बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
समाचार

हाइवे सर्भे गर्न नेपाली सीमामा आएका भारतीय टोली प्रहरी नियन्त्रणमा

शुक्रबार, ०१ असार २०८०, १५ : ३२
शुक्रबार, ०१ असार २०८०

कञ्चनपुर । हाइवेको सर्भे गर्न नेपाली सीमामा आएको भारतीय टोलीलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली सीमा नाका गड्डाचौकीमा सर्भेको सामानसहित आएको देहरादुनको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सर्वेक्षण विभाग देहरादुनमार्फत आएको निजी कम्पनीको टोलीले गड्डाचौकीको भुजेल पुलदेखि सुकासालसम्मको भूभागमा सर्भे गर्दै गर्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले बताए । 

सर्भेका विभिन्न सामाग्रीसहित यूपी ८०जीजे३९४५ नम्बरको भारतीय गाडीमा आएका थिए । उनीहरूले नेपाललाई कुनै जानकारी नदिई हाइवेको सर्भे गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको उनको भनाई छ । 

नियन्त्रणमा लिएकाहरूलाई जिल्ला प्रशासन कार्यालयमा राखेर सोधपुछ गर्ने काम भइरहेको एसपी थापाले बताए । 

‘उहाँहरू किन आउनुभयो भन्ने विषयमा छलफल गरिरहेका छौँ । नापजाँच गर्ने उपकरणसहित देखिएकाले के हो भन्ने विषयमा सोधपुछ भइरहेको छ । उहाँहरूको आफ्नै खालको रहेछ’ एसपी थापाले भने । 

सोधपुछको क्रममा उनीहरूले इण्डियन हाईवे सर्भेका क्रममा एउटा प्वइन्ट गड्डाचौकीमा देखिएपछि सर्भेका लागि आएको प्रतिक्रिया दिएको एसपी थापाले बताए । 

‘भारतीय सर्भे विभागबाट इण्डिन नेशनल हाईवेका लागि कुनै प्राइभेट कम्पनीले ठेक्का पाएको रहेछ । त्यो कम्पनीले सर्भेका क्रममा १४ वटा प्वइन्टहरू पत्ता लगाएको छ । त्यो कम्पनीले सर्भेका क्रममा १४ वटा प्वइन्ट रहेछ । ती मध्ये एउटा गड्डाचौकीमा परेको रहेछ,’ उनीहरूको भनाई उद्धृत गर्दै एसपी थापाले भने, ‘हाइट मेन्टन गर्नका लागि उनीहरूल सर्भे गर्दै आएका रहेछ । त्यही क्रममा नेपालमा आएको बताएका छन् । त्यसका लागि नेपालसँग कुनै अनुमति लिएको देखिएन ।’

नेपालसँग समन्वय नगरी आएकाले के कस्तो हो ? भनेर सोधपुछका लागि बोलाइएको उनको भनाई छ । नियन्त्रणमा रहेकाहरूले सीमा सम्बन्धी कुनै पनि काम नगरेको प्रतिक्रिया दिएका छन् । 

‘सीमासँग सम्बन्धित विषयमा काम गरेको देखिएन । त्यो देखिएको प्वइन्ट भेरिफाई गर्नको लागि आएका रहेछन् । आउँदा कुनै समन्वय नगरेको विषयमा हाम्रो आपत्ति हो । अहिले भारतीय अधिकारीहरूसँग समेत छलफल भइरहेको छ । समन्वय गरेर अगाडि बढ्छौं’ एसपी थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप