आज २०८० जेठ ३१ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
नक्कली भुटानी शरणार्थी प्रकरण
शरणार्थी प्रकरणमा बुधवार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्व सभासद् आङटावा शेर्पाको तर्फबाट बहस भएको छ । बुधवार प्रतिवादीको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले समय दिएपनि बहस पुरा भएन । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बिहीबार थुनछेक बहस हुने भएको छ ।
करोडौंको सट्टेवाजी
२०७८ माघमा विदेशी विनिमय अपचलमा पक्राउ परेर २५ लाख धरौटीमा छुटेका चाबहिलका दिनेश खड्का वानएक्स बेटमार्फत सट्टेवाजी गरेको आरोपमा पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले त्यतिबेला खड्कालाई सामान्य सूचनाका आधारमा मात्रै पक्राउ गरेको थियो ।
कांग्रेस रुपान्तरण अभियान
जेठको टन्टलापुर घाम, देशभर बढ्दो तापक्रमका बीच नेपाली कांग्रेसका केही युवा नेताले ‘कांग्रेस रुपान्तरण अभियान’ घोषणा गरी प्रदेशस्तरमा कार्यकर्ता भेला गरे । सबैजसो राजनीतिक दलका संगठनहरु एजेण्डाविहीन भएर ओइलाएको अवस्थामा देशव्यापी अभियान लिएर कांग्रेसका ती युवा विभिन्न प्रदेशको दौडाहामा निस्किँदा कार्यकर्ता पनि केही हदसम्म चलायमान देखिए ।
कर्मचारीलाई कस्दै सरकार
सूचना प्रविधिको विस्तारसँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । विशेषगरी फेसबुक, ट्वीटर, टिकटक र इन्स्टाग्रामको प्रयोग धेरैले गर्छन् । तर, पछिल्लो समय सामाजिक सञ्जालमा ज्यादा छाडापन देखिन थालेको छ । त्यसमा पनि अरुलाई नियम सिकाउने सरकारी कर्मचारीहरु नै सामाजिक सञ्जाल दुरुपयोगमा अगाडि छन् ।
टसल सुरु
कोशी प्रदेश प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबीच टसल सुरू भएको छ । मन्त्रीमण्डलमा सहभागी जसपाकी नेतृ निर्मला लिम्बू, माओवादी केन्द्रका दुर्गा चापागाई र जीवन आचार्यले राजीनामा दिएपछि नयाँ कार्यविभाजनको विषयलाई लिएर दुई कार्यालयबीच टसल बढेको हो ।
कारबाही फुकुवा
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिमाथिको कारबाही फुकुवा गरेको छ । कांग्रेसले स्वतन्त्रबाट जितेका ८ जना जनप्रतिनिधिलाई कारबाही फुकुवा गरेर पार्टीमा भित्र्याएको हो ।
नेकपा ब्युँताउने बहस
सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनः ब्युँताउन नेताहरूबीच बहस सुरु भएको छ । पछिल्ला केही दिनयता नेताहरू माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै समाजवादी केन्द्र हुँदै नेकपा ब्युँताउनुपर्ने आशयको अभिव्यक्ति दिएर बहसको थालनी गरेका हुन् ।
सार्वजनिक ऋणको भार
निरन्तरको वित्तीय व्यवस्थापन बजेट खर्च जुटाउने मुख्य स्रोतका रूपमा सार्वजनिक ऋणलाई नै बनाउँदा सरकारमाथि वित्तीय भार बढ्दै गएको छ । चालु आर्थिक वर्षको १० महिनासम्म मुलुकको सार्वजनिक ऋण (विदेशी तथा स्वदेशी गरी) २१ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३९.६५ प्रतिशत हो ।
बिहीबार कार्कीसँग प्रष्टीकरण
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँगको छलफल टुंगाएको छ । बुधबार बिहान ११ बजेबाट समितिले उजुरीकर्तासँग थप प्रष्ट पार्न छलफल गरेको थियो ।
नेपाल भित्रियो मनसुन
यस वर्षको मनसुन एक दिन ढिलागरी नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन नेपाल भित्रिने सरदर समयभन्दा एक दिन ढिलागरी पूर्वी भागमा आइपुगेको हो ।
प्रतिक्रिया