काठमाडौँ । गायक तथा संगीतकार जेम्स प्रधान निर्देशक बनेका छन् । उनको निर्देशन रहेको ‘सर्ट टर्म मेमोरी लस’ छोटो फिल्म काठमाडौँमा शुक्रबार प्रिमियर गरियो । एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका प्रधानले भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने सङ्केत गरे ।
इन्टरनेटको माध्यमले आफूले सिकेको सीपलाई प्रयोग गरेर निर्देशक बनेको जेम्सले जानकारी दिए । ‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ’, जेम्सले भने ।
‘म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्न अवस्था छैन । यसलाई त्यसकै सुरुवातकको रूपमा समेत बुझ्न सकिन्छ’, जेम्सले थपे ।
सर्ट फिल्ममा समिसन जिसी र वेदना राईको अभिनय छ । यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितिलाई चित्रण गरिएको छोटो चलचित्र १९ मिनेट को छ । श्याम तामाङको छायाङ्कन रहेको फिल्म जेसिका प्रधानले सम्पादन गरेकी हुन् ।
विगत तीन दशकदेखि गीतसंगीतमा सक्रिय जेम्स विज्ञापनसँगै गायन र सङ्गीतकारको रूपमा स्थापित नाम हुन् । उनको गायनसँगै संगीत रहेको गीतले समेत कयौँ गायक गायिकालाई स्थापित बनाएको छ ।
प्रतिक्रिया