सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

समाजवादी मोर्चा, नेपाल बारे

सोमबार, ०४ असार २०८०, २० : ३१
सोमबार, ०४ असार २०८०

नेपालका तीनवटा कम्युनिस्ट पार्टीहरू– एकीकृत समाजवादी, माओवादी केन्द्र र विप्लव समूह) एवं जनता समाजवादी पार्टी, नेपाल मिलेर आज समाजवादी मोर्चा, नेपाल (सोसलिस्ट फ्रन्ट, नेपाल) गठन भएको छ । यो मोर्चा निर्माणसँगै अनेक आशङ्का, आलोचना र विरोधसमेत देखिएका छन् भने यस परिघटनालाई सकारात्मक रुपमा लिनेहरूको सङ्ख्या पनि स्वाभाविक रुपमा उल्लेख्य छ । 

समाजवादी अर्थव्यवस्था निर्माण गर्ने विषय नेपालको संविधानले निर्दिष्ट गरिसकेको अवस्थामा पनि यसलाई विरोध गर्ने कुरा सारतः असंवैधानिक हो तर अभिव्यक्ति स्वतन्त्रता भएको कारणले संविधानको विरोधलाई पनि सहज रुपमा लिनु लोकतान्त्रिक व्यवस्थाको मूल चरित्र हो । 

नेपालमा समाजवाद निर्माण गर्ने विषयको विरोध, आलोचना, खिसीटिउरी इत्यादि गर्ने तीनथरी मानिसहरू छन्– (१) नेपालका पहिलेका सामन्ती तत्त्वहरू जो हाल दलाल पुँजीवादका नायक वा सेवक छन् र, (२) आम जनता– आफूलाई कम्युनिस्ट तथा समाजवादी भनिने दलका कतिपय नेता–कार्यकर्ताको व्यवहार–आचरण गैर कम्युनिस्ट वा गैर समाजवादी भएका कारणले र पार्टी कार्यक्रममा कुनै न कुनै तरिकाले ‘समाजवाद’ शब्दावली झुन्ड्याएका पार्टीहरूका सरकारले आजसम्म आम जनताले राहत पाउने, देशको अर्थतन्त्र उकासिने कुनै ठोस कार्यक्रम नल्याएका कारणले रुष्ट भएका मानिसहरू । (३) दलगत रूपमा नेकपा   (एमाले)को नेतृत्व ।  

संसारभरिका पुँजीवादीहरू र हाम्रो देशका दलाल पुँजीवादीहरूले कहिल्यै, कुनै हालतमा समाजवादको समर्थन गर्ने छैनन् । जन्मजात समाजवादका विरोधीहरूको बारेमा कुनै चर्चा गर्नु आवश्यक छैन । यसैले यहाँ लेखिएका समाजवादको विरोध गर्ने पहिलोथरी मानिसका आलोचनाको बारेमा चर्चा आवश्यक देखिन्न । 

करिब दुईतिहाई संसदीय बहुमतको कम्युनिस्ट सरकारले जनतालाई निराश बनाएसंगै समाजवादप्रति खिसीटिउरी गर्नेहरुलाई धेरै मौका मिलेको छ ।

यहाँ नेपाली कांग्रेसले लेख्ने गरेको “प्रजातान्त्रिक समाजवाद” का बारेमा पनि मानिसहरूको कुनै चर्चा देखिन्न किन भने नेपाली कांग्रेस उसका दस्तावेजमा लेखिएको समाजवादप्रति कहिल्यै रत्तीभर इमानदार भएन । इमानदार हुने हो भने नेपाली कांग्रेसले डेनमार्क, स्विडेन र नर्वेजस्ता देशहरूको प्रजातान्त्रिक समाजवादी प्रयोगबाट सिक्न सक्थ्यो । आफ्नो पार्टीभित्र निक्कै सानो सङ्ख्यामा रहेको भए पनि सामाजिक प्रभाव भएको  प्रजातान्त्रिक समाजवादी तप्काका कारण नेपाली कांग्रेसले आफ्नो विधानबाट समाजवाद शब्द हटाउन सकेको छैन । वास्तवमा उ नेपाली दलाल पुँजीवादको सेवक नै हो भन्ने कुरामा कुनै शङ्का छैन । आजसम्मका उसका गतिविधिले यही सिद्ध गरेका छन् । लोकतान्त्रिक व्यवस्था जोगाउने मामिलामा मात्रै उससँगको कम्युनिस्टहरूको सहकार्य काम लाग्ने गरेको छ । यसैले नेपाली जनमतले समाजवाद प्रतिको इमानदारिताका बारेमा नेपाली कांग्रेससँग कुनै आशा वा भरोसा गरेको छैन । 

यहाँ दोस्रो  थरीका मानिसहरूको बारेमा चर्चा गर्नु आवश्यक छ । दोस्रोथरीका मानिस नै आम जनता हुन् । जनताको असन्तुष्टि भरोसा गरेको कम्युनिस्ट शक्तिसंग हो । आफूले भरोसा गरेको शक्ति नै बेइमान भएपछि जनतामा निराशा, आक्रोश र आवेग देखिन्छ । जनआवेगको सही वैचारिक तथा कार्यक्रमिक समाधान नभएका कारणले समाजवाद शब्दप्रति नै आक्रोश भएको हो भन्ने कुरा स्पष्ट छ । 

करिब दुईतिहाई संसदीय बहुमतको कम्युनिस्ट सरकारले जनतालाई निराश बनाएसंगै समाजवादप्रति खिसीटिउरी गर्नेहरुलाई धेरै मौका मिलेको छ । त्यसपछि बनेको गठबन्धन सरकारमा अहिले कम्युनिस्ट नेता प्रधानमन्त्री छन्, नेकपा (एस) र जनता समाजवादी पार्टीका पनि मन्त्री छन् । यिनीहरुबाट समेत किन समाजवादी रूपान्तरण सम्बन्धी कार्यक्रमको त्यान्द्रो पनि देखिएन भन्ने प्रश्नले नै आम जनतामा छटपटी र निराशा बढाएको हो नै । देशको अर्थतन्त्र धराशायी हुनै लाग्दा पनि सबै ठिक छ शैलीमा नेपाली कांग्रेसका अर्थमन्त्रीले ल्याएको अर्थतन्त्रको समस्या नचिन्ने बजेटका कारण जनताको आक्रोश झनै बढेको देखिन्छ । यिनै कारणहरूले गर्दा यो समाजवादी मोर्चा किन ?, यसको आवश्यकता र औचित्य के हो ? गलित–थकित वृद्ध नेताहरूको अस्तित्वरक्षाका लागि नै यो मोर्चा बनेको त हैन ? भन्ने खालका प्रश्न उठेका देखिन्छन् ।

आम जनताको एक पङ्क्तिका तर्फबाट व्यक्त आलोचना, आशङ्का र आवेगजन्य अभिव्यक्तिको विश्लेषण गर्नु अघि नेकपा(एमाले)को उच्च नेतृत्वबाट व्यक्त तिरस्कारपूर्ण आलोचनाबारे केही लेखेपछि आम जनताका प्रश्नको उत्तर खोज्नु ठिक हुने छ । 

समाजवादी मोर्चा घोषणा कार्यक्रममा कार्यकर्ताहरू उत्साहित देखिए, जुन स्वाभाविक छ तर जनतामा यतिका बढी वितृष्णा किन छ ? यस प्रश्नको आंशिक उत्तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वीकारोक्तिबाट पाउन सकिन्छ ।

कुनै पनि साँचो कम्युनिस्ट पार्टीले समाजवादी शक्तिहरूका बीचमा हुने सानोभन्दा सानो समझदारी, मोर्चा वा सहकार्यको विरोध गर्दैन । वैचारिक भिन्नता वा असमझदारीका विषय उठाउन अवश्य सकिन्छ, आलोचना गर्न सकिन्छ तर कम्युनिस्ट– समाजवादीका बीचमा सहकार्य हुन्छ भने खिसीटिउरी अवश्य पनि गरिन्न । आफैँ प्रतिगमनको भासमा डुबेको, आफ्नै बहुमतको संसद् विघटन गर्ने असंवैधानिक कार्यको महिमामण्डन गरिरहेको नेकपा(एमाले) को नेतृत्वबाट समाजवादी मोर्चा बन्ने परिघटनाको विरोध हुनु स्वाभाविकै देखिन्छ । नेकपा(एमाले) को दोस्रो–तेस्रो तहका नेताहरूको विडम्बना के छ भने उनीहरू अनौपचारिकरुपमा कुरा गर्दा प्रायजसो सबैले पार्टी नेतृत्वको अवैचारिक हठ,अहम्, व्यक्तिवादका कारणले आफ्नै बहुमतको संसद् विघटन हुनु पुगेको र सो परिघटना संविधानसम्मत नरहेको स्वीकार गर्दछन् तर त्यस विषयलाई पार्टीमा समीक्षाका लागिसमेत उठाउने आँट सम्म गर्दैनन् । यस्ताहरूले गरेको समाजवादी मोर्चा निर्माणको विषयमा  गरिएको खिसीटिउरीको बारेमा यस सानो आलेखमा यसभन्दा बढी चर्चा नगर्दा पनि हुन्छ । 

समाजवादी मोर्चा घोषणा कार्यक्रममा कार्यकर्ताहरू उत्साहित देखिए, जुन स्वाभाविक छ तर जनतामा यतिका बढी वितृष्णा किन छ ? यस प्रश्नको आंशिक उत्तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वीकारोक्तिबाट पाउन सकिन्छ । “हामी संसदीय अभ्यास गरिरहेका पार्टीहरूमा केही न केही धुलो मैलो अवश्य लागेको होला, मोर्चामा विप्लवजीको आगमनले त्यो केही पखालिन्छ कि ...” । निश्चय नै विगतमा अवतरण गरिसकिएको बाटोमा फर्कन खोजेर नसकेका विप्लवले कसैको धुलो पखाल्दिने छैनन् । आफैँ चरम विवादास्पद घटनाक्रमबाट अगाडि बढेका विप्लव र उनको पार्टीले आफ्नै धुलो पहिले धुनु पर्ने छ ।

भुटानी शरणार्थी काण्डका दोस्रो तहका नाइकेहरू त कानुनी दायरामा आए तर मुख्य अभियुक्त र ‘बोसहरू’ लाई जोगाइयो भन्ने आम जनताको मनमा गहिरोगरी छाप परेको छ ।

यतिका हन्डर–ठक्कर खाएर बनेको सरकारले जनतालाई प्रत्यक्ष राहत दिने कार्यक्रम त ल्याउन सकेन सकेन, थलिएको अर्थतन्त्रलाई उठाउने कुनै पनि ठोस कार्यक्रम ल्याउन सकेन । साना किसानदेखि विभिन्न तहका व्यवसायी उठ्नै नसक्ने गरी थलिएका छन्, त्यसतर्फ सरकारको बजेटले कुनै सम्बोधन नै गरेन । युवा–विद्यार्थीको विदेश पलायन रोक्नका लागि शब्दसमेत खर्चिएन । कालोधन बाहिर ल्याउनका लागि कुनै प्रयास गरिएन । आकासिएको महँगी र कालोबजारीका विरुद्ध कुनै कदम चालिएन । भारतीय तरकारी महँगोमा आयात हुने र नेपाली तरकारीले बजार नपाएर खेतमै सुक्ने वा बाटोमा पोख्नु पर्ने समस्याले पनि जनतामा आक्रोश छ । राजनीतिक नियुक्तिमा आफन्तवाद, भाइभतिजावाद, नियुक्तिमा रकमको चलखेल हुने समाचार लगायतका विषयहरूले जनताको आक्रोशलाई झनै बढाएका छन् । 

सरकारमा सामेल पार्टीको कार्यकर्ता भएपछि खुल्ला गुण्डागर्दीमा पनि मुद्दा नलाग्ने, जनदबाबबाट मुद्दा लागिहाले पनि सरकारले नै मुद्दा फिर्ता लिने, सबै तहका अदालतबाट दोषी ठहर भएको मानिस सत्ताधारी नेताहरूकै शब्दमा ‘क्रान्तिकारी’ घोषणा गर्दै रिहा हुनेजस्ता प्रसङ्गले जनताको आक्रोशलाई बढाएका छन् । 

भुटानी शरणार्थी काण्डका दोस्रो तहका नाइकेहरू त कानुनी दायरामा आए तर मुख्य अभियुक्त र ‘बोसहरू’ लाई जोगाइयो भन्ने आम जनताको मनमा गहिरोगरी छाप परेको छ । तत्कालीन सत्ताका मुख्य मान्छेको संलग्नता बिना यति ठुलो काण्ड गर्ने हिम्मत कुनै पनि तहको मन्त्री वा सचिवको हुँदैन भन्ने भावना सर्वत्र भेटिन्छ । यी र यस्तै विषयहरूले गर्दा वर्तमान सरकारले गरेका कतिपय साहसिक र राम्रा कामहरूले जनताको मन जित्न सकिरहेका छैनन् । देशको राजनीतिप्रति आम जनतामा नकारात्मक भावना भरिएको छ । यस्तो बेलामा नयाँ राजनीतिक परिघटना आएको छ– समाजवादी मोर्चाको गठन । 

समाजवादी मोर्चा नेपालले जारी गरेको पहिलो लिखतले केही ठोस एजेन्डा अगाडि सारेको छ । आजसम्मका कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने चाहनाले नै यो समाजवादी मोर्चा जन्माएको हो भन्नेमा कुनै विवाद छैन ।

छोटो समयको सूचनामा पनि समाजवादी मोर्चा घोषणा कार्यक्रममा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखियो । कार्यकर्ताका बीचमा देखिएको उत्साहले गर्ने सङ्केत हो– अहिले मोर्चामा सामेल दलहरूले आफूलाई सुधारेर जाने हो भने अझै पनि कार्यकर्ताहरू साथ दिन तयार छन् । हरेक दलका नेताहरूका बारेमा तिनका कार्यकर्ताहरूलाई सबैकुरा थाहा छ । को आदर्शका भाषण गर्दछ तर नम्बरी भ्रष्टाचारी छ, को गुटबन्दीको विरोध गर्दै आफैँ गुटबन्दी गर्दै हिँड्छ र इमानदार कार्यकर्तालाई भन्दा आसेपासेहरुको सल्लाहमा हिँड्छ, को परिबन्द र अभावका आँसु लुकाएर पनि इमानदारीका साथ काम गरिरहेको छ, कार्यकर्तालाई सबै थाहा छ । यति हुँदाहुँदै पनि मोर्चा गठनमा कार्यकर्ताहरू किन उत्साही देखिए त ? कार्यकर्ताहरूले नेतृत्वपंक्तिले सुदूर विगतमा गरेको त्याग र तपस्या देखेका छन् र अब सच्चिएर जालान् भन्ने आशा गरेका छन् । मोर्चा गठनबाट सम्बद्ध सबै पार्टीका कार्यकर्ताका बीचमा एकताको वातावरण बन्दै जाला, सबैतिरबाट नेताहरूलाई सही काममा प्रेरणा दिने र गलत कुराका विरुद्ध खबरदारी गर्न सकिएला भन्ने आशाका कारणले नै मोर्चा गठनबाट कार्यकर्ताहरूका उत्साह र आशा पलाएको देखिन्छ । 

पार्टी नेतृत्व र जनताका बीचको सम्बन्ध–सेतु हुन् कार्यकर्ताहरू । कार्यकर्ताहरू उत्साहित भए भने उनले सही कार्यक्रमका आधारमा जनतामा पनि उत्साह र आशा भर्न सक्छन् । 

मोर्चामा आबद्ध सबै दलका नेताहरूले बुझ्नु पर्दछ– सही वैचारिक–राजनीतिक एजेन्डाका आधारमा मात्रै पार्टीहरू जीवित हुन र विस्तारित हुन  सक्छन् । आ–आफ्ना दस्तावेजमा लेखिएका र जनताका अगाडि बोलिएका कुरामा नेताहरू आफैँ कत्तिको इमानदार छन् भन्ने कुराले नै जनताको पङ्क्ति पार्टीका नजिक आउने वा टाढा हुने अवस्था रहन्छ । अहिलेको मूलधारका कुनै पनि राजनीतिक पार्टीबाट आम जनता सन्तुष्ट छैनन् । यस तथ्यलाई मनन गरेर नयाँ सङ्कल्पका साथ अगाडि बढेमा जनताले अवश्य साथ दिने छन् । 

मोर्चामा सामेल दलहरूले अन्य दललाई समेट्न अवश्य पनि ठुलो छाती देखाउनु पर्दछ । आ–आफ्ना अहम्का कारणले अन्य कम्युनिस्ट तथा समाजवादी दललाई समेट्न कन्जुस्याइँ गर्नु हुँदैन । 

समाजवादी मोर्चा नेपालले जारी गरेको पहिलो लिखतले केही ठोस एजेन्डा अगाडि सारेको छ । आजसम्मका कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने चाहनाले नै यो समाजवादी मोर्चा जन्माएको हो भन्नेमा कुनै विवाद छैन । अहिले सत्तासमीकरणमा कुनै फेरबदल आएका कारणले वा आउन खोजेका कारणले यो मोर्चा बनेको छैन । यसैले समाजवादी मोर्चाले नेपाली विशेषताको समाजवाद निर्माणका लागि व्यापक बहस सिर्जना गर्ने र सहकार्यको दायरालाई बढाउँदै लैजाने सङ्कल्पलाई अगाडि बढाउनै पर्दछ । यसो गर्न सक्दा मात्रै नेपालका समाजवादी शक्तिहरू झनै एकताबद्ध हुने र सहकार्यको दायरा फराकिलो हुने अवस्था आउने छ । 

मोर्चा एक साझा मञ्च हो । साझा काम गर्दै आ–आफ्ना राजनीतिक–साङ्गठनिक र वैचारिक काम गर्न सबै पार्टी स्वतन्त्र छन् । मोर्चागत सहकार्यलाई सही तरिकाले अगाडि बढाउन चाहने दलले अवश्यमेव संगठन विस्तार गर्न सक्ने छन् । मोर्चा बन्दैमा भर्खरै पार्टी एकता भइहाल्ने पनि हैन, हतारिएर एकता गर्नु पनि हुँदैन । मोर्चामा सामेल सबै दलमा थोरै वा धेरै अवसरवादी प्रवृत्ति छन् । मात्रामा घटिबढी होला विकृति सबै दलमा छन् । सबै दलले आफूभित्रका विकृति–विसङ्गतिका विरुद्ध आफैभित्र संघर्ष गर्नै पर्दछ । जनता अन्तिम मौका दिने अवस्थामा अवश्य छन् । 

यो मोर्चा नेताहरूको  अस्तित्व जोगाउन हैन, समाजवादी विचारको प्रचार–प्रसारका लागि बनेको छ । यसैले मोर्चामा अहिले समावेश नभएका कम्युनिस्ट तथा प्रगतिशील शक्तिहरू यसमा समावेश भएमा नेपाली विशेषताको समाजवाद निर्माणको विमर्शलाई अझै अगाडि बढाउन सकिने छ । 

मोर्चामा सामेल दलहरूले अन्य दललाई समेट्न अवश्य पनि ठुलो छाती देखाउनु पर्दछ । आ–आफ्ना अहम्का कारणले अन्य कम्युनिस्ट तथा समाजवादी दललाई समेट्न कन्जुस्याइँ गर्नु हुँदैन । 

समाजवादी मोर्चामा सामेल दलहरूको जनताप्रतिको जिम्मेवार व्यवहार र कार्यशैलीले मात्रै उठेका प्रश्न र आलोचनाहरूको उत्तर दिन सक्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. विजयकुमार पौडेल
डा. विजयकुमार पौडेल
लेखकबाट थप