आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आदिपुरुष फिल्मका लेखक भन्छन्, ‘१९०३ अघि नेपाल भारतकै अंश थियो’

आइतबार, ०३ असार २०८०, १० : २९
आइतबार, ०३ असार २०८०

डायलगलाई लिएर नेपालमा मात्रै नभई भारतमा समेत विवादित बनिरहेको भारतीय फिल्म आदिपुरुषका लेखकले नेपालबारे अर्को तर्क पेस गरेका छन् । उनले नेपाल भारतकै अंश भएको बताएका छन् । 

भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले आदिपुरुषलाई लिएर नेपालमा भइरहेको विरोधलाई आफूले बुझ्न नसकेको पनि बताएका छन् । उनले नेपाल भारतबाट अलग नभएका कारण सीता भारतकै ‘बेटी’ भएको दाबी गरेका छन् । उनले राष्ट्रको रूपमा नेपाल भारतबाट अलग नभएको पनि बताएका छन् । 

उनले भनेका छन्, ‘नेपालको विरोध मैले बुझ्न सकिरहेको छैन किनभने नेपाल भारतको अंश थियो । त्यसैले हामीले सीतालाई ‘भारतकी बेटी’ भनिरहँदा नेपाल भने भारतबाट अलग थियो र ?’

उनले थपेका छन्, ‘नेपाल त १९०३ मा भारतबाट अलग्गिएको थियो । नेपाल त ठ्याक्कै भारत जस्तै थियो । नेपाल भारत नै थियो, त्यो हिसाबले सीता भारतकै ‘बेटी’ थिइन् ।’

यसै कारणले उनले नेपालीको विरोध बुझ्न नसकेको बताए । उनी भन्छन्, ‘तर यदि कसैलाई चित्त बुझिरहेको छैन भने पनि उनीहरू हाम्रा भाइ नै हुन् । हामी जस्तै हुन् । म नेपालीलाई आफूभन्दा फरक नै मान्दिनँ । त्यसैले उहाँहरूलाई कुनै कुरा चित्त बुझिरहेको छैन भने यसबारे मसँग कुरा गर्न सक्नुहुन्छ र त्यसपछि म ‘यहाँ जुन समयको कुरा भइरहेको छ, त्यति बेला सीता भारतकै छोरी थिइन्’ भनेर बुझाउने थिएँ ।’

उनले अन्तिममा थपेका छन्, ‘राष्ट्रको रूपमा नेपाल र भारत अहिले पनि अलग छैनन्, भलै देशको रूपमा अलग होलान्, सीमाहरु अलग भए पनि । तर राष्ट्रियताको रूपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप