

केही दिनको अध्ययनपछि खगेन्द्रको फेसबुक म्यासेञ्जरबाट ह्याकरले महेन्द्र जोशीलाई म्यासेज पठायो । खग्रेन्द्र बनेर महेन्द्रसँग ‘एउटा कोड आउँछ, मलाई देऊ है’ भनेपछि तत्काल आएको कोड महेन्द्रले खगेन्द्र भनिएका ह्याकरलाई दिए । त्यसलगत्तै महेन्द्रको फेसबुक पनि ‘ह्याक’ भयो । 

फेसबुकमा प्रवेश पाएपछि ह्याकरले महेन्द्र बनेर खेमराज लामिछानेलाई म्यासेज पठाएर ‘मलाई समस्या पर्‍यो, पैसा हालिदेऊ न !’ भन्छन् । खेमराजले पनि महेन्द्रले नै भनेको भन्ने ठानेर ती व्यक्तिले पठाएको ई–सेवा आइडी ९८१७९७२४४० र खल्ती आइडी ९८१२४१२३८० मा १०–१० हजार गरी २० हजार रुपैयाँ पठाइदिए । 

पछि खेमराजले आफ्नो फेसबुक स्क्रोल गर्दै गए, महेन्द्रले आफ्नो फेसबुक कसैले ह्याक गरेर रकम माग गरिरहेको भन्ने स्टाटस लेखेको देख्छन् । महेन्द्रलाई फोन नै गरेर बुझ्दा कसैले आफ्नो फेसबुक ह्याक गरेर धेरै जना साथीहरूसँग रकम माग गरेको बताउँछन् । त्यतिबेलासम्म ती ह्याकरले यस्तै गरी खेमराजबाहेक मधुसुदन खत्री, भिमसेन केसी, सन्देश पोखरेल, निर्मल दाहाल लगायतका व्यक्तिहरूसँग कुराकानी गरी एक लाख ५० हजारभन्दा बढी रकम उठाइसकेका थिए । 

पैसा माग्ने व्यक्ति वास्तविक साथी नभएर ह्याकर भएको पत्ता लागेपछि पीडितहरूले प्रहरीको साइबर ब्युरोमा उजुरी गरे । पीडितहरूको उजुरी प्राप्त भएलगत्तै प्रहरीले ह्याक भएका फेसबुक आइडीहरूको ‘लग आईपी’ खोजी गर्दै जाँदा ‘ह्याकर’ किरण पाठक भन्ने व्यक्ति भएको पत्ता लाग्यो । पाठकले प्रयोग गर्ने ओप्पो कम्पनीको मोबाइल र वल्डलिंकको राउटरको आईपीबाट साइबर ब्यूरोको प्रहरीले किरणलाई भक्तपुरको चाँगु नारायाण– १ बेशीटोलमा उनको डेराबाट पक्राउ गर्‍यो । 

पक्राउलगत्तै प्रहरीले निजको मोबाइलको विश्लेषण गर्दा घटनामा पाठककै संलग्नता रहेको पुष्टी भयो । पाठकले पनि घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरे । आफ्नो पेसा नै फेसबुक ह्याक गरेर रकम माग्ने भएको बताए । 

तेस्रोपटक पक्राउ

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० घर भई हाल भक्तपुरमा डेरा गरी बस्ने २१ वर्षीय किरण पाठक फेसबुक ह्याक र ठगी प्रकरणमा पक्राउ परेको यो तेस्रो पटक थियो । यसअघि साइबर ब्यूरोले पाठकविरुद्ध मुद्दा चलाइसकेको थियो भने उपत्यका अपराध अनुसन्धान कार्यालयले पाठकविरुद्ध ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाएको थियो । तर अघिल्ला दुवै पटक पाठक धरौटीमा छुटेका थिए ।

साइबर ब्युरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार पाठक डेढ वर्ष अगाडि गौशाला क्षेत्रबाट पक्राउ परेका थिए । ब्युरोमा साइबर अपराध र ठगीको उजुरी आएपछि पक्राउ गरिएका पाठकलाई ठगी मुद्दामा अपराध महाशाखाले पनि खोजिरहेको जानकारी आएपछि पाठकलाई महाशाखाको जिम्मा लगाइएको थियो । तर त्यतिबेला पाठकलाई काठमाडौँ जिल्ला अदालतले १६ लाख धरौटी माग गरेकामा पाठकका आमाबुवाले ५ लाख नगद र बाँकी जग्गा धितो राखेर धरौटीमा निकालेका थिए । 

त्यसैगरी २०७९ भदौ ७ गते पनि पाठकलाई साइबर ब्यूरोको प्रहरीले दोस्रोपटक पक्राउ गरेको थियो । त्यतिबेला पनि पाठकविरुद्ध विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी रकम माग गरी ठगी गरेको उजुरी परेको थियो । त्यतिबेला पाठकले १८ जना व्यक्तिहरूको फेसबुक ह्याक गरी रकम माग गरेका थिए । 

पक्राउपछि साइबर ब्यूरोले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनमै सजायको मागदाबी गर्दै मुद्दा चलाएको थियो । यसपटक पनि काठमाडौँ जिल्ला अदालतबाट पाठकसँग ३ लाख रुपैयाँ धरौटी माग भएको थियो । पाठकले आफूसँग भएको एक लाख रुपैयाँ धरौटीमा राखेपनि पाठकका बुवा र आमाले बाँकी धरौटी रकम तिर्न अस्वीकार गरेपछि पाठक पुर्पक्षका लागि थुनामा गएका थिए । 

... अनि भेट भयो अर्को ठग

पुर्पक्षका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएका पाठकको कारागारभित्र अर्जुन सुवेदीसँग भेट भयो । अर्जुन सुवेदी चेक अनादरको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका व्यक्ति थिए । सुवेदीसँग कुराकानी हुँदा पाठकले आफू फेसबुक ह्याक गरेको कारण जेल परेको बताउँछन् । उनको कथा सुनेपछि सुवेदी नयाँ योजना बनाउन थाल्छन् र पाठकलाई आफ्नो लागि पनि फेसबुक ह्याक गरिदिन आग्रह गर्छन् । पाठकले सुवेदीको अफर स्वीकार गरे पनि त्यसका लागि आफूलाई जेलबाट निकाल्नुपर्ने शर्त राख्छन् । सुवेदी पाठकको शर्तलाई स्वीकार गर्छन् । अनि धरौटी बुझाएर आफू जेलबाट छुटेपछि पाठकका लागि आवश्यक बाँकी २ लाख धरौटी बुझाइदिन्छन् । त्यसपछि पाठक पनि जेलमुक्त हुन्छन् । 

पक्राउ परेका पाठकका अनुसार जेलबाट छुटेपछि उनले सुवेदीले भनेका केही व्यक्तिहरूको फेसबुक ह्याक गरिदिन्छन् भने आफूले पनि पहिलेको जस्तै विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी रकम माग्न थाल्छन् । त्यही रकमबाट उनले सुवेदीले दिएको २ लाख रकम पनि तिरिदिन्छन् । त्यसपछि पनि कैयौँ व्यक्तिहरूको फेसबुक ह्याक गरेर रकम माग गरी दुवैजना भएर मिलेर बाँडेको पाठकको बयानमा उल्लेख छ । 

३ सयभन्दा बढीको फेसबुक ह्याक

साइबर ब्युरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार पाठकले हालसम्म ३ सय जनाभन्दा बढी व्यक्तिको फेसबुक ह्याक गरिसकेका छन् । फेसबुक ह्याक गरेर पहिले म्यासेजको अध्ययन गर्ने, कुराकानीको ‘प्याटर्न’ पत्ता लगाउने अनि त्यसै गरी कुराकानी गरेर रकम माग गर्थे । 

ब्यूरोसँगको कुराकानीका क्रममा पाठकले आफ्नो पेसा नै फेसबुक ह्याक गरी रकम उठाउने भएको बताएका छन् । ‘किन यस्तो काम गरेको ?’ भन्ने ब्यूरोको प्रश्नमा पाठकले आफ्नो अरू काम नभएको र यही काम सजिलो भएकाले यसैगरी ठगी गर्ने गरेको बताए ।

