मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

आइतबार, ०३ असार २०८०, २० : ४५
आइतबार, ०३ असार २०८०

आज २०८० असार ३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा समाजवादी मोर्चाको खाका तयार, पूर्वी भागमा बाढी–पहिरो, आफ्ना पार्टीका प्रदेश सांसदलाई ओलीको निर्देशन– कोशीबाहेकको बजेट यथास्थितिमा पारित नगर्नु, एमालेमा सामेल हुन वामदेवको शर्त ः ओलीपछिको वरीयता, उचित मूल्य नपाएको विरोधमा किसानले बजारमै ल्याएर फाले टमाटर, बालेनले काठमाडौं महानगर क्षेत्रभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाए लगायत छन् ।

१. समाजवादी मोर्चाको खाका तयार
लामो समयदेखि चर्चा गरिँदै आएको समाजवादी मोर्चा गठनका लागि खाका तयार भइसकेको छ । सोमबार मोर्चा गठनको औपचारिक घोषणा हुने जनाइएको छ । सत्तामा रहेका तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल तथा संसदीय राजनीति बाहिर रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा बनाइएको हो ।

२. पूर्वी भागमा बाढी–पहिरो
देशको पूर्वी भागमा बाढी–पहिरोले जनधनको क्षति भएको छ । मनसुनी वर्षाको प्रभावका कारण पूर्वी क्षेत्रमा बाढी–पहिरोले जनजीवन प्रभावित भएको छ ।

३. आफ्ना पार्टीका प्रदेश सांसदलाई ओलीको निर्देशन– कोशीबाहेकको बजेट यथास्थितिमा पारित नगर्नु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका विभिन्न प्रदेशका सांसदलाई यथास्थितिमा बजेट पारित नगर्न निर्देशन दिएका छन् । आइतबार भर्चुअल माध्यमबाट प्रदेशसभा सदस्यहरुसँग छलफल गर्दै कोशीबाहेक अन्य प्रदेशका बजेट यथास्थितिमा पारित नगर्न ओलीले निर्देशन दिएका हुन् । 

४. एमालेमा सामेल हुन वामदेवको शर्त : ओलीपछिको वरीयता
पछिल्लो समय नेकपा एकता राष्ट्रिय अभियानमार्फत आफ्ना राजनीतिक गतिविधि गर्दै आएका वामदेव गौतम एमालेमा सामेल हुन तयार भएका छन् । तर उनले एमालेमा आफूलाई अध्यक्ष केपी शर्मा ओलीपछिको वरीयता दिनुपर्ने शर्त राखेका छन् । 

५. उचित मूल्य नपाएको विरोधमा किसानले बजारमै ल्याएर फाले टमाटर
किसानले उचित मूल्य नपाएको भन्दै कालिमाटीस्थित तरकारी बजारमा ल्याएर गोलभेँडा फालेका छन् । लागत मूल्य पनि नउठेको भन्दै किसानले सडकमा गोलभेँडा फालेका हुन् ।

६. बालेनले काठमाडौं महानगर क्षेत्रभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाए
भोलिदेखि काठमाडौं महानगरपालिका क्षेत्रमा भारतीय चलचित्र प्रदर्शन निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको बताएका हुन् । 

७. बालेनको चेतावनीपछि सामुदायिक विद्यालय निर्वाध सञ्चालन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चेतावनीपछि महानगर भित्रका सामुदायिक विद्यालय निर्वाध रूपमा सुचारु भएका छन् । सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय कर्मचारीहरूले आजदेखि सामुदायिक विद्यालय बन्द आह्वान गरे पनि काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालय भने निर्वाध रूपमा खुलेका हुन् ।

८. १६ दिनपछि सर्वोच्च अदालतको इजलासमा बसे कार्की
जेठ १७ गतेपछि इजलासमै नबसेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु भएलगत्तै सर्वोच्च अदालतको इजलास छाडेका कार्की प्रधानन्यायाधीशमा नियुक्त भएपछि इजलासमा बसेका हुन् ।

९. अख्तियारका प्रमुख आयुक्त भन्छन्– भ्रष्टाचार नियन्त्रणको पहिलो जिम्मेवारी सरकारको
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रमुख आयुक्त राईले सरकारले सुशासन कायम गर्ने प्रयास गर्नुपर्ने बताएका हुन् ।

१०. योगेश भट्टराईलाई ताप्लेजुङ प्रवेशमा रोक
नेकपा एमालेका सचिव योगेश भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा निषेध गरेका छन् । ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै निषेध घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप