‘शक्ति - दी पावर’ : त्यसपछि खेलाडी उत्पादनमा होमिए
भैरहवा । केही दिनअघि भैरहवामा एक क्रिकेट रंगशाला र क्रिकेट एकेडेमीको शिलान्यास गरियो । शिलान्यास समारोहमा शक्तिप्रसाद गौचन मञ्चमा आसीन थिए — उही चिरपरिचित मुस्कानका साथ तर फरक भूमिकामा ।
३९ वर्षीय शक्ति यतिखेर भैरहवामा निर्माणाधीन ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ‘ब्रान्ड एम्बासडर’को भूमिकामा सक्रिय छन् । उनको चिन्ता र चिन्तन क्रिकेट विकासकै लागि छ ।
सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि गृहनगर भैरहवा फर्किएका शक्तिले क्रिकेट एकेडेमी स्थापना गरे र त्यही क्रिकेट एकेडेमीलाई आफ्नो बाँकी जीवनको लक्ष्य बनाएर अगाडि बढिरहेका छन् ।
‘युवा खेलाडीका लागि नियमित प्रतियोगिता छैन । अभ्यासका लागि पूर्वाधारको अभाव छ । खेलाडीले क्रिकेटमा भविष्य देखिरहेका छैनन्,’ शिलान्यास समारोहमा उनी बोले, ‘प्रतिभाशाली खेलाडी उत्पादनमा राज्यको ध्यान पुग्न सकेको छैन । खेलाडी पलायनको समस्या पनि उत्तिकै डरलाग्दो छ । सायद केही सहृदयी मनहरूको साथ नपाएको भए आज म आफैँ पनि विदेशी भूमिमा पसिना बगाइरहेको हुन्थेँ ।’
सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि धेरैलाई लागेको थियो, अब शक्तिको सपना सकियो, उनले नेपाली क्रिकेटसँग जोडिएर कुनै सपना देख्ने छैनन् ।
कार्यक्रम सकिएपछि यही प्रकृतिको जिज्ञासा मैले पनि राखेको थिएँ । आफ्नो सपनाको दुनियाँ देखाउन उनले भैरहवानजिकै ओमसतिया गाउँपालिकामा रहेको ‘स्टार क्रिकेट एकेडेमी’मा पुर्याए, जसलाई उनले सञ्चालन गर्दै आएका छन् ।
सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि उनको सपनाको आयाम र आयतनमा वृद्धि भएको रहेछ । उनले देखेको नयाँ सपना रहेछ, नेपाललाई टेस्ट राष्ट्रको मान्यता दिलाउने । ‘हो, समयसँगै मेरो सपनाको आकार पनि फराकिलो भएको छ । अब म नेपालले कुनै दिन टेस्ट राष्ट्रको मान्यता पाएको देख्न चाहन्छु,’ उनी केही भावुक देखिए, ‘मलाई विश्वास छ, आफ्नो जीवनमै मैले नेपालले टेस्ट खेलेको देख्न पाउनेछु ।’
शक्ति : दी पावर
नेपाली खेलकुदमा स्थापित नाम हो, शक्तिप्रसाद गौचन । नेपाली क्रिकेट समर्थकको मन–मस्तिष्कमा यो नामको गहिरो प्रभाव छ । नेपाली क्रिकेटले आज जुन उचाइ हासिल गरेको छ, त्यसमा शक्तिले मैदानमा बगाएको पसिना पनि मिसिएको छ ।
घरेलु खेलकुदमा उनी त्यतिबेला उदाए, जतिबेला नेपाली क्रिकेट भर्खरै प्रगतिको बाटोमा अगाडि बढ्न सङ्घर्ष गरिरहेको थियो । अन्तर्राष्ट्रिय खेलवृत्तमा नेपाली क्रिकेटको दायरा फराकिलो बनाउन शक्ति र उनका समकालीन खेलाडीको निकै ठुलो योगदान छ ।
उमेर समूहको प्रतियोगितामार्फत राष्ट्रिय टोलीसँग गाँसिएका शक्ति त्यसपछि नेपालले टी–ट्वान्टी विश्वकप खेल्दा र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एक दिवसीय राष्ट्रको मान्यता पाउँदाका पनि साक्षी हुन् ।
खेलाडीका रूपमा राष्ट्रिय टोलीसँग जोडिएसँगै उनले विभिन्न कालखण्डमा फरक–फरक सपना देखे । ‘हरेक खेलाडीले सपना देख्नुपर्छ । सपनै नदेखे त्यसलाई साकार पार्ने बाटोमा अगाडि बढ्न सकिँदैन । सपना देख्नु भनेको महत्त्वाकाङ्क्षी हुनु होइन,’ शक्ति भन्छन्, ‘म जहिले पनि सपना देख्ने मान्छे । खेलाडीको भूमिकामा सक्रिय हुँदा मैले थुप्रै सपना देखेँ । आजसम्म नेपाली क्रिकेटसँग जोडिएको सपना देखिरहेको छु ।’
सबैभन्दा पहिले राष्ट्रिय खेलाडीको परिचय बनाउन संघर्ष गरिरहँदा उनले देशको झन्डाअंकित जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना बुने । शक्तिको त्यो सपना पूरा भयो, सन् २००१ को फेब्रुअरीमा, जतिबेला उनले देशको प्रतिनिधित्व गर्दै बंगलादेशमा आयोजना भएको एसीसी यू–१७ एसिया कप खेले । सायद यो त्यही प्रतियोगिता थियो, जहाँ उनले आफ्ना समर्थकबाट नयाँ उपनाम पाएका थिए — ‘शक्ति : दी पावर ।’
उमेर समूहकै राष्ट्रिय टोलीबाट उनले सन् २००२ मा न्युजिल्यान्डमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेट खेले । यसपछि शक्तिको अर्को सपना थियो, सिनियर राट्रिय टोलीमा स्थान बनाउने । बलियो आत्मविश्वास र निरन्तरको कडा परिश्रमपछि उनको त्यो सपना पनि पूरा भयो । सन् २००२ को जुलाई १० देखि २१ तारिखसम्म सिंगापुरमा भएको एसीसी ट्रफीमा उनले सिनियर राट्रिय टोलीबाट आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाए । त्यतिबेला नेपालले एक सय पाँच रनको फराकिलो अन्तरले ओमानलाई हराएको थियो, शक्तिले ३७ रन बनाएका थिए ।
त्यतिबेला नेपाललाई एसीसी ट्रफीको फाइनलसम्म पुर्याउन शक्तिले कुल दुई सय ४८ रन जोडे । नेपालले सेमिफाइनलमा मलेसियालाई २५ रनले हराउँदा शक्ति एक्लैले ६७ रनको योगदान गरेका थिए । यसका अतिरिक्त प्रतियोगितामा उनले अत्यन्तै किफायती बलिङ गर्दै सात विकेट पनि लिएका थिए । नेपाली टोली फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग ६ विकेटले पराजित भएको थियो ।
सन् २००४ पछि भने उनी नियमित रूपमा सिनियर राष्ट्रिय टोलीको सदस्य बने । सन् २००४ को मार्चमा यूएईमा भएको आईसीसी इन्टरकन्टिनेन्टल कप उनले खेलेको पहिलो श्रेणीको प्रतियोगिता थियो । त्यहाँ उनले यूएईविरुद्ध पहिलो खेल खेलेका थिए । उक्त खेल बराबरीमा सकिएको थियो ।
सोही प्रतियोगितामा मलेसियाविरुद्धको खेलमा उनले लामो समय क्रिजमा टिकेर दुई सय ३१ बलको सामना गरी अविजित ६९ रन बनाएका थिए । उक्त खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो । शक्ति र नेपालकै मेहबुब आलम संयुक्त रूपमा ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए ।
विश्वकप सपना
एकपछि अर्को सफलताले हौसिएका शक्तिले अर्को सपना देखे, विश्वकप खेल्ने । अघिल्ला दुई सपनालाई सार्थक बनाएजस्तै सहज यसपालि थिएन । विश्वकपमा पुग्नु नै चुनौतीपूर्ण लक्ष्य थियो, कहिल्यै सानातिना चुचुरा समेत नदेखेको व्यक्ति सगरमाथाको आरोहणमा निस्कनुजत्तिकै कठिन थियो ।
थुप्रै राष्ट्रले क्रिकेटमा ठुलो लगानी गरेर विश्वकप खेल्ने सपना बुनिरहेका थिए । उनीहरूकहाँ नियमित प्रतियोगिता हुन्थ्यो, सुविधासम्पन्न पूर्वाधार र प्रशिक्षणको अत्याधुनिक प्रविधि थिए । लामो समयदेखि सञ्चालित एकेडेमीहरूबाट उनीहरूले प्रतिभाशाली खेलाडी उत्पादन गरिरहेका थिए । त्यहाँ देशका लागि खेल्नेहरूको जिम्मा सरकारले लिएको थियो ।
यता हाम्रो अवस्था दयनीय थियो । देशभित्र प्रतिभाशाली खेलाडी उत्पादन गर्ने प्रतियोगिता र भौतिक पूर्वाधार समेतको कमी थियो । खेलाडीले सीमित स्रोत–साधनबाट आफूलाई तिखार्नुपर्थ्यो ।
यो परिस्थितिमा विश्वकप खेल्ने सपना कम चुनौतीपूर्ण थिएन । सपनालाई साकार बनाउन अवसरलाई उपयोग गर्न सक्नुपर्छ । आईसीसी टी–ट्वान्टी विश्वकपका लागि सन् २०१२ मा यूएईमा छनोट प्रतियोगिता हुँदै थियो । जसमा भाग लिने अवसर नेपालले पायो तर यस महत्त्वपूर्ण प्रतियोगितामा भाग लिने टोलीमा शक्ति पर्ने निश्चित थिएन । त्यतिबेला केही समय अघिदेखि उनी राष्ट्रिय टोलीमा परिरहेका थिएनन् । टोलीमा स्थान पाउन शक्तिले ठुलै परिश्रम गर्नुपर्यो ।
यस प्रतियोगितामा शक्तिले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना आलोचकलाई गतिलो जवाफ दिए । १६ विकेट लिएर उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा दोस्रो नम्बरमा परेका थिए । डेनमार्कविरुद्धको खेलमा त उनले ह्याट्रिकसहित चार विकेट लिए । यस प्रतियोगितापछि ईएसपीएन क्रिकइन्फोले नेपालबाट तत्कालीन कप्तान पारस खड्का र शक्तिलाई उत्कृष्ट–११ टोलीमा समेत समावेश गरेको थियो, तर नेपाल विश्वकपमा छनोट हुन सकेन, प्रतियोगितामा नेपाल सातौँ हुन पुग्यो ।
नेपालको विश्वकप खेल्ने सपना फेरि दुई वर्ष पछाडि धकेलियो । सन् २०१४ को १६ मार्चदेखि ६ अप्रिल तारिखसम्म बंगलादेशमा आयोजना हुने टी–ट्वान्टी विश्वकपका लागि सन् २०१३ मा यूएईमा छनोट प्रतियोगिता हुने भयो । त्यो छनोट प्रतियोगितामा शक्तिको प्रदर्शन सामान्य रह्यो ।
कप्तान पारस खड्कालगायत टोलीका अन्य सदस्यको उत्कृष्ट प्रदर्शनका कारण नेपालले पहिलोपटक विश्वकप खेल्ने अवसर पायो । छनोट प्रतियोगितामा आयरल्यान्ड पहिलो, अफगानिस्तान दोस्रो र नेपाल तेस्रो भएका थिए । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी घरेलु टोली यूएईलाई पाँच विकेटले हराएको थियो ।
अन्ततः सन् २०१४ मा पहिलोपटक नेपालले टी–ट्वान्टी विश्वकप खेल्यो । नेपालले विश्वकप खेलेको सपना देख्ने शक्ति पनि खेलमा सहभागी थिए । सीमित स्रोत–साधनका बाबजुद खेलाडीको बलियो आत्मविश्वास र कठोर परिश्रमका कारण नै नेपालले विश्वकप खेल्ने अवसर पाएको थियो । त्यतिबेला नेपाल छानिएसँगै देशभित्र क्रिकेटका समर्थक ह्वात्तै बढेका थिए, एक ढंगले देशै क्रिकेटमय बनेका थियो ।
विश्वकपमा नेपाली खेलाडीको पहिलो प्रयास प्रशंसनीय रह्यो । प्रतियोगिताको प्रारम्भिक चरणमा समूह ‘ए’मा परेको नेपालले विश्व क्रिकेटमा खारिएको बंगलादेशजस्तो राष्ट्रलाई हम्मे पारेको थियो । उक्त समूहमा नेपालसँगै बंगलादेश, अफगानिस्तान र हङकङ परेका थिए । समूहमा पहिलो हुने राष्ट्र फाइनल चरणको भिडन्तका लागि छनोट हुने प्रावधान थियो ।
समूहमा नेपाल र बंगलादेशको बराबर अंक भएको थियो । नेपाल र बंगलादेशले दुई जित र एक हारबाट तीन/तीन अंक जोडेका थिए । नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशसँग पराजित भएको थियो । अर्कोतिर, बंगलादेशले अफगानिस्तान र नेपाललाई हराएको थियो भने हङकङसँग पराजित भएको थियो ।
यस्तो स्थितिमा नेपाल र बंगलादेश दुवैको समान तीन/तीन अंक पुगेको थियो । अन्तिम समयमा नेपाल नेट रनरेटमा बंगलादेशसँग पछि प¥यो । बंगलादेशको १.४६६ र नेपालको ०.९३३ नेट रनरेट थियो । झिनो अन्तरले नेट रनरेटमा पछि पर्दा नेपाल अघिल्लो चरणमा पुग्नबाट चुक्यो । यसरी नेपाललाई विश्वकप खेलाउने शक्तिको सपना पनि पूरा भएको थियो ।
एक दिवसीय सपना
नेपालले टी–ट्वान्टी विश्वकप खेलेपछि शक्तिले फेरि अर्को सपना सँगाले, नेपाललाई एक दिवसीय राष्ट्रको मान्यता दिलाउने । यसका लागि नेपालले थप चार वर्ष कठोर संघर्ष गर्नुपर्यो । सन् २०१८ को मार्च ४ देखि २५ तारिखसम्म जिम्बाबेमा एक दिवसीय छनोट प्रतियोगिता आयोजना हुँदै थियो । जसले एकातिर विश्वकप (सन् २०१९) मा सहभागी हुने दुई टोलीको टुंगो लगाउँदै थियो, अर्कोतिर एकदिवसीय राष्ट्रको मान्यता पाउने विषय छिनोफानो हुँदै थियो । त्यसैले यो प्रतियोगिता नेपालका लागि विशेष थियो ।
आफ्नो सक्रिय खेलजीवनको उत्तरार्धतिर रहेका शक्ति यस प्रतियोगितामा नेदरल्यान्ड्सविरुद्धको एक खेलमा मात्रै मैदानमा देखापरे, एक विकेट लिए । त्यतिबेला राष्ट्रिय टोलीमा केही प्रभावशाली युवा खेलाडीको आगमन भइसकेको थियो । त्यसैले शक्ति आफैँ पनि प्लेइङ–११ मा युवा र क्षमतावान् खेलाडीलाई स्थान दिनुपर्ने पक्षमा थिए ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल अंक तालिकामा चौथो हुँदै प्लेअफ चरणका लागि छनोट भएको थियो । विश्वकपमा छनोट हुने सम्भावना सकिए पनि एक दिवसीय मान्यताको सम्भावना कायमै थियो ।
प्लेअफ चरणमा नेपालले पपुवा न्युगिनी, नेदरल्यान्ड्स र हङकङको सामना गर्नुपर्ने थियो । पपुवा न्युगिनी र हङकङले यसअघि नै एक दिवसीय राष्ट्रको मान्यता पाएका थिए । उनीहरू कुनै पनि हालतमा एक दिवसीय मान्यता जोगाउन चाहन्थे । नेदरल्यान्ड्सको पनि एक दिवसीय मान्यता पक्का भइसकेको थियो । अर्कोतिर पहिलोपटक एक दिवसीय मान्यता पाउने संघर्षमा नेपाल थियो ।
यसर्थ प्लेअफ चरणमा सहभागी अन्य टोलीभन्दा नेपाल तुलनात्मक रूपमा कमजोर थियो । प्लेअफ चरणको पहिलो खेलमै नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले हरायो । दोस्रो खेलमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पाखा लगायो । यी दुई नतिजापछि नेपालले इतिहासमै पहिलोपटक आईसीसीबाट सन् २०२३ सम्मका लागि एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गर्यो । पपुवा न्युगिनी र हङकङले भने एक दिवसीय राष्ट्रको मान्यता गुमाए ।
यसरी शक्तिको अर्को सपना पनि साकार भयो । एकदिवसीय राष्ट्रको मान्यता पाएपछि सन् २०१८ को अगस्तमा नेपालले पहिलोपटक नेदरल्यान्ड्ससँग उसैको घरेलु मैदानमा तीन खेलको शृङ्खला खेल्यो । शृङ्खलाका लागि शक्ति पनि टोलीमा परेका थिए । शृङ्खलामा उनले एउटा खेल मात्र खेले । एकदिवसीय मान्यता पाएपछिको पहिलो खेलमै नेपालले नेदरल्यान्ड्समाथि एक रनको रोमाञ्चक जित हासिल ग¥यो । नेपालका लागि यो ऐतिहासिक जित थियो ।
दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भयो । तेस्रो खेल अनिर्णीत रूपमा टुंगियो । त्यसैले नेपाल र नेदरल्यान्ड्सबीचको शृङ्खला १–१ को बराबरीमा सकियो । शक्तिले उक्त शृङ्खलाको दोस्रो खेल मात्र खेलेका थिए ।
लर्डसको मैदान
नेदरल्यान्ड्सविरुद्धको शृङ्खलापछि सन् २०१८ कै जुनमा नेपालले लर्डसमा त्रिकोणात्मक क्रिकेट शृङ्खला खेल्ने अवसर पायो ।
त्रिकोणात्मक शृङ्खलामा नेपालका अतिरिक्त नेदरल्यान्ड्स र मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सहभागी थिए । शृङ्खलामा तीनवटै टोलीले एकअर्कासँग एक/एक खेल खेलेका थिए । पहिलो खेलमा नेदरल्यान्ड्सले एमसीसीलाई १० रनले हरायो । नेपाल र नेदरल्यान्ड्सबीचको तेस्रो खेल अनिर्णीत रूपमा सकियो । तर, नेपाल र एमसीसीबीचको दोस्रो खेल भने शक्तिसँगै नेपाली क्रिकेटका लागि पनि अविस्मरणीय बन्न पुग्यो ।
यो त्यति खेल थियो, जुन खेलपछि नेपालका ‘आइकोनिक खेलाडी’ शक्तिले अन्तर्राष्ट्रिय खेलजीवन (राष्ट्रिय टोली)बाट सन्न्यासको घोषणा गरेका थिए ।
उमेर समूहको प्रतियोगितादेखि नै निरन्तर मैदानमा सक्रिय हुँदै आएका प्रभावशाली अलराउन्डर शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिए । करिब १७ वर्ष लामो सक्रिय खेल जीवनमा उनले क्रिकेट मैदानमा आफ्नो दुवै हातले जादु चलाए । बायाँ हातको धारिलो स्पिन बलिङ र दायाँ हातको कलात्मक ब्याटिङले लाखौँ समर्थकको मनमा राज गरे ।
शक्तिले खेल जीवनको उत्तरार्धमा आएर अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिन पनि यस्तो स्थान चयन गरे, जसलाई क्रिकेटको सबैभन्दा पवित्र तीर्थस्थल भनेर चिनिन्छ, अर्थात् लर्डसको मैदान । पाँच वर्षपछि आएर अहिले आफ्नो सन्न्यासको त्यो क्षण सम्झँदा उनलाई केही कारणले सन्तोष लाग्छ ।
‘नयाँ र प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय टोलीमा अवसर दिन पाएकामा खुसी छु । नयाँ र प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्न पनि पुराना खेलाडीले ठाउँ खाली गर्नैपर्छ,’ सन्न्यासको पाँच वर्षपछि भैरहवामा रातोपाटी संवाददातासँग गफिँदै शक्ति भन्छन्, ‘एक त नेपालमा नियमित प्रतियोगिताको अभाव भएकाले अपेक्षित रूपमा प्रतिभाशाली खेलाडी उत्पादन नै हुँदैनन् । त्यसमाथि पुराना खेलाडीले लामो समय राष्ट्रिय टोलीमा ठाउँ ओगट्दा नयाँ खेलाडीले आफ्नो क्षमता देखाउने अवसर पाउँदैनन् । त्यसैले तत्कालीन समयमा सन्न्यास लिने मेरो निर्णय सही थियो ।’
यसका अतिरिक्त लर्डसको मैदानमा आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम खेल खेल्न पाउँदा उनी अझ बढी हर्षित भएका रहेछन् । सन्न्यासको त्यो क्षणमा टोलीका अन्य साथीहरूले उनको बिदाइलाई पनि अविस्मरणीय बनाएका रहेछन्, अप्रत्याशित रूपमा ‘गार्ड अफ अनर’ प्रदान गरेर । त्यो कुरा भने उनलाई अन्तिम समयसम्म जानकारी दिइएको रहेनछ ।
भर्खरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थाल्दा एकपटक लर्डस मैदानमा पुगेको अर्को एउटा क्षण पनि उनले सम्झिए । ‘भर्खरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गर्दा सन् २००४ मा लर्डसको मैदानमा पुग्ने सौभाग्य जुरेको थियो । लर्डसको क्रिकेट मैदानका केही निश्चित स्थानमा जसलाई पनि जान दिइँदैन,’ उनी भन्छन्, ‘त्यतिबेला केही अगाडि बढ्न खोज्दा मलाई पनि गार्डले रोक्नुभएको थियो, तर कालान्तरमा भाग्यले मलाई त्यही पवित्र मैदानमा पुर्यायो । अनि मैले आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम खेल पनि त्यही मैदानमा खेल्ने अवसर पाएँ ।’
राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि पनि उनले केही समय घरेलु फ्रेन्चाइज प्रतियोगिता खेले तर राष्ट्रिय टोलीबाट बिदा लिएपछि उनी लामो समयसम्म खेलाडीको भूमिकामा देखा परेनन् । सन् २०१८ को डिसेम्बरमा उनले खेलजीवनबाट पूर्णरूपमा बिदा लिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर शक्ति निकै छोटो समय प्रशिक्षकको भूमिकामा पनि सक्रिय रहे ।
शक्तिले सन् २००५ को फेब्रुअरीमा भएको आईसीसी विश्वकप छनोट शृङ्खलामा इटालीविरुद्ध शतक बनाएका थिए । त्यतिबेला उनले केवल एक सय तीन बलमा अविजित एक सय ६ रन बनाएका थिए । खेल जीवनबाट सन्न्यास लिएपछि सन् २०१९ को मार्चमा भएको महिला राष्ट्रिय क्रिकेट लिगमा उनले भैरहवा क्विन्सको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
‘स्टार क्रिकेट एकेडेमी’
आफू जीवित हुँदै नेपालले टेस्ट मान्यता पाउनेमा शक्ति आशावादी छन् । ‘त्यसका लागि अझ ३०/४० वर्ष लाग्ला । त्यतिबेलासम्म मेरो उमेर ८० पुग्दा, तर त्यतिबेला कसैको सहारा लिएर म नेपालले टेस्ट खेलेको हेर्न मैदानसम्म पुग्नेछु,’ उनी भन्छन्, ‘बुढ्यौली उमेरमा भए पनि त्यो क्षणले मेरो मुहारमा खुसी छाउनेछ, किनभने यो मैले देखेको सबैभन्दा ठुलो सपना हो ।’
उनको यही सपनाको उपज हो, ‘स्टार क्रिकेट एकेडेमी’, जो सन् २००९ मा स्थापना भएको हो । सुरुमा उनले आफ्नो नियमित अभ्यासका लागि यसको संरचना तयार पारेका थिए । पछि एकेडेमीको स्वरूप दिए । उनको एकेडेमीमा अभ्यास गर्ने संरचनासँगै ‘इन्डोर क्रिकेट हल’ पनि निर्माण गरिएको छ ।
खेलकुद क्षेत्रमा राज्यले खासै ठुलो लगानी गर्न सकिरहेको छैन । सरकारसँग पनि कृषि, शिक्षा, स्वास्थ्यजस्ता थुप्रै क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता छन् । ‘त्यसैले नेपाली खेलकुदको विकासमा हामी सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्छ,’ शक्ति भन्छन्, ‘मैले यो क्रिकेट एकेडेमी स्थापना गर्नुको मुख्य कारण पनि प्रतिभाशाली खेलाडी उत्पादन गरेर राज्यलाई सुम्पनु नै हो ।’
उनले आफ्नो एकेडेमीबाट थुप्रै क्षमतावान् खेलाडी उत्पादन गरेर नेपाली क्रिकेटलाई सुम्पिएका छन् । उनकै एकेडेमीबाट उत्पादित १५/२० जना प्रतिभाशाली खेलाडी अहिले जुनियर क्रिकेटमा सक्रिय छन् । सिनियर राष्ट्रिय टोलीबाटै पनि उनले उत्पादन गरेका केही खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको गौरव बढाइरहेका छन् ।
कुशल मल्ल र सुशान भारी पनि शक्तिले नै तयार पारेका प्रतिभाशाली खेलाडी हुन् । कुशल र सुशान दुवै अहिले नेपाली क्रिकेटको स्थापित नाम हुन् । सुशानले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको ओमानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । पहिलो खेलमै उनले दुई विकेट लिएर आफ्नो क्षमताको परिचय दिएका थिए ।
कुशल मल्ल अहिले जिम्बाबेमा आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेलिरहेका छन् । उनले जिम्बाबेविरुद्धको पहिलो खेलमा ४२ बलको सामना गरी तीन छक्का र दुई चौकाको मद्दतले ४१ रन बनाएका थिए । यसबाहेक उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । पछिल्लो समय राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका शुभम खनाल पनि शक्तिकै उत्पादन हुन् ।
यस क्रिकेट एकेडेमी स्थापना गर्न शक्तिले एक करोड रुपैयाँको हाराहारी खर्च गरेका छन् । अहिले यहाँ उनी एक सय युवा खेलाडीका प्रशिक्षक हुन् । रुपन्देही बाहिरका खेलाडीले पनि उनको एकेडेमीमा प्रशिक्षक लिँदै आएका छन् ।
‘आफूले तयार पारेका खेलाडीले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा भित्रैदेखि खुसी लाग्छ । आफ्नो साधना सफल भएको भान हुन्छ । मैले खेलजीवनबाट सन्न्यास लिँदा पनि बढीभन्दा बढी समय खेलाडी उत्पादनमा बिताउने लक्ष्य लिएको थिएँ,’ उनी भन्छन्, ‘अहिले मेरो एकेडेमीबाट केही प्रतिभाशाली खेलाडी तयार हुने क्रममा छन् ।’
शक्तिको विचारमा नेपाली क्रिकेटको सबैभन्दा ठुलो समस्या भनेकै उमेर समूहको क्रिकेट विकासमा सम्बन्धित निकायले ध्यान नपुर्याउनु हो । ‘प्रतिभाशाली युवा खेलाडी उत्पादनमा एकेडेमीको भूमिका त २५ प्रतिशत मात्र हुन्छ । बाँकी भूमिका उमेर समूहको नियमित प्रतियोगिता र सुविधासम्पन्न पूर्वाधारको हुन्छ । एकेडेमीबाट उत्पादित खेलाडीले आफ्नो क्षमता तिखार्ने भनेकै स्तरीय पूर्वाधारमा अभ्यास गरेर र प्रतियोगिता खेलेर हो,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण