मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
शीर्ष समाचार

रातोपाटी ब्रिफिङ : मुख्यसचिव परिवर्तनदेखि बालेनको धमाधम एक्सनसम्म

बिहीबार, ३२ जेठ २०८०, २२ : ४१
बिहीबार, ३२ जेठ २०८०

आज मिति २०८० साल जेठ ३२ गते । अर्थात आज जेठ महिनाको अन्तिम दिन । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

बालेनको एक्सन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक पछि अर्को गर्दै नियमविपरीतका गतिविधिमाथि निगरानी बढाएका छन् । सोही क्रममा बालेनको निर्देशनअनुसार बिहीबार महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा निर्माण भइरहेको नयाँ भवनको नक्सा पास नभएको पाइएपछि निर्माण कार्यमा रोक लगाएको छ । 


महानगरपालिकाले यसअघि प्रकाशित सूचनाको हवाला दिँदै विभिन्न निकायमा नक्सा पास भए नभएको बारे जानकारी माग्दै पत्राचार पनि गरेको छ । 
यसैगरी भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले रोकेको छ । प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रहरीले शैक्षिक मेला रोकेको हो ।

यसैगरी बालेन साहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौँ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् ।

यसैगरी बालेनकै अग्रसरतामा शुक्रबारदेखि काठमाडौँ बाहिरिने लामो, छोटो र मध्यम दूरीका बसहरु बसपार्कबाट नै सञ्चालन गर्ने गरी निर्णय भएको छ । असन्तुष्ट पक्षलाई समेट्न एक कार्यदल पनि बनाइएको छ । 

मेयर शाहले राजनीतिक बेथितिको चर्को आलोचना गर्दै आएका छन् भने सुशासनको प्रत्याभूतिका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै आएका छन् । 

२ मुख्यसचिव परिवर्तन
सरकारले मुख्यसचिव परिवर्तन गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका वकिलको बहस सकियो
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ‘ठगी धन्दा’ चलाएको मुद्दामा ११ औँ दिनसम्म लगातार बहससँगै थुनछेक बहस पूरा भएको छ । सो मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेसहित १८ जना पक्राउ परेका छन् ।
काठमाडौँ जिल्ला अदालतले शुक्रबार सरकारी वकिलको जवाफी बहसपछि थुनछेक आदेश दिनेछ । 

कार्की प्रधानन्यायाधीश बन्दै
अन्य कुरा यथावत रहेमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की २०८० असार १ गतेबाट नेपालको ३० औँ प्रधानन्यायाधीश बन्दैछन् । प्रधानन्यायाधीशका रूपमा सिफारिस भएका कार्कीको बिहीबार संसदीय सुनुवाइ भएपछि शुक्रबार सिफारिस अनुमोदन गर्ने तयारी गरिएको छ । त्यसो भएमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको ४० औँ दिनमा कार्की प्रधानन्यायाधीश बन्ने छन् ।

कलाकार पक्राउ
अनलाइन बेटिङको प्रवद्र्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सभापति चयनमा अलमल 
प्रतिनिधि सभाअन्तर्गत रहेका १० वटा विषयगत समिति र २ वटा संयुक्त समिति हाल ज्येष्ठ सदस्यको सभापतित्वमा सञ्चालन भइरहेका छन् । 
संसदीय समिति गठन भएको एक महिना बितिसक्दा पनि सभापति चयन हुन नसक्दा समितिमा पुगेका विधेयकमाथिको कारबाही अघि बढ्न सकेको छैन । साथै, समितिले सरकारका कामकारवाहीलाई निगरानी गर्ने र आवश्यक निर्देशन दिने कामपनि प्रभावकारी हुन सकेको छैन ।

संसदमा समाचार

प्रदेश समाचार
कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेर संसद छल्दै अध्यादेशबाट बजेट ल्याएको छ । बजेट अध्यादेशबाटै आउने धेरैले आँकलन गरेका थिए । त्यही सुइँको पाएर विपक्षी गठबन्धन दलहरुले एकै स्वरमा बुधबार अध्यादेशबाट बजेट ल्याए अस्वीकार गर्ने भन्दै सरकारलाई खबरदारी गरेका थिए ।

मधेस प्रदेशको प्रति व्यक्ति आय सबैभन्दा कम रहेको छ ।
मधेस प्रदेश सरकारले आज प्रदेशसभाको बैठकमा पहिलो पटक प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार मधेस प्रदेशको प्रति व्यक्ति आय अन्य सबै प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ ।

आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
बागमती प्रदेश सरकारको आय र व्ययको अवस्था वृद्धि हुँदै गएको जनाइएको छ । सरकारले बिहीबार बसेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९–०८० को आर्थिक सर्वेक्षण पेस गर्दै आय र व्ययको अवस्थामा तुलनात्मक रुपमा वृद्धि भएको जनाएको हो ।

संघीय सरकारको सिको गर्दै सुदूरपश्चिम सरकार पनि सांसदहरुलाई अलग्गै योजनासहित बजेट ल्याउने तयारीमा जुटेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरुलाई बजेट उपलब्ध गराउने तयारीमा प्रदेश सरकार जुटेको हो । कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ३ करोड बजेट दिने तयारी गरिएको सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गीता चौधरीले रातोपाटीलाई जानकारी दिइन् ।

संघीय सरकारको सिको गर्दै लुम्बिनी प्रदेश सरकारले पनि सांसदहरुलाई घुमाउरो तरिकाले बजेट दिने भएको छ । 
शुक्रबार ल्याउने बजेटमा लुम्बिनी प्रदेश सरकारले प्रत्यक्ष सांसदलाई २ करोड २५ लाख र समानुपातिक सांसदलाई ७५लाख रुपैयाँ बजेट दिने सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेयले बताए ।

सेयर बजार
नेपाल स्टक एक्सचेञ्जमा आज तीव्र उतारचढाव देखिएको छ । अन्तिम समयमा सुधार हुँदै ५ अंकले बढेर बन्द भएको छ । 
यसक्रममा आज ७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १३९ कम्पनीको सेयर मूल्यमा भने गिरावट आउँदा ९ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक ०.७५ प्रतिशतले बढेसँगै परिसूचक २०४२ अंकमा पुगेको छ ।

पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढेसँगै जोखिम समेत बढ्दै गएको भन्दै केन्द्रीय बैंकले आम सेवाग्राहीलाई सचेत बन्न आग्रह गरेको छ । 
विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाइसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट वान टाइम पासवर्ड (ओटीपी) माग गर्ने र भुक्तानी लिने गरेका जस्ता घटना घटेको भन्दै बैंकले सचेत र सजग हुन सबैमा अनुरोध गरेको हो ।

क्रिकेटमा नेपालको जीत
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअघि खेलिएको अभ्यास खेलमा बिहीबार नेपालले चिर प्रतिद्वन्द्वी ओमानमाथि दुई विकेटको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । खेल जिम्बाबेको हरारे स्पोर्टस क्लबमा खेलिएको हो ।

यो पनि...
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यका बाहिर ठूलो संख्याका शाखा अधिकृत सरुवा गरेका छन् । गृह मन्त्रालयले बुधबार २८ जना शाखा अधिकृतको सरुवा गरेर उपत्यका बाहिरको दुर्गम र तराई क्षेत्रका २३ जिल्ला पठाएको हो ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्यहरूको मनोनयन भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत गरेका छन् । बिहीबार मध्यान्ह ट्वीटरमार्फत उनले विगतमा एक प्रतिशत सम्भावना भएका काममा सफल भएको भन्दै आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको बताए ।

थप समाचार 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप