आरतीको हत्या कि आत्महत्या ? निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै माइतीपक्षको धर्ना
काठमाडौँ । गत जेठको ७ गते साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइन नगरपालिका, ८ का विनोद प्रसाद साहलाई उनकै सम्धीको नम्बरबाट फोन आयो — आरती (विनोद साहकी छोरी) बेहोस भएकाले जनकपुरको काव्या अस्पताल ल्याएका छौँ, आउनुपर्यो ।
सन्धीको फोन पाएलगत्तै विनोदले जनकपुरमा बसेर अध्ययन गरिरहेकी आफ्नी कान्छी छोरी मनिषा साहलाई अस्पताल पठाए र आफू श्रीमतीसहित टेम्पो चढेर ८ किलोमिटर टाढा रहेको जनकपुर पुगे ।
अस्पताल पुगेकी मनिषाले दिदी (आरती)लाई बेहोस् भएको जस्तो देखेपछि आमालाई फोन गरेर बताइन् । आमाले फोनबाटै आरतीका गोडाहरू छाम्न भनिन्, मनिषाले आरतीका गोडाहरु कक्रक्क परेको बताएपछि आमाले रुँदै फोन काटिन् ।
मनिषाले काव्या अस्पतालका डाक्टरसँग आरतीको अवस्थाबारे बुझिन् । जवाफ पाइन् — अस्पताल ल्याउँदा आरतीको मृत्यु भइसकेको थियो ।
त्यसको केही समयमा प्रहरी पनि अस्पताल आइपुग्यो र सोधपुछ सुरु गर्यो । सोधपुछपछि आरती साहका ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी र श्रीमान् मोती बाबु साहले घरमै झुन्डिएको अवस्थामा आरतीलाई फेला पारेकाले उद्धार गरी अस्पताल ल्याएको तर अस्पताल ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको भनी घोषणा गरेको बताए । त्यसपछि घटनास्थल गएर प्रहरीले मुचुल्का तयार पार्यो । घरको एक कोठाको सिलिङ फ्यानमा एउटा सल भेटिएको थियो, जसको प्रयोग गरी आरतीले झुन्डिएर आत्महत्या गरेको बताइयो ।
आरतीको घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ थियो भने गाला र शरीरका अन्य भागमा पनि विभिन्न घाउ थिए । आरतीका माइती पक्षलाई भने उक्त घटना आत्महत्या नभएर हत्या नै भएको शंका भयो । त्यसपछि उनीहरूले प्रहरीमा आरतीका ससुरा र श्रीमानविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिन खोजे ।
सुरुमा धनुषा प्रहरीले आरतीको माइतीपक्षबाट आएको जाहेरी दर्ता गर्न मानेन । घटना हेर्दा आत्महत्याजस्तो देखिएकाले बरु आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न सकिने प्रहरीको भनाइ थियो । पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी दर्ता नगर्ने पनि प्रहरीले बताएको थियो ।
जेठ ८ गते अपराह्न १ बजे आरतीको शवको पोस्टमार्टम भयो । रिपोर्टले झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने भन्यो । साथै त्यही रिपोर्टमा गालामा चोट भएको र चोट भित्री भागसम्म भएको उल्लेख थियो । यही आधारमा कुटपिट गरी हत्या भएको दाबी गर्दै आरतीका माइतीपक्ष प्रहरीमा जाहेरी दर्ता गर्न गए, फेरि पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेन । प्रहरीलाई दबाब दिन उनीहरुले जिल्ला प्रहरी कार्यालयअगाडि शव राखेर आन्दोलन गरे । प्रहरीले कर्तव्य ज्यानमा जाहेरी दर्ता गरेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि मात्र शवको दाहसंस्कार गरियो ।
दाहसंस्कार सकिएलगत्तै प्रहरीले आरतीका ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी र श्रीमान मोती बाबु साहलाई पक्राउ गर्यो । अनुसन्धानका क्रममा मोतीबाबु साहले बयान दिए — म दिनभर बाहिर गएर साँझ ५ बजेतिर घर पुगेको थिएँ । ढोकाभित्रबाट चुकुल लगाइएको थियो । तीन–चारपटक ढकढक गर्दा पनि ढोका नखुलेपछि बाहिरबाट लात्तीले हानेर ढोका फुटालेर भित्र पसेँ । भित्र आरती झुन्डिएको अवस्थामा देखेपछि हतारहतार उचालेर सल खोली खाटमा राखेँ । त्यसपछि बुवालाई बोलाएर उपचारका लागि अस्पताल पुर्यायौँ तर अस्पतालले मृत्यु भइसकेको बतायो ।
बयानकै क्रममा मोतीबाबुले झगडा हुँदा सोही दिन आफूले आरतीलाई तीन–चार थप्पड हानेको समेत बताएका छन् ।
मोतीबाबुका बुवा तथा आरतीका ससुराले पनि आफू छोरा–बुहारीको कोठामा पुग्दा बुहारी अचेत अवस्थामा देखेपछि उपचारका लागि अस्पताल लगेको बयान दिएका छन् ।
जेठ ७ गते साँझ ५ः१५ बजे सलको पासो लगाएको अवस्थामा आरतीलाई फेला पारिएको र अचेत अवस्थामा रहेको भनिए पनि जेठ ८ गते अपराह्न १ बजेको आएको पोस्टमार्टम रिपोर्टमा आरतीको मृत्यु २४ देखि ३६ घन्टा पहिले भइसकेको भनी उल्लेख छ ।
यता माइती पक्षले आरोप लगायो — दाइजोको निहुँमा आरतीमाथि पटकपटक कुटपिट हुने गरेको, कुटपिट गरेरै हत्या गरिएको र हत्यालाई आत्महत्या बनाउन झुन्डिएको भनी बहाना बनाइयो ।
सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही हुनुपर्ने माइती पक्षको माग थियो ।
विवाह नै धोकाधडीबाट
आरती साह औसतमा राम्री युवती थिइन् र तत्कालीन समयमा जनकपुरमा बीबीए दोस्रो वर्षमा अध्ययनरत थिइन् । २०७८ असारमा आरती र मोतीबाबुको मागी विवाह भएको थियो । विवाह गर्दा आरतीको उमेर २० र मोतीबाबुको उमेर ३० वर्ष थियो ।
विवाहअघि केटा पक्षले मोतीबाबु पेसाले इन्जिनियर भएको बताएको थियो । केटी पक्षले विवाहमा लागेको केटा पक्षको खर्च पनि बेहोरेका थिए, विवाहमै २५ लाख रुपैयाँ खर्च भएको केटीपक्षको भनाइ छ । यद्यपि पर्याप्त दहेज (दाइजो) नआउने भन्दै केटापक्षले सुरुदेखि नै आरतीलाई दबाब र यातना दिन थालेको र तत्कालै एउटा राम्रो मोटरसाइकल, थप दराज लगायत सामान मागिएको पनि माइती पक्षको दाबी छ ।
तत्कालै मोटरसाइकल दिन नसके पनि एउटा दराज दिने तयारी उनीहरुले गरिरहेका थिए । दाइजोका कारण विवाद र कुटपिट भएको विषयमा आरतीका बुवाले ज्वाइँ मोतीबाबुसँग पनि कुरा गरेका थिए ।