फेसबुक ह्याक गरी ठगेको रकम बेटिङमा खर्च

विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी ठगी गरिएको रकम अनलाइन जुवामासमेत खर्च गर्ने गरेको पाइएको साइबर ब्यूरोले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी पशुपति रायका अनुसार पाठकले सुरुसुरुमा लहैलहैमा लागेर फेसबुक ह्याक गरी रकम माग्ने गरेका थिए । रायले भने, ‘केही व्यक्तिहरुले रकम दिएपछि त्यतिबेला केही रकम बेटिङ लगायतमा पनि खर्च गरेको देखिन्छ । पहिले अदालतले सामान्य धरौटीमा छाडिदिएपछि मलाई के गर्दो रहेछ र भन्ने सोच पाठकको दिमागमा बढेको हुनसक्छ । त्यही भएर झनै बढी आक्रामक भएर अपराधमा लागेको हुनसक्छ ।’

पाठक प्रविधिमा यति बाठो थिए कि उनले न आफ्नो नामको सिमकार्ड प्रयोग गर्थे न आफ्नो मोबाइल वा डिभाइसबाट ह्याकिङको काम गर्थे । उनी सकेसम्म रेष्टुरेण्टतिर फ्रि वाइफाइ भएको स्थानमा गएर वाइफाइबाट डाटा चलाएर ह्याकिङ र रकम माग गर्ने काम गर्थे । घरबाटै गर्दा आईपी एड्रेसबाट पत्ता लाग्ने भएकाले उनले घरको वाइफाइबाट ह्याकिङको काम गर्दैनथे ।

त्यसैगरी उनले मोबाइलको डाटा चलाउँदा पनि अरू कसैको नामको वा भेट्टाएको सिमकार्डबाट डाटा मात्रै चलाउने गर्दथे । प्रहरीले आफूलाई पत्ता नलगाओस् भनेर उक्त मोबाइलबाट पाठकले कुराकानीसमेत गर्दैनथे ।

कुनै व्यक्तिलाई समस्या परेको छ भनेर रकम माग गर्दा कसैले रकम दिइहालेमा पाठकले चोरी वा भेट्टाएको सिमकार्डबाट खोलिएको ईसेवा वा खल्तीको अकाउन्टमा हाल्न लगाई त्यहाँबाट वान एक्स बेटमा डिपोजिट गरी आफ्नो खातामा रकमान्तर गर्ने गर्दथे । 

तेस्रोपटक साइबर ब्यूरोको नियन्त्रणमा आएपछि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दै पाठकले विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी रकम लिएको कुरा स्वीकार गरेका छन् । आफूले पछिल्लोपटक विभिन्न व्यक्तिहरूबाट ८० हजारभन्दा बढी रकम लिएको पाठकले स्वीकार गरेका छन् । 

अन्ततः जेल गए पाठक

साइबर ब्यूरोले तेस्रोपटक पक्राउ गरी विद्युतीय कारोबार ऐन र ठगीमा मुद्दा चलाएपछि पाठक अन्ततः थुनामा पुगेका छन् । काठमाडौँ जिल्ला अदालतले जेठ ३२ गते पाठकलाई धरौटीसमेत नखोली पुर्पक्षका लागि थुनामा पठाएको हो । यसअघि दुईपटक सोही अदालतमा मुद्दा चल्दा धरौटी तिरेर जेलमुक्त भएका पाठकलाई यसपटक भने अदालतले धरौटी समेत नमागी सोझै थुनामा राख्न पठाएको छ । 

पटकपटक एउटै कसुर गरेको र पुरानो मुद्दाहरुको पनि फैसला नभएको कारण पाठकलाई थुनामै राख्न पठाइएको हो । पाठकलाई सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४५ बमोजिम तीन वर्षसम्म कैद र मुलुकी अपराध संहिता २०७४ को दफा २४९(१) बमोजिम ७ वर्षसम्म कैदको मागदावी लिइएको छ । त्यसैगरी पाठकले एकीकृत कसुर गरेको कारण अधिकतम सजायमा डेढी सजाय गर्न पनि माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप