आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

परिचय बिनाको मान्छे ऊ

शनिबार, ०२ असार २०८०, १० : २२
शनिबार, ०२ असार २०८०

वडा कार्यालयको ढोका ढक्ढकाउँदै
उसले माग्यो आफ्ना बा को नाम
नगरपालिकाको टेबुलमा 
उसले निवेदन तेर्सायो–
‘महोदय,
एक हातले ताली बज्दैन भने 
बिना बाबुको छोरा म कसरी भएँ ?
छानबिन गरी पाऊँ ।’
यसरी नै प्रशासन कार्यालयमा उसले भन्यो–
‘सिडिओ साप,
अब मैले नागरिकता पाउँदिन भने
सडक बालकको परिचय पत्र पाऊँ ।’

परिचय बिनाको मान्छे ऊ
सिंगो सभ्यताको अघिल्तिर
आफूले भोगिसकेको समाजलाई
प्रश्नै प्रश्नको खात लगाउँछ ।
कार्यालय धाउँदा धाउँदा
कति जोर जुत्ता च्यातिएपछि 
नागरिकता पाईन्छ ?
कसको पार्टी सरकारमा गएपछि 
नागरिकता पाईन्छ ?
मेयर, सांसद् वा मन्त्री 
कसको चाकरी गर्दा 
नागरिकता पाईन्छ ?

सोच्छ, धेरै पटक सोच्छ
उसको नागरिकतामा राजनीति गर्नेहरुले
उसका बा को नाम लुकाई दिएका छन्
चिना लेखाउने बाउन 
र, विद्यालयमा नाम लेखाउने 
हेडमास्टरले समेत
उसका बा को  नाम लुकाईदिए
त्यसैले त आज ऊ
ब्रह्माण्डबाट उछिट्टिएको 
उल्का पिण्डजस्तै भएको छ ।

आफ्नो हुलिया मिल्नेसंग 
उसले धेरै पटक भन्यो–
‘मेरो नागरिकतामा 
बाबुको नाम टाँस्नु पर्दा
हजुरकै नाम टाँस्नेछु
किनभने
म हजुरबाट हुलफालमा भएको छोरा’
उसकी आमाले 
जे भनेकी थिइन्, उसले त्यही भन्यो

यसो भन्दै गर्दा 
ऊ अझ असुरक्षित भयो
उसले कसैको ईज्जतमाथि 
खेलवाड गर्यो
त्यो इज्जतिलो मान्छे
उसकी आमाको जवानीमा 
खेलवाड गर्ने मान्छे हो 
उसकी आमाको जवानीमा
ओछ्यानको साथी भयो 
तर,
जिन्दगीको साथी भएन
यही मोडमा 
समाजले आँखा बन्द गरिदियो
कानुन पैसामा बिक्री भयो
र, आज ऊ
परिचयविहीन भएर 
सडकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चन्द्र रावत ‘गुराँस’
चन्द्र रावत ‘गुराँस’
लेखकबाट थप