प्रहरी नियन्त्रणमा रहेका त्रिविका उपप्राध्यापक चलाउने रिहा, भिसी कार्यालय अगाडि अनसन बस्ने तयारी
काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउन रिहा भएका छन् । आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा उनी सोमबार अदालतमा पुगेका थिए ।
त्यही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो । उनलाई अभियन्ता गणेश थापाको रोहबरमा प्रहरीले छाडेको हो । रिहा भएका चलाउनेले आजैदेखि अनसनमा बस्ने बताएका छन् । त्यसका लागि साँझ पौन ५ बजे त्रिवि उपकुलपतिको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर अनसनमा बस्ने उनको भनाई छ ।
जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । त्यसको विरुद्धमा उनी आमरण अनसन बस्न लागेका हुन् ।
आफूमाथि ज्यान मार्न आएकाहरूलाई राज्यले बचाउन लागेको र अदालतले समेत न्याय नदिएको भन्दै आफू अन्तिम विकल्पको रूपमा अनसनमा बस्न लागेको उनले बताए ।
२० असोज २०७७ मा नेविसंघका त्रिवि जिल्ला अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायतको समूहले उनीमाथि आक्रमण गरेको थियो । उनीहरूको आक्रमणबाट चलाउने गम्भीर घाइते भएका थिए ।
कुटपिटपछि चलाउनेले ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका थिए । उनीहरूलाई अदालतले धरौटीमा रिहा गरेको थियो । उक्त मुद्दाको अझै पनि फैसला हुन सकेको छैन । अदालतमा रहेको मुद्दामा फैसला हुन नपाउँदै सरकारले मुद्दा नै फिर्ता लिने निर्णय गरेको हो ।
अदालतबाट समेत न्याय नपाएको भन्दै आफू बाध्य भएर अनसनको बाटोमा लागेको उनको भनाई छ । उनले भने, 'अदालतमा विचाराधीन रहेको मुद्दा शक्तिको आडमा फिर्ता लिने कुरा मेरो लागि स्वीकार्य छैन । यो देशको विधिको शासन र लोकतन्त्र नै खतरामा छ । शक्ति र पावरको भरमा राजनीतिक गुन्डाहरूलाई राज्यले बचाउन लागेको छ ।'
चलाउनेमाथि अध्यक्ष आचार्य र सचिव रावलको योजनामा रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले आक्रमण गरेका थिए । प्रहरीले अनुसन्धान गर्दै उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यसअनुसार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो ।
तर, अदालतले आचार्य र रावल बाहेक अन्यलाई जनही २० देखि ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।