मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

सोमबार, ०४ असार २०८०, २१ : ११
सोमबार, ०४ असार २०८०

आज २०८० असार ४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा चार दल सम्मिलित समाजवादी मोर्चा गठन, बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री, त्रिविका उपप्रध्यापक चलाउने आमरण अनशनमा, असार ७ मा रास्वपाको चियापान, किसानले गोलभेँडा फालेको घटनाबारे संसदीय समितिले माग्यो सरकारसँग जवाफ कोशी सरकार र पहिचानवादीको वार्ता निष्कर्षविहीन लगायत छन् ।

१. चार दल सम्मिलित समाजवादी मोर्चा गठन
लामो कसरतपछि सोमबार चार दल सम्मिलित समाजवादी मोर्चा गठन भएको छ । सत्तामा रहेका तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल तथा संसदीय राजनीति बाहिर रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा बनाइएको हो ।

२. बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार कोशी प्रदेशका बाढी पहिरो क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् । मनसुन भित्रिएसँगै पूर्वी नेपालका विभिन्न जिल्ला बाढी तथा पहिरोबाट प्रभावित भएका हुन् ।

३. त्रिविका उपप्रध्यापक चलाउने आमरण अनशनमा
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने आमरण अनशनमा बसेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै चलाउने त्रिवि भीसी कार्यालय अगाडि आमरण अनसनमा बसेका हुन् । आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा उनी सोमबार जिल्ला अदालत काठमाडौँ पुगेका थिए । तर प्रहरीले उनलाई नियन्त्रणमा केही समयपछि लिएर रिहा गरेको थियो । रिहापछि उनी त्रिवि भीसीको कार्यालय अगाडि अनशन बसेका हुन् ।  

४. असार ७ मा रास्वपाको चियापान
राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ मा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टी स्थापना दिवस पारेर रास्वपाले चियापान आयोजना गर्न लागेको हो ।

५. किसानले गोलभेँडा फालेको घटनाबारे संसदीय समितिले माग्यो सरकारसँग जवाफ
राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानबिन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो ।

६. कोशी सरकार र पहिचानवादीको वार्ता निष्कर्षविहीन
सोमबार चार घण्टाभन्दा बढी चलेको पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ता निष्कर्षविहीन बनेको छ । यद्यपि अर्को वार्ता गर्ने विषयमा भने दुवै पक्षबीच सहमति भएको छ । 

७. भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शनमा रोक
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा अनुरुप आज महानगर भित्रका १७ हलमा फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ । चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुष विरुद्धको महानगरको अभियानमा साथ दिन फिल्मको प्रदर्शन रोकिएको बताए । सो चलचित्र प्रदर्शनमा पोखरा महानगरले पनि रोक लगाएको छ ।

८. केन्द्रीय कारागारभित्रै लागुऔषध र मिटरव्याजको धन्धा चलेको भन्दै उजुरी
केन्द्रीय कारागार जगन्नाथदेवल (सेन्ट्रल जेल) भित्रै लागुऔषधको कारोबार र मिटरब्याजको धन्दा चलिरहेको भन्दै गृह मन्त्रालय लगायतमा उजुरी परेको छ । जेलभित्र मदिरा तथा लागुऔषधको कारोबार, मिटर ब्याजको आतङ्क र बेटिङ चलिरहेको भन्दै उजुरी परेको हो ।

९. समसामयिक विषयमा सांसदहरुको प्रश्न
प्रतिनिधिसभा सदस्यहरुले सोमबार समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । कतिपय सांसदले विभिन्न विषयमा सरकारलाई प्रश्नसमेत गरेका छन् ।

१०. कैलालीमा किसान र सशस्त्र प्रहरीबीच झडप
कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबीच झडप भएको छ । भारतीय सीमावर्ती बजारबाट रासायनिक मल ल्याउने क्रममा किसान र सशस्त्र प्रहरीबीच झडप भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप