दुरा संस्कृतिको गहन र आधिकारिक कृति
यमबहादुर दुराको अनुसन्धानात्मक कृति ‘दुरा : इतिहास र संस्कृति’ बजारमा आएको छ । दुरा समुदायको प्रामाणिक इतिहास अहिलेसम्म नभेटिएको परिप्रेक्ष्यमा यो कृति कोसे ढुङ्गा साबित हुने देखिन्छ । यमबहादुर दुरा आफैँ यस समुदायका सदस्य हुन् । उनले आफ्ना बाल्यकालका अनुभव, बुढापाकासँगको सोधखोज र हालसम्म भएका प्राप्त प्रमाणहरूको अध्ययन अनुसन्धानका आधारमा यो कृति तयार पारेका छन् ।
लमजुङको दुराडाँडाका स्थायी बासिन्दा यमबहादुरको यो पहिलो कृति होइन । यसअघि उनले ‘देउबहादुर दुरा ः ठाडो भाकाका लोक नायक’ कृति २०७८ मा प्रकाशित गरिसकेका छन् । खासगरी प्राध्यापन र अनुसन्धानमा समर्पित उनले निर्वाचन आयोग, युएनडिपी, राष्ट्रय मानव अधिकार आयोगलगायत सरकारी गैह्रसरकारी संस्थाहरूमा काम गरिसकेका छन् । पछिल्लो समय दुरा समुदायको अध्ययन अनुसन्धानलाई नै मुख्य क्षेत्र बनाउँदै आएका उनले सोही क्रममा यो कृति तयार पारेका हुन् ।
यस कृतिभित्र उनले दुरा समुदायका विविध पक्षको उजागर गरेका छन् । दुरा समुदायको सङ्क्षिप्त इतिहास र परिचय, पहिचानसँग जोडिएका स्थाननाम, अमूर्त सांस्कृतिक सम्पदा, विश्वास प्रणाली, लोकजीवन, चाडपर्व तथा उत्सव, खाद्य संस्कृति, परम्परागत ओखतीमुलो, पूजाआजा, जन्म संस्कार, विवाह पद्धति र अन्तिम खण्डमा मृत्यु संस्कारलगायत १२ खण्डमा यो कृति विभाजित छ । यसमा वर्तमान समयमा लगभग लगभग अन्त्य भइसकेका तर हिजोका दिनमा प्रचलनमा भएका कुरालाई उधिन्ने काम लेखकले गरेका छन् ।
लमजुङको दुराडाँडामा जन्मिएका यमबहादुरले दुरा समुदायको उत्पत्ति, विकास र फैलावटका बारेमा लेखेका छन् । विभिन्न जात जातिहरूको इतिहासको खोतल्ने क्रममा अपव्याख्या भइरहेका छन् । त्यस सन्दर्भमा दुरा जति पनि अछुतो छैन । कसैले दुरा समुदायलाई भारतमा राजपूत रमणीबिच संसर्ग भई जन्मेको भनेर लेखेका छन् । कसैले गुरुङ र मगरबिच संसर्ग भएर जन्मेको र छुट्टै समुदाय बनेको भनेर लेखेका छन् । यस्ता कुरा विभिन्न लेख तथा कृतिमा बिनाप्रमाण उल्लेख गरेको भेटिन्छ । त्यस्ता आधारहीन कुरालाई ‘दुरा ः इतिहास र संस्कृति’मा खण्डन गरिएको छ ।
यस्तै यो समुदायको उत्पत्ति स्थानका बारेमा पनि विविध भ्रम छन् । यसअघिका लेखकले सिर्जना गरेका त्यस्ता भ्रमलाई यसमा खण्डन गरिएको छ । यो समुदायको मूल बस्ती लमजुङको दुरा डाँडा नै मानिए पनि उनीहरू अन्य ठाउँबाट आएको हुन सक्ने दाबी लेखकको छ । “दुराडाँडाबाहेक अरू स्थानमा पनि दुरा समुदायको बस्ती छ । आजसम्म उपलब्ध कागजातका आधारमा दुरा समुदाय पश्चिमतिरबाटै लमजुङको दुराडाँडामा आइपुगेको देखिन्छ,” उनले लेखेका छन्, “तर दुराहरू कहाँबाट कुन कुन कालखण्डमा कुन परिस्थितिमा कुन कुन स्थानबाट दुराडाँडामा आइपुगे भन्नेबारे कुनै सग्लो र स्पष्ट विवरण देखिँदैन ।” पछिल्लो समय दुराभाषाको व्याकरण पनि तयार भइसकेको छ ।
दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननाम भनेर यसमा छुट्टै खण्डमा वर्णन गरिएको छ । पोखरामा रहेकोे अर्घौंलाई यो समुदायको पहिचाननाममा समेटेका छन् । उनले दुरा जातिको वंशावलीमा पनि दुराजतिका पुर्खाहरू दधिराम दुरा, माघे दुरा, कास्कीको अर्घौंमा आई बसोबास गरेको उल्लेख गरेका छन् । त्यस्ता पहिचान दिने स्थाननामहरूमा खजे गाउँ, डढुवा, चिहानपाटा, दुरा गाउँ, दुरा चौतारा, दुरा टहरा, दुराडाँडा, दुराबो बोट, दुरा थोक, दुरा पँधेरा, दुराबारी, बार्दा, बासीगरा, भाँगु, रानीओडार, सिँदुरे ढुङ्गा, शिखाघर, ह्रङखोला लगायतका स्थानहरूको चर्चा गरिएको छ ।
यसैगरी दुरा समुदायको अमूर्त सांस्कृतिक खण्डमा उनीहरूको जीवनशैलीलाई उल्लेख गरिएको छ । हिजोको दिनमा यो समुदायको जीवनशैली कस्तो थियो भनेर मिहिन तरिकाले यसमा खोज अनुसन्धान गरिएको छ । यसमा आहान हाल्ने, कृष्ण चरित्र, चुड्का, ठाडोभाका, बाह्रमासे घाटु, सोरठी, सती घाँटु जस्ता पक्षको चर्चा छ ।
हरेक समुदायका आआफ्नै किसिमका लोकविश्वास हुन्छन् । दुरा समुदायमा यावत् सांस्कृतिक तथा आध्यात्मिक अनुष्ठानहरू स्वाभाविक रूपमा विश्वास प्रणालीकै उपपज हुन् । यस कृतिमा भूतप्रेत, असिना नियन्त्रण, आगोसम्बन्धी विश्वास, कपाल तथा लुगाको रक्षा, खड्गो, गर्भावस्था, ग्रह–नक्षत्र, पशुभाषा, बोली संहिता र मासिक धर्म संहिता, अर्थ संहिता, मृत्यु संहिता, माया विचार्ने, रात्रिकालीन सुसेली, सातो बोलाउने जस्ता विविध पक्षप्रतिको विश्वासबारे यसमा उल्लेख गरिएको छ ।
अहिले विभिन्न पेसामा आबद्ध भए पनि परम्परागत रूपमा दुरा कृषिमा निर्भर समुदाय हो । यो समुदायको मेलापातका कुरा, सामाजिक सद्भाव र सहकार्यका कुरा कसरी अगाडि बढ्थे भन्ने पक्षको चर्चा यसमा गरिएको छ । पर्म लगाउने, रोदी बस्ने, केटाकेटीहरूले एकअर्कालाई बोलाउने उपनाम, सियो राख्ने कुरादेखि लिएर केटालाई रामसाही, केटीलाई बाउरानी भन्ने परम्पराबारे गहन खोजी गरिएको छ । यस जातिको झाँक्री प्रथा, रोदी आमा मान्ने, साइतको चामल, हस्तकला र हुस्सुडण्डा जस्ता लोकसंस्कृतिक पक्षलाई समेत प्रस्तुत गरिएको छ ।
दुरा जातिले पनि हिन्दुधर्म अनुसारका चाडपर्व मनाउने गरेका पाइन्छ । वैशाख पूर्णिमा, साउने सङ्क्रान्ति, तीज, दसैँ, तिहार, पुसे पन्ध्र, माघे सङ्क्रान्ति, शिवरात्रि, श्रीपञ्चमी, फागुपूर्णिमा, चैते दसैँ र विभिन्न उत्सवहरू पनि मनाउने यसमा उल्लेख गरिएको छ ।
अन्तिम खण्डतिर अनुसूचीहरूमा दुरा भाषाका केही पारिभाषिक शब्द तथा शब्दावलीको सूची राखिएको छ । यसमा अमिली, कम्बलचाड, खराल, खैँचु, गुँदर हान्ने घाँटुसारे जस्ता शब्दहरूको परिभाषासमेत दिइएको छ । त्यसैगरी अनुसूची २ मा दुरा समुदायका यशस्वी व्यक्तित्वहरू नामावली र उनीहरूले गरेका कीर्तिमानी कामका बारेमा जानकारी पनि दिइएको छ । अन्त्यमा तस्बिर खण्ड छ, जसमा दुरा जतिको संस्कृति, विशेषता र कीर्तिमान झल्काउनेहरूको रङ्गीन तस्बिरहरू राखिएको छ ।
अतः कृतिमा दुरा समुदायको इतिहास र संस्कृतिबारे पैदा भएका भ्रमलाई तथ्यपरक तथा तर्कसङ्गत हिसाबले सच्याउँदै यथासम्भव यथार्थ तस्बिर प्रस्तुत गर्नु नै यस पुस्तकको मूलभूत उद्देश्य देखिन्छ । यसका अतिरिक्त दुरा समुदायको इतिहास र संस्कृतिलाई व्यवस्थित तरिकाले अभिलेखन गर्ने काम यस पुस्तकले गरेको छ ।
कृतिभित्र दुरा समुदायका ऐतिहासिक तस्बिर र अभिलेखहरू पनि सङ्कलन गरिएको छ । यी तस्बिरहरूले दुरा समुदायको संस्कृतिका बारेमा जानकारी दिन्छ । साथै दुरा समुदायका कीर्तिमानी र यशस्वी व्यक्तित्वहरूको नामावली पनि समेटिएको छ । कुल २१८ पृष्ठको यो कृतिको मूल्य रु. ३०० राखिएको छ ।
तर दुरा समुदायका बारेमा अध्ययन गर्ने यमबहादुर मात्र एक्लो होइनन् । यसअघि डा. सिद्धान्त अधिकारीले दुरा जातिको परिचय, गणेश गुरुङको दुरा जातिको एक अध्ययन लेखिसकेका छन् । गुरुङले लमजुङको दुरा गाउँमै बसेर सो कृति तयार पारेका थिए । तर सबै पक्षलाई स्थान नामदेखि सांस्कृतिक पक्ष, ऐतिहासिक पक्ष समेटेको यो आधिकारिक कृति भएको लेखक बताउँछन् ।