शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
विपद्को पूर्व तयारीमा हेलचेक्र्याइँ

बेलीब्रिज किन्न छुट्याइएको बजेट निर्वाचन क्षेत्रमा लगियो

मङ्गलबार, ०५ असार २०८०, १९ : ४८
मङ्गलबार, ०५ असार २०८०

विराटनगर । कोशी प्रदेशका तीन जिल्ला अत्यधिक वर्षाका कारण तीन दिनदेखि प्रभावित छन् । कतिपय खोला तथा नदीका पक्की पुल बाढी र पहिरोले बगाएको छ । 

बाढी पहिरोको प्रकोपपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि कोशी प्रदेशका मन्त्रीहरु पनि प्रभावित क्षेत्र गएका छन् । उनीहरुको प्रतिबद्धता मिल्दोजुल्दो नै छ । जसमा तत्कालै घाइतेको उद्धार, पीडित परिवारलाई क्षतिपूर्ति र राहत, उनीहरुको पुनःस्थापना र भत्किएका पुलहरुको साटो अल्पकालीन समाधानका लागि बेलीब्रिज स्थापना ।

तर, कोशी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट वक्तव्यको क्रममा उल्लेख भइ रातो किताबमा प्रकाशित बेलीब्रिज खरिद गर्ने बजेट भने मुख्यमन्त्री र मन्त्रीले बाँडेर निर्वाचन क्षेत्र लगेको खुलेको छ ।

तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पहाडी र अति दुर्गम जिल्लाका ग्रामीण सडकहरुमा बाह्रै महिना यातायात सञ्चालन गर्न १० वटा बेलीब्रिज निर्माणका लागि ८ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको बताएका थिए ।

तर, उक्त सरकार परिवर्तन भएर बनेको हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारले सो बजेट रकमान्तर गर्दै मुख्यमन्त्री कार्की र यसअघि राजीनामा दिएका भौतिक पूर्वाधार विकासमन्त्री दुर्गा प्रसाद चापाईंको निर्वाचन क्षेत्रमा लगेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्रीको दबाबमा उक्त रकम रकमान्तर गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि उनै मुख्यमन्त्री कार्कीसँग छ । मन्त्रालयका सूचना अधिकृत ललितकुमार चौधरीले उक्त रकम रकमान्तर गरिएको पुष्टि गरे । ‘बेलीब्रिजको बजेट रकमान्तर गरेर अन्तै लगिसकेको छ,’ चौधरीले भने, ‘डिटेल त्यो बजेट कहाँ गयो र कता गयो भन्ने थाहा भएन । तर, अहिले त्यो बजेट भएको भए धेरै काम दिने रहेछ ।’

तत्कालीन भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईंले भने आफूलाई यस विषयमा थाहा नभएको बताए ।

मन्त्रालय स्रोतले भने मुख्यमन्त्री कार्कीको निर्वाचन क्षेत्र झापा ५ (१) र मन्त्री चापागाईंको निर्वाचन क्षेत्र तेह्रथुम–२ मा ४–४ करोड रुपैयाँ रकमान्तर गरिएको दाबी गरेको छ । ‘मन्त्रालयमा आएर डिटेल हेर्दा हुन्छ नि, मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा ४–४ करोड गएको छ,’ स्रोतले भन्यो ।

उता, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले भने विनियोजन गरेको बजेटको अवस्था र बेलीब्रिज खरिद प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन् ।

‘आकस्मिक विपदकै लागि आवश्यक पर्ने भनेर बेलीब्रिज खरिद गर्न चालु आर्थिक वर्षमा प्रदेशको बजेटमा ८ करोड विनियोजन गरिएको थियो । प्रदेश सरकार ! बेलीब्रिजको खरिद प्रक्रिया कहाँ पुग्यो,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘कि खरिद गरेर कहाँ राख्नु भएको छ ? बाढीले पक्की पुल बगाएर सम्बन्ध विच्छेद भएका ताप्लेजुङ, पाँचथरको विभिन्न स्थानीय तहका लागि तत्काल आवश्यक परेको छ । प्रदेश सरकारसँग मेरो आग्रह छ तत्काल व्यवस्थापन होस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप