सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : विपद् प्रभावित ८ किसानलाई ५४ लाख क्षतिपूर्ति

सोमबार, ०४ असार २०८०, १७ : ४२
सोमबार, ०४ असार २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले प्राकृतिक वा अप्राकृतिक रुपमा भएको कृषि उपज तथा पशुपन्छीको क्षति बापत कृषकहरुलाई राहत रकम वितरण गर्ने निर्णय गरेको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विपद्बाट असर परेका कृषकलाई ५४ लाख ६१ हजार रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम वितरण गर्ने निर्णय गरेको हो ।

मन्त्रालय मातहत रहेको राहत व्यवस्थापन तथा निर्देशन समितिको आइतबार बसेको बैठकले कृषकको निवेदनका आधारमा अनुगमन तथा जाँचबुझ गरेर राहत रकम वितरण गर्ने निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा रहेको उक्त समितिले कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका किसानका लागि प्रदेशमा स्थापना गरेको कोषबाट राहत रकम वितरण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले पहिलो पटक विपद्बाट क्षति व्यहोरेका कृषकलाई राहत रकम वितरण गर्ने निर्णय गरेको हो । पहिलो चरणमा काभ्रे जिल्लाका ८ वटा फर्मलाई मन्त्रालयले उक्त रकम उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

मन्त्रालयले बीमा गरेका पशुपन्छी तथा कृषि बालीमा राहत रकम नदिने गरी निर्माण गरेको राहत वितरण कार्यविधि कार्यान्वयन गरिएको कँडेलको भनाइ छ ।

‘कार्यविधि अनुसार क्षति व्यहोरेका कृषकलाई अधिकतम १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था छ । सोही अनुसार कृषकको निवेदन, प्रहरीको मुचुल्का, जिल्ला राहत सिफारिस समितिको सिफारिसका आधारमा अनुगमन तथा जाँचबुझ गरेर पहिलो चरणमा ८ जना कृषकलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।

प्रदेशका १३ जिल्लाबाट क्षति व्यहोरेका ४० वटा निवेदन प्राप्त भएकोमा पहिले प्राप्त भएका निवेदनलाई प्राथमिकतामा राखेर राहत वितरणको काम अघि बढाइएको कँडेलले जानकारी दिए ।

समितिको निर्णय अनुसार पहिलो चरणमा काभ्रेको टिम भिजन एग्रिकल्चर फर्म पनौती–५, श्रेष्ठ बंगुर फर्म पनौती–१०, उन्नति हाम्रो बंगुर फर्म पनौती–१०, एसएस बंगुर माछा तथा कृषि फर्म बनेपा–७ लाई १०÷१० लाख रुपैयाँ राहत रकम उपलब्ध गराइने उनले बताए ।

त्यस्तै समितिले नोबेल कृषि फर्म धुलिखेललाई ५ लाख ७० हजार रुपैयाँ, हाम्रो माझीफेदा पशुपालन तथा कृषि फर्म चौरीदेउराली–३ काभ्रेलाई ३६ हजार रुपैयाँ, दाजुभाइ एकीकृत बहुउद्देश्यीय कृषि फर्म पनौती–९ लाई ३५ हजार रुपैयाँ, गैरीगाउँ कृषि तथा पुशपंक्षी फर्म पनौती–५ लाई ८२ हजार रुपैयाँ राहत रकम प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रालयमा हालसम्ममा काभ्रेका ८, चितवनका १०, मकवानपुरका ८, ललितपुरका ६, धादिङ, दोलखा, सिन्धुपाल्चोकका २÷२ र नुवाकोट र सिन्धुलीका १÷१ वटा गरी कुल ४० वटा निवेदन राहत रकम माग गर्दै दर्ता भएको उनले बताए ।

यसअघि संघ सरकारले बर्डफ्लुबाट प्रभावित किसानलाई मात्र राहत रकम दिने गरेको थियो । त्यसमा प्रदेशले समन्वय गर्ने गरेको थियो । अहिले प्राकृतिक तथा अप्राकृतिक विपद्बाट असर परेका कृषकलाई क्षतिपूर्ति उपलब्ध गराएको कँडेल बताउँछन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि सो कोषमा ३ करोड रुपैयाँ बजेट राखेको छ । सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा सो कोष सञ्चालनका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप