बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : १० महिनामा पनि किन बनेन सञ्चालन कार्यविधि ?
बुटवल । गत वर्ष भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ।
तर, उद्घाटनको १० महिना बितिसक्दा पनि सरकारले केन्द्र सञ्चालनको लागि कार्यविधि ल्याउन लागि चासो देखाएको छैन । यसले ठुलो लगानीमा निर्माण भएको केन्द्रमा गतिविधि शून्यजस्तै भएको छ ।
कार्यविधि नबन्दा सम्मेलन केन्द्रमा रहेका १४ हलमध्ये हाल एउटा हलमात्र सञ्चालन गरिएको छ । त्यसमा पनि १० महिनामा जम्मा ८ वटा मात्र कार्यक्रम भएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए ।
उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार गरी सञ्चालनमा ल्याउन चासो नदेखाउँदा आलोचना सुरु हुन थालेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत बुटवल–१० मा साढे ६ बिघा क्षेत्रफलमा एक अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको केन्द्रको मुख्य हल एक हजार सिट क्षमताको छ ।
बुटवल उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष हरिप्रसाद अर्यालले धेरै खर्चेर निर्माण गरिएको हल सञ्चालनको लागि सरकारले कार्यविधि बनाउने बहानामा महिनौँसम्म त्यतिकै राख्दा खर्च वृद्धि भएको बताए ।
उनले भने, ‘कुन मोडलमा कसरी चलाउने भन्ने पहिल्यै फाइनल गर्न सक्नु पर्थ्यौ । उद्घाटन भएको यतिका समयसम्म पनि कार्यविधि बन्दैन, कस्तो लज्जास्पद ?’
अहिले हल कसरी चलाउने भन्ने स्पष्ट नभएपछि सञ्चालन भन्दा पनि हलको चाबी खोलिदिने कार्य मात्र भएको प्रमुख पन्थीले बताए ।
उनले भने, ‘हामीले अन्य सेवा दिने अवस्था छैन । त्यत्तिकै राख्दा झन् बिग्रने डर भएकाले कार्यक्रम गर्न आएकालाई सामान्य शुल्कमा दिने गरेका छौ ।’
यो हल सञ्चालन सम्बन्धमा सहरी विकास, अर्थ मन्त्रालयबीच पटक पटक छलफल भएको थियो । बुटवलसहित देशका अन्य साना तथा ठुला हलहरूको सञ्चालन कुन मोडलमा जाने भन्ने यकिन गर्न स्पष्ट कार्यविधि अझै नभएको सहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीप परियारले बताए ।
मन्त्रालयका प्रवक्ता परियारले यसबारे भवन विभागका इन्जिनियर माचकाजी महर्जनको नेतृत्वमा एउटा टिम बनाएर अध्ययन भइरहेको बताए । प्रतिवेदन आएपछि मात्रै हल सञ्चालन प्रक्रिया अगाडि बढ्छ । उनका अनुसार केन्द्रको रेखदेख र सरसफाइमा अहिले मासिक १२ लाख रुपैयाँ खर्च भइरहेको छ ।
इकाई प्रमुख पन्थीका अनुसार बिजुली, सरसफाइदेखि अन्य विविध शीर्षकमा मासिक १२ लाख खर्च हुने गरेको छ ।
काठमाडौँ उपत्यका बाहिरको यो पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो । आकाशबाट हेर्दा नेपालको झन्डा आकारमा निर्माण गरिएको सम्मेलन केन्द्रको मुख्य हलमा बल्कोनी र भुइँतलामा गरी ८ सय ७२ वटा कुर्सी जडान गरिएको छ ।
यस्तै, यो सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुईवटा लेक्चर हल तथा ८० र ३०० क्षमताको सेमिनार हल पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
-
कृष्ण सेन ‘इच्छुक’का तीन कविता
-
काठमाडौँमा तीनसहित पाँच जना मृतावस्थामा फेला
-
ओली सरकार एक रातमै ढल्न सक्छ : विप्लव