आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुरलाई थुनामा पठाउने आधार–‘सानुको डायरी, प्रेमराजको जाहेरी’

शुक्रबार, ०१ असार २०८०, २२ : १६
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको घटनामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पुर्पक्षका लागी थुनामा पठाउँदा न्यायाधीशले ६ वटा तथ्यलाई आधार मानेका छन् ।

आरोपित सानु भण्डारीले रायमाझीविरुद्ध गरेको बयानलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आधार मानेका छन् । शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका भण्डारीले रायमाझीलाई १ करोड ६० लाख र उनका छोरा सन्दीपलाई ४० लाख दिएको बयान गरेका छन् ।

सानुको घरबाट बरामद नबिल बैंकको ‘हरियो डायरी’ मा उल्लेखित हिसावलाई न्यायाधीश न्यौपानेले थुनामा पठाउने आधारको रुपमा ब्याख्या गरेका छन् । डायरीमा भण्डारीले ‘टोप मामा’ शीर्षकमा विभिन्न मितिमा रकम दिएको हिसाव राखेको भेटिएको छ । न्यायाधीश न्यौपानेले शुक्रवार गरेको थुनछेक आदेशमा उल्लेख गरेका छन्– ‘सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा यी प्रतिवादीलाई बिभिन्न मितिमा रकम दिएको भन्ने उल्लेख गरेको देखिन्छ ।’
जाहेरवाला प्रेमराज पन्थीको जाहेरीलाई पनि न्यायाधीशले रायमाझीलाई थुनामा पठाउनुपर्ने तथ्यको रुपमा उल्लेख गरेका छन् । पन्थीको जाहेरीको ब्यहोरामा टंककुमार गुरुङको रेष्टुरेण्टमा टोपबहादुर, निजको पिए लिला जिसी, केशवप्रसाद दुलाल, सानु भण्डारी र भेषराज शर्मा घण्टौं मिटिङ गरेर ‘अब तपाईंहरुको काम हुन्छ’ भनेको उल्लेख छ ।

नयाँ बानेश्वरको एभरेष्ट होटलमा पनि टोपबहादुर रायमाझीले ‘तपाईंहरुको काम पक्का हुन्छ, टेन्सन नलिनु’ भनेको तथ्यलाई न्यायाधीशले उनलाई थुनामा पठाउने आधारको रुपमा ब्याख्या गरेका छन् । न्यायाधीश न्यौपानेले आदेशमा भनेका छन्– ‘संसद विघटन भएपछि सरकार परिवर्तन नभएकोले अब हाम्रो सरकार आएपछि मात्र तपाईंहरुको काम हुन्छ भन्ने उल्लेख गरेको ।’

सह–प्रतिवादीहरु सानु भण्डारी, केशवप्रसाद दुलाल र टेकनाथ रिजालको बयानको आधारमा पनि रायमाझी कसुरमा संलग्न रहेको न्यायाधीश न्यौपानेले ठहर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप