बाढी पहिरोमा बेपत्ता २० जनाको खोजीमा २९१ जना सुरक्षाकर्मी परिचालित
विराटनगर । तीन दिन अगाडि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी बेपत्ता भएका सङ्खुवासभाका तीन स्थानका २० जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता २१ जनाको पहिचान खुलेको भए पनि हिजो साँझ एक जनाको मात्र शव फेला परेको छ । उनको पहिचान खुलेको छैन भने शरीरको आधा भाग पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्र गो द्धा रले आज पनि बिहानैदेखि उनीहरूको खोजी जारी रहेको बताए । ‘खोजी जारी नै छ । आज बिहानैदेखि टोली लागिरहेको छ । हिजो एउटा शव भेटिएको थियो । त्यो पनि कम्मरभन्दा तलको भाग मात्रै छ । कसको हो भन्ने विषयमा पहिचान खुलेको छैन । अरू व्यक्ति फेला परेका छैनन्,’ गोद्धारले भने, ‘खोजीको लागि हेवा खोलाको बगरमा प्रहरीहरू परिचालित छन् ।’
उनका अनुसार यसअघि २० मिटर चौडामा रहेको खोलाको आकार अहिले बढेर १५० मिटर भन्दा बढीको भएको छ भने त्यसपछि बनेको बगरमा १० देखि १५ फिट अग्लो बालुवा र माटो थुप्रिएको छ । ‘हेवा खोला पहिले लगभग २० मिटरजतिको थियो । अहिले १५० मिटर जति फराकिलो बनेको छ । लगभग १० देखि १५ फिटमाटो र बालुवा थुपारेको छ । त्यसले गर्दा खोजीको कार्यमा कठिनाइ भएको छ,’ उनले भने, ‘अहिले प्रहरीबाट १०७ जना, सशस्त्र प्रहरीबाट ५५ जना र नेपाली सेनाबाट १२५ जना गरेर २९१ जना सुरक्षाकर्मीको टोलीले खोजीमा लागेका छन्,’ उनले भने, ‘त्यसबाहेक गाउँपालिकामा रहेका जनप्रतिनिधि तथा स्थानीय युवाहरू पनि संलग्न छन् ।’
सुरक्षाकर्मीहरूले बगरको दुवै साइडबाट शङ्का लागेको ठाउँमा कोट्याउँदै हेर्दै गरिरहेको छ । ‘पुरै बगर खन्न सम्भव छैन । यद्यपि पानीले बगाएको वा डुबाएको अवस्थामा भेटिन्छ कि भनेर खोजी गरिरहेको अवस्था छ,’ प्रहरी प्रमुख गोद्धारले भने ।
सङ्खुवासभाको चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका मजदुर बेपत्ता भएका थिए । ‘हाइड्रोमा काम गर्ने मानिसहरू माथिबाट ठुलो भेल आयो र बगायो । हाइड्रोमाथि पुरै बालुवा थुपारेको छ । कतिपय ठाउँमा ठूलोठूलो खाल्डो पनि बनेको छ,’ प्रहरी प्रमुख गोद्धारले भने ।
पानी तथा दहमा बेपत्ता भएकाहरूको खोजीमा गोताखोर झिकाइने गरिएको छ । तर, सङ्खुवासभाको उक्त खोलामा गोताखोरले पनि खोजी गर्न नसक्ने अवस्था रहेको उनले बताए ।
‘गोताखोरले खोजी गर्नका लागि पानीका बहाव घट्नुपर्छ । अहिले केही घटेको पनि छ । तर, पानीको बहाव घटे पनि हिलो लेदोसहितको पानी आइरहेको छ । ठाडो खोला भएको कारण पानीभित्र गएर खोज्न सक्ने अवस्था छैन,’ उनले भने, ‘केन्द्रको टोली आएर पनि हिँड्ने र खोज्ने बाहेक अरू सम्भव नै छैन । सबैतिर बालुवाले भरिएको र बगर पनि डेढ सय मिटर फराकिलो भएको कारण अन्य तरिकाले खोजी गर्न सम्भव छैन ।’
उनले खोलामा कुनै पनि खालको इक्वीपमेन्ट प्रयोग गर्न पनि असम्भव रहेको बताए । ‘ठाउँ ठाउँमा पहिरो गएको छ र हिँडेर जाने तथा कहाँ केही छ कि भनेर शङ्काको आधारमा खोतल्ने बाहेक अरू सम्भव छैन,’ उनले भने ।
बेपत्तामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका मात्रै १७ जना मजदुर छन् । बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एकजना मजदुर पनि अझै बेपत्ता छन् ।
बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । गम्भीर घाइते दुवैको उपचार भइरहेको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको छ ।
बेपत्ताहरुको नामावली
बेपत्ता हुनेहरुमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सुनसरी इटहरीका सन्तोष ढकाल, चैनपुर नगरपालिका–४ का भुवनसिंह तामाङ, चैनपुरका सुवास राई, सुपरभाइजर झापा गौराहदहका फैजबहादुर कार्की, धनकुटा पाख्रीबासका गणेश गिरी, इलामका राजकुमार मगर, झापाका मिना श्रेष्ठ (भान्से), कैलालीका रामजतन थारु, बर्दियाका राहुल थारु, रोहित थारु, पुलसन थारु, कालीराम थारु, राजराम थारु, कैलालीका सुगत थारु, अमर थारु, सिता थारु र सङ्खुवासभा पाँचखपनका दीपक मगर रहेका छन् ।
यस्तै सभापोखरी–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन् । चैनपुर नगरपालिका १ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अपर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
नेपाल–चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित