सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
फोटो कथा

मकैको खोया र खोस्टाबाट पुतली बनाउँदै लक्ष्मी

शनिबार, ०२ असार २०८०, १८ : २०
शनिबार, ०२ असार २०८०

ललितपुर । नेपालमा पुतली वा गुडिया बनाउने प्रचलन निकै पुरानो हो । हरेक बालिकाको बाल्यकाल गुडिया खेलाएर नै प्रारम्भ भइरहेको हुन्छ । घरमा भएका पुराना कपडालाई पुनः प्रयोग गरेर यसलाई विभिन्न आकृतिमा पुतली वा गुडियाको स्वरुप दिने गरिन्छ ।

निकै पहिलेदेखि चलिआएको पुनः प्रयोगको नयाँ प्रारूप अहिले पाटनमा रहेको सिस्टर्स क्रिएसनमा देख्न सकिन्छ । यहाँ मकैको खोस्टा र खोयाबाट यहाँ विभिन्न आकृतिका पुतली वा गुडिया बनाउने गरिन्छ । करिब ३ दशक अघि सुरु भएको सिस्टर्स क्रिएसनलाई अझै पनि जीवन्त राखेकी छिन्, लक्ष्मी नकर्मीले । 

putali (24)

२० वर्षकी हुँदा अमेरिकाको क्यालिफोर्नियामा क्रिष्समसको लागि मकैको खोया प्रयोग गरेर शृङ्गारका सामाग्री बनाइएको खबर पढेकी लक्ष्मीले त्यसपछि आफ्ना दिदीबहिनीसँग मिलेर मकैको खोसेल्टा र खोयाबाट गुडिया बनाउन सुरु गरेकी हुन् । ‘सुरु सुरुमा मैले अलिक धेरै नै टाइम लगाएर मकैको खोयाबाट गुडियाहरू बनाउँथेँ जुन मैले मेरो साथीहरूलाई गिफ्ट गर्ने गर्थेँ । उनीहरूले त्यसलाई निकै मन पराउँथे । उनीहरूले यस्तो कुरा कहिल्यै पनि सित्तैमा लिन हुन्न भनेर पैसा दिने गर्थे ।’

putali (1)

साथीहरूको हौसला र उत्प्रेरणाले नै आफूभित्र रहेको कलालाई व्यावसायिक बनाउने सोच आएको लक्ष्मीले सुनाइन् । सुरुवाती समयमा निकै कम सङ्ख्यामा बनाउने गरेको भए पनि अहिले भने उनलाई भ्याइनभ्याई हुन्छ । सुरुवाती समयमा बजार खोज्दै जानु परेको भए पनि अहिले भने त्यस्तो अवस्थाको लगभग अन्त्य भएको लक्ष्मी बताउँछिन् । ‘अहिले त ग्राहकहरू आफैँ फोन गरेर त कोही खोज्दै पनि आउनुहुन्छ । उहाँहरूले कहिले रेडिमेड त कहिले आफूलाई मन लागेको आकृति बनाउन अर्डर पनि दिनुहुन्छ । यस्ता अर्डर चाहिँ एकहप्ता वा दस दिनमा सङ्ख्या हेरेर पुरा गर्छौँ । अहिले हामी यहाँ ५ जना छौँ । अरू केही साथीहरू हुनुहुन्छ जसले घरबाट पार्टटाइम जसरी काम गरिरहनुभएको छ ।’

putali (4)

यहाँ काम गर्ने अन्य सहयोगीहरूमध्ये अधिकांशले बोल्न र सुन्न सक्दैनन् । उनीहरुले यहीँ नै तालिम र सिकाइलाई सुधार्दै उनीहरूले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । सुरुवाती समयमा काम गर्न अलिक गाह्रो हुने गरेको भए पनि बिस्तारै काम सिक्दै गएपछि भने सहज हुने गरेको उनीहरूको अनुभव छ ।

putali (25)

यहाँ बन्ने गरेका गुडिया र पुतली नेपाली मौलिक भेषभुषामा सजिएका हुन्छन् । नेवारी, खस पहाडी, क्षेत्री, राउटे, शेर्पा, धामी लगायतका जातीय पहिरन लगाएका गुडिया धेरै बन्ने गरेका छन् । ‘जातीयता झल्किने गुडिया बनाउनको लागि निकै अध्ययन र अनुसन्धान पनि गर्न पर्छ । यदि कुनै रंग नमिल्ने भयो भने यो गुडिया काम लाग्दैन । त्यसैले डिटेल हेरेर मात्रै बनाउन थाल्छौँ । हाम्रो भेषभुषा त हाम्रो जीवनशैली र संस्कृतिसंग सम्बन्धित छ त्यसैले यसमा अलिक धेरै ध्यान दिन्छु,’ लक्ष्मीले रातोपाटीसँग भनिन् ।

putali (27)

उनको उद्देश्य नेपालमा रहेका सबै १२५ जातीय पहिरनलाई पुतलीको रूपमा प्रतिबिम्बित गर्नु नै रहेको छ । यसका अलावा उनी विभिन्न किरिङ र क्रिसमसका लागि शृङ्गारका सामाग्री पनि बनाउने गर्छिन् । ‘यहाँ बन्ने सबै कुरा नेपाली कच्चा पदार्थबाट नै बनेका हुन् । हामीले खेतमा र घर वरपर फाल्ने गरेका वस्तुलाई नै पुनः प्रयोग गरेर विभिन्न सामाग्री बनाउने गरेका छौँ । मकैको खोया र खोस्टा हामी यत्तिकै फाल्छौँ । त्यही फालिएको कुराबाट नै हो यो सबै कुरा बन्ने । तार, कपडा, काठको धुलो, लोक्ता कागज जस्ता कुराहरूबाट नै सामाग्रीहरू बन्ने गरेका छन्,” उनले भनिन् ।

putali (23)

मकैको खोया खोज्नको लागि लक्ष्मी खोकना, बुङ्मती जस्ता क्षेत्रमा जाने गर्छिन् । पहिला पाटनतिर पनि प्रशस्त पाइने गरेको भए पनि अहिले यसको अभाव भएकाले अलिक टाढासम्म गएर किनेर ल्याउनु परेको उनले बताइन् । “कतिपय किसानहरू त मसँग मकैको खोस्टा र खोया धेरै छ । तपाईलाई चाहिने रैछ लिन आउनुस् वा म ल्याइदिन्छु भनेर पनि फोन गर्नुहुन्छ ।” खुसीका साथ उनले भनिन् ।

यसरी सङ्कलन गरिएको मकैको खोया र खोसेल्टा पहिला पानीमा भिजाउने गरिन्छ । त्यसपछि ती खोया र खोसेल्टामा आवश्यकता अनुसार रङ लगाइन्छ । यी सबै जातीय र भेषका आवश्यकता अनुसार हुने गर्छन् ।

अहिले लक्ष्मी सहित उनका सहयोगीहरूले एक इन्चदेखि ३६ इन्चसम्मको गुडिया र पुतली बनाउने गरेका छन् । कार्य विभाजन गर्ने गरेकाले करिब ६० मिनेटमा एउटा गुडिया तयार पार्न सकिन्छ भने एक्लैले बनाउने हो भने दुई दिनसम्म लाग्न सक्छ ।

putali (2)putali (3)putali (5)putali (6)putali (7)putali (8)putali (9)putali (10)

putali (11)putali (12)putali (13)putali (14)putali (15)putali (16)putali (17)putali (18)putali (19)putali (20)

putali (21)putali (22)putali (26)putali (28)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप