आमरण अनसनरत नेता शर्माद्वारा उपचार बहिष्कार गर्ने चेतावनी
काठमाडौँ । आमरण अनसनको क्रममा स्वास्थ्य बिग्रिएपछि अस्पताल गरिएका माओवादी केन्द्रका नेता रामकुमार शर्माले उपचार बहिष्कार गर्ने चेतावनी दिएका छन् । अस्पताल प्रशासनले आफ्नो उपचारमा गम्भीरता नदेखाएको उनको आरोप छ । उपचारका लागि विशेष डाक्टर वा टोलीको व्यवस्था नगरेसम्म उपचार नगराउने उनको अडान छ ।
नागरिकता समस्या समाधानको माग राख्दै नेता शर्माले असार १ गतेदेखि राजधानीको माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका थिए । आमरण अनसनको चौथो दिन उनलाई सरकारले नै उठाएर वीर अस्पतालमा भर्ना गरिएको थियो ।
तर भर्ना गरिए पनि अस्पतालबाट उपचारमा गम्भीरता नदेखाइको उनले बताउँदै आएका हुन् । सो ध्यानाकर्षणपछि वीर अस्पतालका निर्देशकले नेता शर्मासँग छलफल पनि गरेका थिए ।
छलफलमा नेता शर्माले माइतीघरबाट सरकारले नै आफूलाई अस्पताल भर्ना गराएकाले उपचारको सम्पूर्ण जिम्मा सरकारले नै लिनु पर्ने बताएका थिए । तर, राज्यले जिम्मेवारी पुरा नगरेको उनको भनाइ छ । उनको माग अस्पताल प्रशासनबाट सम्बोधन भएको छैन ।
विशेष चिकित्सकको व्यवस्था नगरे आफूले उपचार नगराउने भन्दै शर्माले पुनः माइतीघरमै गएर अनसन बस्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘सत्याग्रह स्थलमा प्रहरी प्रशासनले टेन्ट लगाउन नदिनु, दिनमा घाम, धुलो, धुवाँ र रातीमा दैनिकजसो वर्षा हुनु र त्यसमा भिज्नु, २४ घण्टै सवारी साधनको चर्को कोलाहल बिच रहनुले स्वास्थ्य खराब भएको हो ।’
दुई दिनदेखि इमरजेन्सीमा उपचार भइरहँदा उपचार निःशुल्क हुने भनिएको भए पनि कतिपय औषधीहरू बाहिरबाट आफै मगाउनु परिरहेको गुनासो गरे । उनले भित्रबाट निःशुल्क पाउने औषधीबारे डाक्टर पिच्छे फरक फरक व्यवहार हुने गरेको गुनासो गरे ।
उनले भने, ‘मेरो उपचारको लागि कुनै खास डाक्टर तोकिएको छैन । ८–१० घण्टामा फरक–फरक डाक्टर आउँछन् उहाँहरूलाई मेरो बारेमा केही जानकारी हुँदैन । नर्सहरू उपचारमा सिरियस छैनन् । हिजो मात्रै स्लाईन लगाएर गएपछि कोही आएनन् ।’
उनले राम्रो उपचार नभएको बताउँदै उनले एउटा सत्याग्रहीसँग खेलबाड नहोस् भनी वीर अस्पताल प्रशासनलाई सचेतसमेत गराएका छन् ।
उनले अस्पतालको शय्याबाट आफ्नो सत्याग्रहबारे ६ बुँदामा प्रस्ट पारेका छन्–
१.यो आन्दोलन १० औँ लाख नेपाली आमा बुवाबाट जन्मेका तर नागरिकता प्राप्त गर्न नसकेका आफ्नै भूमिमा अनागरिक बनाइएका अनागरिकहरूको अधिकार प्राप्तिको लागि हो ।
२.यो आन्दोलन १० औँ लाख अनागरिक उहाँको परिवार, र सम्पूर्ण उत्पीडित नागरिकहरूलाई सङ्गठित गर्ने, र आफ्नो अधिकारको लागि आफै संघर्ष गर्ने आन्दोलन हो ।
३.यो आन्दोलन नेपाली न्यायालयको वास्तविक नश्लीय चरित्र देश र दुनियाँलाई जानकारी गराउने ? यो न्यायालय कसका लागि हो ? न्ययामूर्तिको कुर्सीमा कस्ता मानिसहरू विराजमान छन् ? यो न्यायालय परिवर्तनको पक्षमा, संविधान, लोकतन्त्र, सामाजिक न्याय र वास्तविक रूपमा मानव अधिकारको पक्षमा छ कि छैन ? त्यसको पर्दाफास गर्ने गर्ने आन्दोलन हो ।
४.यो आन्दोलन नागरिकताको नाममा राजनीति गर्ने, माननीय, मन्त्री बन्ने, धन कमाउने, बिलासी जीवन बिताउने तर मधेसी एवं अन्यायमा परेका नागरिकहरू सडकमा कठोर सङ्घर्ष गरिरहँदा कुम्भकर्णको निद्रामा सुतेकोलाई जगाउने तथा उनीहरूलाई ऐना देखाउने आन्दोलन हो ।
५.यो आन्दोलन सार्वभौम सत्ता सम्पन्न सङ्घीय संसदबाट नागरिकता विधेयक पास गर्ने तर न्यायालयको मुकुन्डो लगाएर बसेका बेइमान एवं अपराधीहरूले न्यायको अपहरण गर्दा मूकदर्शक भएर अलमलमा रमाउने सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनलाई इमानदार बन्नको लागि हो ।
६) यो आन्दोलन मधेसी लगायत सम्पूर्ण उत्पीडित र अन्यायका सिकार भएका नागरिकहरू एकातिर र नश्लीय सोच र चिन्तनको आधारमा शासन गर्ने न्यायालय, राजनीति पार्टी र त्यसको आवरणमा बेइमानी र अपराध गर्ने शोषित र शासक बर्डबीच स्पष्ट डिमारकेशन गर्ने आन्दोलन हो ।
७.यो आन्दोलन वास्तवमा नश्लीय शासक वर्गको विरुद्धमा मधेसी लगायत सम्पूर्ण उत्पीडित राष्ट्रियताहरू आफ्नै बल, बुद्धि र विवेकमा सङ्गठित र आफ्नो मुक्तिकाो र वास्तविक लोकतन्त्रको लागि विद्रोह गर्ने आन्दोलन पनि हो !
सत्याग्रह (आमरण–अनशन) छैठौँ दिन
वीर अस्पतालको शय्याबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा