बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

युगान्डाको स्कुलमा आईएससम्बद्ध विद्रोहीको आक्रमण, विद्यार्थीसहित ४० जनाको मृत्यु

शनिबार, ०२ असार २०८०, २० : ४४
शनिबार, ०२ असार २०८०

युगान्डा । पश्चिमी युगान्डाको एक स्कुलमा ईस्लामिक स्टेट (आईएस) सम्बद्ध विद्रोहीहरूले गालाबारी गर्दा कम्तिमा ४० जनाको मृत्यु भएको छ । मारिने अधिकांश विद्यार्थीहरू रहेको बताइएको छ । एम्पोन्डवीमा रहेको लुबिरिहा माध्यमिक विद्यालयमा भएको सो आक्रमणमा ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मारिनेमा आफ्नो डोर्मिटोरीमा बसिरहेका छात्रहरू रहेका छन् । छात्राहरूलाई भने अपहरण गरिएको अधिकारीहरूले बताएका छन् । कङ्गोमा रहेको द एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) लाई यस घटनामा जिम्मेवार मानिएको छ ।

घटना शुक्रबार राति करिब ११ः३० बजे घटेको थियो । ५ जना विद्रोहीहरूले यो घटना घटाएको युगान्डाको सेनाको भनाई छ । उनीहरूले विद्यालयमा आगजनी गर्नुका साथै खाद्यान्न समेत लुटेर लगेका छन् ।

घटनामा बच्न सफल प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले डोर्मिटोरीमा बम प्रहार गरेपछि विद्यार्थीहरूमाथि अन्धाधुन्ध धारिला हतियार प्रहार गरेका थिए । केही विद्यार्थीहरूलाई जिउँदै जलाइएको थियो । 

मारिने विद्यार्थीहरूको उमेर खुल्न सकेको छैन भने जलाइएकाहरूको शव पहिचान गर्नका लागि डीएनए परीक्षण गर्ने तयारी गरिएको छ ।

सेनाले विद्रोहीविरुद्ध अभियान सुरु गरेको छ । यसका लागि हेलिकप्टरहरू परिचालनसमेत गरिएको छ । एडीएफ सन् १९९० ताका स्थापना गरिएको थियो । राष्ट्रपति योवेरी मुसेभेनीले मुस्लिम समुदायमाथि अत्याचार गरेको भन्दै उनीहरूले सशस्त्र विद्रोह सुरु गरेका थिए । युगान्डाको कूल जनसङ्ख्याको १४ प्रतिशत मुस्लिम रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप