शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनी राइडर्सको जित

आइतबार, ०३ असार २०८०, १६ : ३४
आइतबार, ०३ असार २०८०

काठमाडौं । सप्तरीको राजविराजमा ‘सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’को पाँचौं संस्करण आइतबारदेखि सुरु भएको छ । सप्तरी जिल्ला क्रिकेट संघले आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज दि किङ्सलाई १५ रनले हरायो ।

पब्लिक विन्देश्वरी स्कुलको मैदानमा सम्पन्न खेलमा रुपनीले राइडर्स दिएको एक सय ५१ रनको लक्ष्य पछ्याएको राजविराज दि किङ्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रनमात्र बनाउन सक्यो । 

राजविराज दि किङ्सका लागि बिक्रम सोबले सर्वाधिक ३४ रन बनाए । तृतराज दासले ३३ र अभिषेक कार्कीले २९ रन जोडे । रुपनीका बलर फिर्दोश अंसारीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १९ रन खर्चिएका थिए । धिरज मण्डलले दुई तथा जितेन्द्र मुखिया, अशोक मेहता र दिपेश कंडेलले एक÷एक विकेट हात पारे । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको रुपनीले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५० रन बनाएको थियो । रुपनीका लागि प्लेयर अफ दि म्याच घोषित फिर्दोश अंसारीले सर्वाधिक ६१ रनको योगदान गरेका थिए । उनले ४९ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए ।

यसैगरी रुपनीको खातामा रोहन बिकले ३३ र विकास दासले २० रन थपेका थिए । ३१ रनको कुल स्कोरमा तीन विकेट गुमाएको अवस्थामा फिर्दोश र रोहनले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै रुपनीको पाली सम्हालेका थिए ।

राजविराजका बलर बिक्रम सोबले दुई विकेट लिए । दिपेश सरदार, तृतराज दास र सोहेल खानले पनि एक÷एक विकेट लिए हात पारेका थिए । प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । सोमबारको पहिलो खेलमा रुपनी राइडर्सले बलान बिहुल सुपर किङ्सको सामना गर्नेछ । छिन्नमस्ता लाइन्स र बजाज खडक वारियर्सबीच दोस्रो खेल हुनेछ ।

प्रतियोगिताको उद्घाटन समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इशरत पर्विन, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, नेपाल क्रिकेट संघका पूर्वकोषाध्यक्ष शैलेशकुमार चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवनकुमार देव, राजविराज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल र वडा नम्बर ५ का अध्यक्ष बन्दुलाल दासको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप