बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
विपद्

१० वर्षयता विपद्का घटनामा १३ हजार ७४५ को मृत्यु, ४१ अर्ब ६० लाख रुपैयाँको क्षति

उद्धारका लागि सैनिक हेलिकप्टरदेखि सशस्त्रका गोताखोरसम्म
आइतबार, ०३ असार २०८०, १९ : २१
आइतबार, ०३ असार २०८०

काठमाडौँ । कोशी प्रदेशमा गए रातिदेखि अविरल वर्षापछि आएको बाढी र पहिरोमा दुई जनाले ज्यान गुमाए भने २८ जना बेपत्ता छन् ।

संखुवासभा, ताप्लेजुङ र पाँचथरमा गएरातिको वर्षाका कारण बाढी र पहिरोले वितण्डा मच्चाएको छ । प्रभावित क्षेत्रमा सुरक्षा निकाय र स्थानीयले बेपत्ता मानिसहरुको खोजी गरिरहेका छन् ।

गृह मन्त्रालयमा आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई डाकेर विपद्मा परेका स्थानीय बासिन्दाको उद्धार र राहतमा ध्यान दिन निर्देशन दिए । उनले विपद् जोखिममा परेका र पर्नसक्ने जिल्लाहरुमा २४ सै घण्टा ‘तयारी अवस्था’ मा रहनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन गृहसचिव दिनेश भट्टराईलाई भनेका छन् ।

विशेषगरी पूर्वी पहाडी क्षेत्रमा खहरे खोलामा आएको पहिरोले बर्सेनि दर्जनौं सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । मधेस प्रदेशमा भने बाढीको वितण्डापछि सयौँ घरपरिवार विस्थापित हुन पुग्छन् ।

मनसुन सुरु भएसँगै विपद्का घटना बढ्दै जान्छन् । बर्सेनि विपद्मा परेर १३ सयभन्दा बढी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । प्राधिकरणका अनुसार २०७० वैशाख १ देखि २०७९ चैत ३० सम्म (१० वर्षको अवधि) मा कुल ३० हजार २ सय ९८ वटा विपद्का घटना भएका थिए । ती घटनामा १३ हजार सात सय ४५ सर्वसाधारणले ज्यान गुमाएका छन् भने एक हजार ५३ जना अझै बेपत्ता छन् । त्यसैगरी ३४ हजार ५ सय ७१ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार विपद्मा परेर १० वर्षमा एक लाख ३४ हजार ७२५ परिवार विस्थापित भएका थिए । विपद्का घटनामा परेर ३ लाख ५९ हजार ९८७ वटा घरमा आंशिक क्षति, ८ लाख ७ हजार १८१ वटा घरमा पूर्ण क्षति र ७ हजार ४१९ वटा गोठमा क्षति भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विपद्मा परेर १२ हजार ५९७ वटा पशुचौपायाको क्षति भएको छ ।

१० वर्षमा ४१ अर्ब ६० करोड ४३ लाख ६७ हजार ३७१ रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नेपालमा हुने कुल वार्षिक वर्षाको लगभग ८० प्रतिशत मनसुनी वर्षा हुन्छ । मनसुनी वर्षा जेठदेखि असोजसम्मको चार महिनाको अवधिलाई लिइन्छ । बाँकी २० प्रतिशत वर्षा हिउँदको ८ महिनामा पश्चिमी वायु र स्थानीय वायु प्रणालीका कारण हुने गर्दछ ।

छोटो अवधिमा निरन्तर र ठूलो मात्रामा वर्षा हुँदा यसले विपद्को रूप लिने गर्दछ । नेपाल प्राकृतिक रूपमै कमजोर भौगोलिक बनावट, भिरालोपना, नदीनालाको सञ्जालका कारण नेपाल मनसुनजन्य प्रकोपको संकटासन्न अवस्थामा छ । जलवायु परिवर्तनको प्रभाव तथा अव्यवस्थित विकास निर्माणले मनसुनजन्य विपद् जोखिम अझ बढ्दो अवस्थामा रहेको प्राधिकरणका प्रवक्ता ध्रुव बहादुर खड्काले बताए ।

उनका अनुसार मनसुनको समयमा बाढी, पहिरो, डुबान, कटान जस्ता जलोत्पन्न विपद्बाट ठूलो जनधनको क्षति हुने गरेको छ । खासगरी पहाडका फेदी र तराईमा जलाधार क्षेत्रबाट बगेर आएको बालुवा र गेग्रान थुप्रिनाले बस्ती तथा खेतीयोग्य जमिन नष्ट भइरहेको छ ।

प्रवक्ता खड्काका अनुसार पहाडका बेसी, भित्री मधेस तथा तराई क्षेत्रमा नदी किनारामा कटान तथा डुबानको जोखिम बर्सेनि बढ्दै आएको छ । यसको मुख्य कारण नदीका जल प्रवाह मार्गमा अतिक्रमण र बाढी प्रभावित तथा जलाधार क्षेत्रमा भूमिको अव्यवस्थित प्रयोग रहेको उनी बताउँछन् ।

खड्काले भने, ‘खोला, खहरे, नदीनालाको बहाव क्षेत्रको अतिक्रमण, अव्यवस्थित ढल निकास, सहरी क्षेत्रमा बिना योजनाका सडक निर्माण, उत्खनन् र बस्ती विकासका कारण पनि बाढीको जोखिम बढिरहेको छ ।’

प्राधिकरणका अनुसार पहाडमा भएका डोजरे विकासले पनि पहिरो र भूक्षयको जोखिम बढ्ने देखिन्छ ।

सरकारको तयारी के छ ?

गृह मन्त्रालयका अनुसार तीन वटै सुरक्षा निकायका रिजर्भ फोर्स र इन्जिनियरलगायत प्राविधिक बाहेक खोज उद्धारका लागि ११ हजार ६ सय ६४ जना तालिम प्राप्त खोज÷उद्धार जनशक्ति तैनाथ अवस्थामा छन् ।

सशस्त्रका ७४ जना गोताखोरलाई पनि खोज/उद्धारमा लगाइने मन्त्रालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टर समेत तैनाथ अवस्था राखिएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापनका लागि संरचना तयार छन् ।

विपद् प्रतिकार्य संयन्त्र र प्रक्रिया तयारी अवस्थामा राखिएको छ । सातवटै प्रदेशमा रहेका खोज उद्धार जनशक्ति, उपकरण तथा सामग्रीको विवरण अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार बाढी पहिरोको कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि सुरक्षा निकायहरू, सडक विभाग, सिँचाइ तथा जलस्रोत विभाग मातहत रहेका हेभी उपकरणहरू देशका विभिन्न स्थानमा तैनाथ अवस्थामा राखिएको छ ।

काठमाडौँ र सात वटै प्रदेशका विभिन्न ११ मानवीय सहायता केन्द्रमा बन्दोबस्तीका सामग्रीहरूको प्रबन्ध मिलाइएको जानकारी प्रवक्ता बस्नेतले दिए । उनका अनुसार मानवीय सहायता स्थल र ७ वटा प्रादेशिक गोदाम घरबाट खोज उद्धार तथा राहत सामग्रीहरू आवश्यकता अनुसार पठाउने प्रबन्ध मिलाइएको छ ।

मन्त्रालयका अनुसार दैवी प्रकोप र विपद् कोषमा ६ अर्ब तीन करोड रुपैयाँ जम्मा भएको छ । आवश्यकता हेरेर कोषमार्फत खर्च गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बस्नेतका अनुसार विश्व खाद्य कार्यक्रमको सहयोगमा उपलब्ध गराइएको ३६ वटा इन्फ्लेटेबल र पाँच वटा आल्मुनियम डुंगा (आउटबोर्ड इन्जिनसहित) रणनीतिक रुपमा बाढीको जोखिममा रहेको १५ जिल्लामा भण्डारण गरिएको छ ।

डुंगाहरु बाँके, कैलाली, कपिल्वस्तु, नवलपरासी, बारा, पर्सा, सप्तरी, सिराहा, रौतहट, बर्दिया, रुपन्देही, मोरङ, उदयपुर चितवनस्थित सशस्त्र प्रहरी विपद् तालिम शिक्षालय, नुवाकोट र बैतडीमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

१२ लाख ५४ हजार प्रभावित हुने अनुमान

यसवर्ष १२ लाख ५४ हजार सर्वसाधारण मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने आकलन प्राधिकरणले गरेको छ । विगतमा भएका विपद्का घटनाको मूल्याङ्कनका आधारमा प्रभावित हुनसक्ने जनसंख्याको एक तिहाइ ४ लाख १८ हजार ६० जना र ९५ हजार ६६ सय ६५ घरधुरीलाई पुग्ने खाद्यान्न लगायत मानवीय सहायताको आवश्यकता पर्ने प्राधिकरणले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप