सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

सम्झनामा महेश सर

शनिबार, ०२ असार २०८०, १० : २५
शनिबार, ०२ असार २०८०

प्रजातान्त्रिक व्यवस्थाको स्वर्णिम युग तथा वीपी कोइरालाको चमात्कारिक नेतृत्वमा नेपाल सरकार चलायमान थियो । यसै क्रममा दाङ जिल्लामा किसान विद्रोह विष्फोट हुन पुग्यो । वि.सं. २०१६ साल भदौ महिनामा थारू किसानहरु आफ्ना जोतिरहेको खेतमा हकदावी गर्न थालेपश्चात प्रशासनको जोडबलमा गैरथारू जमिनदारहरु ती किसानहरुलाई दवाउन कोशिशमा थिए । तर, किसानहरु परिवारैसहित खेत खलिहान पुगेर आफ्नो हकदावी कायम राखेको बेला प्रहरी अधिकृृतको गोली लागेर गुमरा थारूले सहादात प्राप्त गरे । 

उक्त घटनालाई धेरैले किसान विद्रोहको रुपमा मात्र व्याख्या नगरी कम्युनिष्ट आन्दोलनको लेपन लगाउन पुगे । कस्तो होला कम्युनिष्ट आन्दोलन, ती किसानहरुलाई के थाहा ? 

तर, थारूहरुले त्यो किसान विद्रोहको ठूलो मुल्य चुकाउनु पर्यो । हजारौं थारूहरु दाङ छाडी बुह्रान गएको तथ्याङ्क देखियो भने बाँकी जति लामो समय कमैया, कमलहरी, बुक्रही आदि भएर दासत्वको जीवन बिताउन बाध्य भए । 

किसान विद्रोहका साक्षी बनेका महेश चौधरी सरको जन्म पश्चिम दाङको पछला प्रगन्ना अन्तरगतको हेकुली गाउँको बैवाङमा वि.स.२००९ सालमा  भएको थियो । 

प्रतिष्ठित किसान परिवारमा जन्मेका महेश सर राज्यको थारूहरुप्रतिको नीति तथा गैरथारु जमिनदारहरुको प्रवृत्ति बाल्यकालमा नै अनुभूत गर्न पाउनु भयो । साथै, किसान विद्रोहले थप संकटको पुनःउत्पादन गर्न थालेपश्चात थारूको अस्तित्व रक्षा पहिलो मिसन बनाउन थाल्नु भयो । 

यसै क्रममा कम्युनिष्टको बुर्जुवा शिक्षा बहिष्कारको आह्वानलाई उहाँले वास्ता नगरी आफ्नो अध्ययनलाई निरन्तरता दिई रहनु भयो । अन्ततः भूगोल विषयमा स्नातकोत्तर पढाई पूरा गर्नु भयो । 

महेश सरको अध्ययन प्रतिको त्यो लगाव निरन्तर जारी रहेको उनकै सम्पादनमा थारू भाषाको प्रकाशित पहिलो पत्रिका गोचाली (२०२८) तथा माँगर, धमार, गुर्वावक् जल्मौटी लोककाव्य जस्ता अन्य प्रकाशित पुस्तकहरुले समेत झझल्को दिई आएकै छ । 

जीवनको अन्तिम समयसम्म एमालेको विभिन्न पदमा रही काम गरेका अनुभवी नेता कम्युनिष्ट आन्दोलन बुझ्यो कि बुझेन थाहा भएन तर उहाँ समाजवादी आन्दोलनको नेता रहिरहनु भयो । 

फेरि पनि मैले उठाउन खोजेको विषय नै फरक धारको छ । महेश सर कम्युनिष्ट पार्टीमा लामो समय विताउनु भयो । प्रगतिशील विचारको उहाँ २०४८ को आमनिर्वाचनपश्चात एमालेको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएर संसदमा छिरेदेखि को राजनीतिक पहिचान सबल बन्दै गयो । 

वहुदलीय जनवादका हिमायती भई पार्टीभित्र काम गर्दै जाँदा गुटगत राजनीतिको महत्व उहाँको मष्तिषक भन्दा परको विषय बन्यो । पहिलो पटक जब विभिन्न भाषा भाषीको समाचार रेडियो नेपालमार्फत् प्रसारण गर्ने नीति तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले लियो, सोही समय दंगौरा थारू भाषाको पक्षमा अडान कायम राख्दै उहाँले सुर्खेत क्षेत्रीय प्रसारण केन्द्रबाट थारू भाषाको समाचार प्रसारण गर्ने गरी दवाव बढाउनु भयो । 

थारू भाषाको केन्द्रीय प्रसारणमार्फत् समाचार नआउने भएपछि यता तत्कालीन सञ्चारमन्त्री विजयकुमार गच्छदारले धनकुटा क्षेत्रीय प्रसारणबाट थारू भाषाको समाचार दिने व्यवस्था मिलाए । यसरी पश्चिमा र पूर्विया गरी थारू भाषामा दुइटा समाचार बुलेटिन प्रसारण भयो । रेडियो नेपालबाट २०५१ भदौ १ बाट प्रसारण सुरु भएको थारू समाचार अद्यापि जारी छ । 

जीवनको अन्तिम समयसम्म एमालेको विभिन्न पदमा रही काम गरेका अनुभवी नेता कम्युनिष्ट आन्दोलन बुझ्यो कि बुझेन थाहा भएन तर उहाँ समाजवादी आन्दोलनको नेता रहिरहनु भयो । 

थुप्रै भ्रमहरु थिए होलान् उहाँको कि समाजवादी आन्दोलन भनेकै कम्युनिष्ट आन्दोलन हो तर दाङलगायत देशका विभिन्न भूभागमा चलेको जमिनदार विरोधी आन्दोलनहरुमध्ये किसान आन्दोलन आज पनि कम्युनिष्ट आन्दोलनको अभिन्न अंग दावी भईरहँदा उहाँ यसबारे आफ्नो धारणा सार्वजनिक नगर्नु भनेकै सोही भाष्यप्रति सहमत देखिनु हो । 

यही विन्दुमा नेपालका कम्युनिष्ट आन्दोलनको अस्पष्टता कायम छ र उच्च तहका नेतृत्वकर्ताहरु आ–आफ्नो रुटतिर फर्किदै कम्युनिष्ट आन्दोलन भजाउनमा मात्र केन्द्रित रहे । 

कुनैवेला यो पंक्तिकारसमेत रातो किताबमा आधारित मार्क्सवादको प्रशिक्षणमा बस्दै रातो झण्डामुनि क्रान्तिको भाषामै ताल मिलाउँदै थियो । नेपालमा कम्युनिष्ट आन्दोलनको विरोधाभाष आफैंमा जटिल र कार्यशैली दोधारे बन्दै जाँदा अर्कोतिर माओवादी जनयुद्धको विस्तार हुँदै गयो । त्यसले पनि संगठनभित्र अर्थात् एमालेमा विभाजन ल्याउन वातावरण बनाएको बुझ्न कठिन रहेन ।

महेश सर गुटगत प्रवृतिलाई पन्छाएर कम्युनिष्ट आन्दोलनबाटै थारूको समस्या समाधान हुने विश्वासमा अडिग देखिनु हुन्थ्यो । उहाँसंग तत्काल कुनै विकल्प पनि थिएन । दाङमा जनयुद्धको प्रभाव तीब्र बन्दै जाँदा तत्कालीन शाही नेपाली सेनाको ज्यादति बढेर गएको थियो । पूरै थारू वस्ति मओवादी लडाकुहरुको सेल्टरमा रुपान्तरित भएको थियो । सोही कारण सेनाको दमनमा दिनदिनै आवाजविहीन थारू जनता पर्दै वेपत्ता बनाइने क्रम जारी थियो । 

यसखाले कहालीलाग्दो समयमा उहाँले गठन गरेको गोचाली परिवार क्रमशः माओवादी जनयुद्धतिर विस्तारै होमिने क्रम शुरु भयो । आफ्नै आँखा अगाडि थारूको दुर्दशा हेर्न महेश सर बाध्य रहेको बुझ्न सकिन्छ । २०५९ सालको मंसिर महिनामा सेनाको ज्यादति बढेर दाङमा ११ जना थारूलाई एक लाइन लगाएर गोली चलाउँदा पार्टीमा पनि जुन तवरले ती घटनाबारे विरोधको मत राख्नुपथ्र्यो, त्यो हुन सकेको थिएन । 

आफ्नै गाउँवस्ती जलिरहेको थियो, यता महेश सर काठमाडांै राजधानी सहरको बसाइँले बुजर्सवा बनिसक्नु भएको थियो । पार्टी कार्यालयतिर सोही समयमा आक्कलझुक्कल भेट हुने गर्दथ्यो महेश सरसंग । निराश देखिनु हुन्थ्यो त्यसबखत । र, किताबहरु लेखपढ गर्ने काममा सोही संकटकाल उपयुक्त ठानेर अध्ययन बढाउन थाल्नु भएको हो । 

बागबजारस्थित आर्ट इन्टरनेसनलमा हाम्रो भेटघाट हुँदा उहाँको मनमष्तिष्कमा पार्टीको विचार लाइन भन्दा पर थारूको इतिहास र संस्कृतिबारे अधिक चर्चा रुचाउने गरेको अनुभूत गर्थें ।

क्लासिकल कम्युनिष्ट मेनिफेष्टो तथा कम्युनिष्ट राजनीतिक साहित्य पढेर केही हदसम्म आफूलाई ज्ञान विस्तारमा लगाएको मैले महेश सरसंग थप ज्ञानको अपेक्षा राख्ने गर्थें तर उहाँसंगको कमजोर संगतले सो वातावरण नमिलेकै बुझ्नुपर्छ । 

फेरि पनि मेरो बुझाईमा थारू महिला विकास संस्था घोराही (दाङ) मा उहाँसंगको भेटले अझ मलाई झस्कायो । उहाँ त त्यसबखत आर्थिक रुपमा कमजोर र किताब प्रकाशन गर्न सहयोगी हात खोजी गर्दै रहनु भएको थियो । म अचम्म परें कि छ वर्ष सांसदको जिम्मेवारीमा भएको र एक पटक राज्यमन्त्री भएको व्यक्ति आर्थिक संकटबाट गुज्रिरहेको थाहा पाउँदा । 

त्यसले मलाई एक चीज बुझ्न सघायो कि एमालेभित्र गुट कतिसम्म मौलायो भनेर । त्यसपश्चात पार्टीको नेतृत्वकर्ता जसरी नै म पनि आफ्नो रुट खोजी गर्न जरुरी ठाने भने महेश सर उही एमालेसंग आवद्ध रहिरहनु भयो । परिणामस्वरुप पहिलो संविधानसभामा सदस्यको रुपमा समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्न पाउनु भयो । 

तर, पार्टीकै मजबुतिका लागि अहोरात्र खट्ने महेश सर गुटविहीन हुँदा नै दुइटै पक्षबाट वेवास्तामा पर्नु भयो । एक समय त पार्टीको कोपभाजनमा समेत पर्नुभयो ।

जबसम्म मौजुदा ज्ञान अवधारणामा चुनौती खडा गरिंदैन, मानिसलाई नयाँ खुराक पस्कन सकिने स्थिति रहँदैन । संविधानसभामा आफैं मधेसी कोटाबाट प्रतिनिधित्व गर्नु र फेरि हामी त तराईवासी भनि प्रतिवाद गरिरहनुको अर्थ बुझ्न नसकिएकै हो ।

महेन्द्र बहुमसखी क्याम्पस दाङमा भूगोल विषय प्राध्ययापनरत रहँदा र गहिरिएर त्यसमा खोज अनुसन्धान गर्दै जाँदा उहाँले कहिल्यै र कहीँ पनि थारू जाति तराई र पहाड अलग गर्ने ‘नो म्यान्स लाइन’का बासिन्दा भएको उल्लेख गरेको पाइँदैन । 

‘नेपालको तराई र यसका भूमिपुत्रहरु’ पुस्तक लेख्दै गर्दासमेत उहाँले सो शोधकार्यमा दिमागलाई उत्तेजित बनाउने नयाँ धारणा पस्कन सक्नु भएको पाइँदैन । त्यो भन्दा गहन र दृष्टिकोणलाई बदल्न सक्ने पुस्तिकाको रुपमा प्रकाशित रामानन्द प्रसाद सिंह थारूको ‘द रियल स्टोरीज अफ थारू’ भन्ने लाग्यो । 

जबसम्म मौजुदा ज्ञान अवधारणामा चुनौती खडा गरिंदैन, मानिसलाई नयाँ खुराक पस्कन सकिने स्थिति रहँदैन । संविधानसभामा आफैं मधेसी कोटाबाट प्रतिनिधित्व गर्नु र फेरि हामी त तराईवासी भनि प्रतिवाद गरिरहनुको अर्थ बुझ्न नसकिएकै हो । त्यसलाई कुन समाजशास्त्र भन्ने प्रश्न उहाँको जीवनमा अन्तिम समयसम्म पछ्याएको हुनुपर्छ ।

राजनीतिक रुपमा महेश सर सफल मान्न सकिने आधार निर्माण गर्न सक्नु भएन । यो सत्य हो कि थारू विद्वतवर्गमा उहाँको योगदान अतुलनीय छ । गोचाली पत्रिका प्रकाशन गर्दा सगुनलाल चौधरी, भगवति प्रसाद चौधरी लगायत जेल पर्नुभयो भने महेश सर पनि त्यसको प्रताडना सहनु परेको थियो । 

गोचाली परिवारको स्थापना गरेर साहित्यिक मञ्चहरुमा कविता, नाटक मञ्चन गर्ने र जागरण तथा दवाव बढाउने उहाँको कार्यलाई कम आकलन गर्न मिल्दैन । किनकि पार्टीहरु भूमिगत रहेको वेला यस्तै यस्तै विधिहरुमार्फत् समाजलाई सचेत गराउने स्थिति थियो । 

उहाँले ‘द हिडेन ट्रेजर अफ द लो ल्याण्ड अफ नेपाल’मार्फत् आफ्नो पैदल अनुसन्धान प्रकाशन गराउन सफल भएपछि नेपालको असली शक्ति बुझाउन सफल भएको मानिन्छ । तर, चुरिया र शिवालिक क्षेत्र नै अनुसन्धानको केन्द्र हुँदासमेत उहाँको सो पुस्तकमा पोलिटिकल इकोनोमीको अवधारणा खासै उजागर भएको देखिन्न । 

साथै, जीवनको उत्तराद्र्धमा फेरि किसान र उहाँलाई सहयोगी हुने जैविक मलसम्बन्धी उद्योग सञ्चालन गर्न थालेका उहाँ आफैं सफल व्यापारी हुन नसकेको स्वीकार गर्नु हुन्थ्यो । 

महेश सरको यही जेठ २४ गते निधन भएको छ । मैले महेश सरसंग धेरै अपेक्षा गरेको थिइनँ तर कता कता उहाँको निरन्तरता सामाजिक साँस्कृतिक अभियानमा रहेको भए अहिले थारू जातिको लागि धेरै गर्न सक्ने क्षमताका व्यक्ति उहाँ पक्कै हो । 

आफ्नै स्वाभिमानमा बाँच्ने उहाँ श्रमको मुल्य बुझ्न एमालेको कार्यकर्ता भइरहनु पर्ने जरुरी नभएकै हो । अन्तिम समयमा आएर एमालेले केन्द्रीय सल्लाहकार पद समेत खोसी अयोग्य घोषणा गरेको समाचार पनि छ । जे भए पनि उहाँको प्रेरणाको श्रोत दर्शनशास्त्रीय हिसावले ‘गुर्वावक् जल्मौती’ (सृष्टिको कथा) हो भन्ने लाग्छ । यसको लागि कुनै विश्वविद्यालय पढ्नु परेन र थारू ज्ञानको रुट समाएर पनि सम्भव भयो । मार्क्सवादले यसलाई थप बुझ्न तुलनात्मक अध्ययनमा जान रोक्यो । 

मुक्ति आन्दोलनमा ‘गुर्वावक् जल्मौती’मा नभेटेर हो अथवा किसान विद्रोहलाई कम्युनिष्ट आन्दोलनको पर्यायवाची बनाएकोले हो, उहाँको युवा मतिष्कमा संसार बदल्ने सपनाले राज गर्न थाल्यो । बुह्रानतिर छारा (बसाइँ) गर्ने हुलका हुल थारूको सामाजिक–आर्थिक अवस्था अर्को प्रेरणाको श्रोत बन्यो तर यसलाई सही विश्लेषणमार्फत् मिमांशा गर्न नसक्नुले मुक्तिको बाटो कम्युनिष्ट आन्दोलन देखेको हुनुपर्छ । 

महेश सरले आफ्नो जीवनमा जे जति सामाजिक भार वहन गर्ने जिम्मेवारी लिनु भयो, व्यक्तिगत हिसावले अरुले पनि गर्ने त्यही हो । तर, कमैया मुक्ति आन्दोलन अन्ततः कम्युनिष्ट आन्दोलन भन्दा जसरी पृथक पहिचान बनाउन सफल भयो, त्यसतर्फ एक विद्वान थारूको हैसियतले कुनै ठोस धारणा निर्माणमा योगदान नभएकै हो । 

जबकि सरोकारवालाको हिसावले चासो यसमा केन्द्रित हुनैपर्ने हो, कारण दाङ जिल्लामै कमैया, भूमिहीन तथा सुकुम्बासी एकै ठाउँमा मिसमास गरेर समस्या जटिल बनाउँदै लगेको बेलामा राज्यको निर्णायक तहमा पुग्नु एक अवसर थियो, जसलाई महत्व दिएर समाधानतर्फ लग्ने काम सही हुन सक्थ्यो ।

महेश सरलाई म किसान नेता भन्न मन पराउँछु यतिवेला । किसानलाई माटोसंग परिचित गराउने र माटो विग्रेर गए किसानसमेत विग्रिने उहाँको मष्तिस्कमा स्वचेतना निर्माणले जीवनको उत्तराद्र्धमा जैविक मल तयारी उद्योग सञ्चालन थाल्नु भयो । त्यो ज्ञान प्राप्त गर्दा र त्यसको सदुपयोग गर्दै जाँदा इन्टेलेक्च्युअल प्रपर्टी राइट लिन सक्ने हैसियत त निर्माण गर्नु भयो तर नेपालको कानुन दैवले जानुन् भन्दा महेश सर त्यसको अंशियार अब पाउनु होला कि नाई ? प्रश्न उठ्छ । 

प्रश्नै प्रश्नको बीचबाट उहाँको अस्तित्व कायम रह्यो र आखिर सोही प्रश्नहरुका चाङ बोकेर अस्ताउनु भयो । न त किसानले चिन्न सके महेश सरलाई, न समाजले । एक क्रान्तिकारीको मृत्यु अज्ञात अवस्थामा हुन्छ भन्ने समाज विज्ञानको नियम पालन गरेर जानु भयो । त्यसैले, किसान नेताले खासै पछुतो मान्नुपर्ने जरुरी छैन भन्छु म त । किसानको श्रम तथा उत्पादन सम्बन्ध समाजवादको कडी हुन सक्ने बुझाई त्यतिकै सही छ, जति चिसो हिउँ । महेश सरको राजनीतिक जीवनको सार यही रह्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीएन थारू
सीएन थारू
लेखकबाट थप