माइती पक्षका अनुसार, घटना हुनुभन्दा २५ दिनअघि आफूलाई ससुरा र श्रीमानले कुटपिट गरेको भन्दै आरती माइत गएकी थिइन् । आरती माइतीमा १५ दिन बसेपछि मोतीबाबु आरतीलाई लिन गए । अब राम्रोसँग बस्ने भन्दै घर ल्याएका थिए, तर घर ल्याएका १० दिनपछि नै आरतीको रहस्यमय मृत्यु भयो ।
धनुषा प्रहरीको शंकास्पद भूमिका
आरती साहको मृत्यु प्रकरणमा धनुषा प्रहरीको भूमिका भने निकै शंकास्पद देखिएको छ । सुरुमा जाहेरी दर्ता नै गर्न नमानेको प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि शव राखेर आन्दोलन गरेपछि मात्र कर्तव्य ज्यानको जाहेरी लिएर अनुसन्धान थाल्यो तर घटनाको २२ दिनसम्म प्रहरीले आरतीको माइतीपक्षलाई बोलाएको थिएन । माइतीपक्षको भनाइ नै नराखी प्रहरीले एकाएक रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा पठायो ।
धनुषाका जिल्ला न्यायाधिवक्ता सुदीप दंगालले माइतीपक्षको भनाइ समेत समावेश गरेर ल्याउन भन्दै रायसहितको प्रतिवेदन फिर्ता पठाइदिए । त्यसपछि बाध्य बनेको प्रहरीले गत बिहीबार (जेठ ३२) मात्रै आरतीको माइतीपक्षलाई कागजका लागि बोलायो ।
माइतीपक्षले आफूले भनेको जस्तो बेहोरा लेख्न र पहिलो जाहेरीमा ६ बजे हत्या गरेको उल्लेख गरेका कारण त्यसलाई सच्याएर शनिबार राति नै हत्या गरी आइतबार साँझ मात्रै खबर गरिएको बेहोरा लेख्न प्रहरीलाई भन्यो । प्रहरीले जाहेरीमा भएको बेहोरा सच्याउन नमिल्ने जवाफ दियो । कागज गर्न बोलाइए पनि पहिले नै तयार पारेको कागजमा हस्ताक्षर गर्न लगाएपछि आफूहरूले प्रतिकार गरेको मनिषा (मृतक आरतीकी बहिनी) बताउँछिन् ।
‘डीएसपी गौतम ममाथि कुटपिट गरे’
मनिषाले रातोपाटीसँग भनिन् :
‘कागज गर्न बोलाएपछि हामी त्यहाँ गयौँ तर प्रहरीले पहिले नै कागज तयार पारेर राखेको रहेछ । हामीले भनेकोभन्दा फरक कुरा उल्लेख गरेर हस्ताक्षर गराउन खोज्यो । हामीले त्यस्तो कागजमा हस्ताक्षर गर्न मानेनौँ । प्रहरीले दबाब दिएपछि मैले मोबाइल त्यसको भिडियो खिच्न थालेँ ।
त्यही समयमा प्रहरीले मेरो मोबाइल खोसेर ममाथि कुटपिट गर्यो । सुरुमा विवाद भएको कोठामा सिसिटिभी थियो, तर त्यसपछि मलाई त्यो कोठाबाट अन्यत्र लगेर त्यहाँका डीएसपी वेदप्रसाद गौतमले पेटमा लात्तीले हाने । उनले मलाई घाँटीमा समातेर झुन्डाए । शरीरभरि लात्तीले हाने । पेटमा लात्तीले हानेपछि मेरो ब्लिडिङ पनि भयो । अनि रातको १०ः३० बजे उल्टै हामीलाई माफी मगाएर खुट्टा ढोग्न लगाएर कागजमा हस्ताक्षर गराइयो । त्यो कागजमा के लेखिएको छ थाहा छैन, तर पछि बनाएको कागजमा भने हामीले भनेको जस्तो नै लेखिएको छ रे । पहिले भने एकजनालाई मात्रै प्रतिवादी बनाउन दबाब दिइएको थियो र कर्तव्य ज्यानमा नभई आत्महत्या दुरुत्साहनमा मात्रै मुद्दा चलाउने गरी कागजात तयार भएको थियो ।’
‘अनधिकृतरूपमा भिडियो खिच्न थालेपछि विवाद’
जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकृतका अनुसार, मनिषाको मोबाइल अझैसम्म प्रहरी कार्यालयमै रहेको छ । उनीहरूले भिडियो खिच्न थालेपछि मोबाइल नियन्त्रणमा लिइएको र आफूहरूमाथि पनि कुटपीट भएको बताए । ती अधिकृतले भने, ‘हाम्रा प्रहरीमाथि पनि कुटपिट भएको छ । कागज गराउने स्थानमा अनधिकृतरूपमा भिडियो खिच्न थालेपछि विवाद भएको हो । सामान्य धकेलाधकेल भयो होला, त्यसरी कुटपिट भएको छैन ।’
तपाईंहरूले उहाँहरूले भनेको जस्तै कागज लेखेको भए त भिडियो खिच्दा पनि के आपत्ति हुन्थ्यो त भन्ने रातोपाटीको प्रश्नमा ती अधिकृतले भने, ‘बयान उहाँहरूले भनेको जस्तै लेखेको तर उहाँहरूले अनधिकृतरूपमा भिडियो खिचेका कारण विवाद भएको हो ।’
सुरुमै माइतीपक्षको बयान नलिई किन रायसहितको प्रतिवेदन पठाइयो त ? रातोपाटीको यस प्रश्नमा प्रहरीले माइतीपक्ष सम्पर्कमा नआएको दाबी गर्यो । लिन नआएकाले मनिषाको मोबाइल अझैसम्म फिर्ता नगरेको पनि प्रहरीको भनाइ छ ।
माइतीपक्ष भने आफूहरू नियमित प्रहरीको सम्पर्कमा रहेको तर प्रहरीले वास्ता नगरेको र आफूहरूलाई कहिल्यै नबोलाएको बताउँछन् ।
पुराना जिल्ला न्यायाधिवक्ताको सरुवा भएपछि सुदीपकुमार दंगाल धनुषा गएका हुन् । रायसहितको प्रतिवेदन तयार पार्दा आरतीको माइतीपक्षको बयान पनि समावेश गर्न उनले निर्देशन दिएपछि मात्रै प्रहरीले मृतक आरतीकी आमा र बहिनीलाई बोलाएर कागज गराएको थियो । त्यसपछि असारको १ गते धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गरियो ।
‘दहेजका लागि दबाब दिइरहन्थे’
अधिकारप्राप्त अधिकारीसमक्ष मृतक आरती साहकी आमा निर्मला देवी साहको कागज यस्तो छ :
‘करिब २ वर्ष पहिला छोरी आरती साहको प्रतिवादी मध्येका मोती बाबु साहसँग सामाजिक परम्परा अनुसार विवाह गराई दिएको हो, छोरीको विवाहको क्रममा हाम्रो रु. २५ लाख जति खर्च भएको थियो । विवाह पश्चात पनि मेरी छोरीलाई ज्वाई मोतीबाबु साह समेतले पटक–पटक थप दहेज माग गरी कुटपीट गरी शारीरिक तथा मानसिक यातना दिने गरेको कुरा मलाई छोरीले माईती घर आउँदा बताउने गरेकी थिईन भने हामीले विभिन्न व्यक्तिहरू मार्फत ज्वाई तथा सम्धी समेतलाई सम्झाउँदै आएका थियौँ ।
यस्तैमा मिति २०८०।०२।०७ गते बेलुकी अन्दाजी ०५ः०० बजेको समयमा म आफनै घरमा नै थिए ऐ.०६ः२० बजेको समयमा म घरमा बसिरहेको अवस्थामा मेरो श्रीमान विनोद प्रसाद साह बारी तिरबाट हत्तारिदै घरमा आई म तिर हेर्दै छोरी आरती साह अचानक बेहोस भई काव्या हस्पिटल भर्ना गराई पानी चढाई राखेको छ भनि मलाई सम्धी मदन मोहन ब्याहुत सुडीले फोन गरी बताउनु भएको छ भनि मलाई जानकारी गराउनु भयो ।
त्यसपछी पुनः श्रीमानले मैले घटना सम्बन्धमा बुझ्न कान्छी छोरी मनिषा साहलाई काव्या अस्पताल पठाएको छु भनि मलाई बताउनु भयो । म र मेरो श्रीमान विनोद प्रसाद साह टेम्पुमा काव्या हस्पिटल जनकपुर आउँदा मान्छेहरूको अत्याधिक भिडभाड थियो, हामी पनि अस्पताल भित्र गई हेर्दा छोरी आरती साहको मृतक लाश काव्या हस्पिटल जनकपुरको ईमरजन्सी कक्षको बेडमा सुताईराखेको थियो, छोरीको हात खुट्टा छाम्दा कडा थियो अनि हत्तारिँदै डाक्टर समेतसँग बुझ्दा मेरी छोरी आरती साहलाई अस्पतालमा उपचारको लागि ल्याउदा मृत्यु भइसकेको भन्ने कुरा सुनिपाए । मृतक छोरी आरती साहको लाश हेर्दा निजको अनुहार गाला तथा कान समेतको भागमा रातो रातो चोटको डाम थियो अनि पोस्टमार्टम गराउन भनि मृतक छोरीको लाश प्रहरी टोलीले प्रादेशिक अस्पताल, जनकपुर पठाएको हो ।
निज छोरी आरती साहलाई बेला–बेला निजकै श्रीमान मोतीबाबु साह र ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी समेतले थप दाईजो माग गरी कुटपीट गर्दै आएको कारण प्रतिवादी ज्वाई मोतीबाबु साह, सम्धी मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी, छोरीको सासु रेनु देवी र छोरीको देवर रवि साह समेतले नै योजना बनाई ऐ. ६ गते शनिवारको राती छोरी आरती साहलाई घर कोठा भित्र नै कुटपीट गरी घाटी थिची हत्या गरेको कुरा मैले स्थानीय छर छिमेको व्यक्तिहरूबाट सुनि पाएको हो । मेरो घरबाट छोरीको घर करीब ७।८ किलोमिटरको दुरीमा पर्दछ । प्रतिवादीहरूले मेरी छोरीलाई हत्या गरेको हुँदा निजहरूलाई हदैसम्मको दण्ड सजाय गरीपाउँ ।’
‘कसले यस्तो गरेभन्दा भिनाजुले उनकी आमातिर देखाए’
मृतक आरती साहकी बहिनी मनिषा साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागजमा पनि उस्तै बेहोरा समावेश गरिएको छ । मनिषाको कागजमा उल्लेख छ ः
‘मिति २०८०।०२।०७ गते बेलुकी अन्दाजी ०५ः०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप.म.न.पा.वडा नं.११ स्थित मामाको घरमा थिएँ । ऐ. ०६ः२३ बजेको समयमा मेरो मोबाईलमा बुवा विनोद कुमार साहले फोन गरी दिदी बिरामी परेर काव्या हस्पिटल जनकुरमा पानी चढाईरहेको छ तुरुन्त हेर्न जाउ भनि मलाई खबर गरे पश्चात त्यसको करिब १५।२० मिनेट पश्वात म काव्या हस्पिटल गएको थिएँ । हस्पिटलको बाहिर दिदीको ससुरा लगायतका व्यक्तिहरूलाई देखी मेरो दिदी खोई भनि सोध्दा दिदीको ससुराले तिम्रो दिदी आरती साह र भिनाजु मोतीबाबु साह झगडा गरी हेर यस्तो घटना गर्यो भनि मलाई बताए ।
त्यसपछि म हस्पिटलभित्र गई हेर्दा दिदी हस्पिटलको ईमरजन्सी वार्डमा बोल्न, चल्न छोडी पुरै अचेत जस्तै थिईन, मैले दिदी बेहोस भयो होला केही समयपछि होस आउँछ भनि छेउमा उभी बसे । त्यसपछि मैले आफ्नो बुवालाई फोन गरी दिदी बेहोस नै छ भनि खबर गरे, तत्कालै मेरी आमाले दिदीको खुट्टा छाम भने पश्चात अलि कडा–कडा जस्तो थियो अनि मलाई अर्कै किसिमको शंका लाग्यो अनि मैले सो कुरा आमालाई भन्दा आमा रुन थाल्नु भयो अनि उतैबाट फोन काटीदिनु भयो । त्यसपछि मैले दिदीको टाउको हल्लाई दिए अनि दिदीको फोटो समेत खिची नजिकै बसेका डाक्टरसँग कुरा गर्दा अस्पतालका डाक्टरहरूले तपाईको दिदी आरती साहको अस्पतालमा उपचारको लागि ल्याउँदै मृत्यु भईसकेको थियो भनि मलाई बताउनु भयो ।
त्यसपश्चात मैले आफ्नो बुवा विनोद प्रसाद साह र नाना रामअशिष साह समेतलाई फोन गरी घटनाबारे जानकारी गराई दिएको थिएँ । केही समय पश्चात मेरो नाना आउनु भयो अनि अस्पतालमा प्रहरी समेत आई पुगे, त्यसको केही समय पश्चात मेरो बुवा र आमा पनि हस्पिटल आईपुगेका थिए ।
अनि मैले भिनाजु मोतीबाबु साहलाई घटना कसरी भएको भनि सोध्दा निजले आफ्नो आमा रेनु देवीतिर हात देखाई यस्ले मार्न लगाएको भनि भनेका थिए । निज दिदी आरती साहलाई भिनाजु मोतीबाबु साह र दिदीको ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी समेतले थप दाईजो माग गरी कुटपीट गर्दै आएको, सोही कारण प्रतिवादी भिनाजु मोतीबाबु साह, दिदीको ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी, दिदीको सासु रेनु देवी र दिदीको देवर रवि साह समेतले नै योजना बनाई कुटपीट गरी घाँटी थिची हत्या गरेको कुरा मैले स्थानीय छर छिमेकका व्यक्तिहरूबाट सुनि पाएको हो ।
मेरो मामाको घरबाट दिदीको घर जान करिब १५ मिनेटजति समय लाग्छ । प्रतिवादीहरूले मेरी दिदीलाई हत्या गरेको हुँदा निजहरूलाई हदैसम्मको दण्ड सजाय पाउँ ।’
माइतीघरमा धर्ना
आरतीको साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दा प्रहरीले उल्टै पीडित परिवारमाथि ज्यादती गरेको भन्दै मृतक आरतीको माइतीपक्षले शुक्रबार रातिदेखि काठमाडौँको बबरमहलस्थित माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
घटनाको सुरुवातदेखि नै प्रहरी पीडिकपक्षसँग मिलेको माइतीपक्षको आरोप छ । प्रहरीले जबर्जस्ती अर्कै कागजमा हस्ताक्षर गराउन खोजेको, कर्तव्य ज्यानको घटनालाई आत्महत्या दुरुत्साहनमा परिणत गर्न खोजेको, घटनाको सम्बन्धमा निष्पक्ष अनुसन्धान नभएको र दुवै अस्पतालको भूमिका समेत शंकास्पद देखिएको भन्दै यसमा थप अनुसन्धान गर्न उनीहरूको माग गरेका छन् ।
प्रहरीले मोबाइल नै खोसेर कुटपिट गर्नुपर्नाको कारण माग गर्दै कुटपिटमा संलग्न प्रहरी कर्मचारीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने समेत उनीहरुको माग छ ।
सीआईबी टोली घटनास्थलमा
आरती साहको हत्या वा आत्महत्या के भएको भन्ने सम्बन्धमा थप अनुसन्धानका लागि यतिबेला केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । जेठ ३२ गते सिआइबीको टोली जनकपुर पुगेर घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?