आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय
अर्थ–वार्ता

घोराही सिमेन्टले यही वर्षको असारदेखि भारततर्फ सिमेन्ट निर्यात सुरु गर्छ : आदित्य संघाई

बुधबार, ३१ जेठ २०८०, १० : ३२
बुधबार, ३१ जेठ २०८०

पश्चिम नेपालको दाङमा अवस्थित सगरमाथा ब्राण्डको सिमेन्ट उत्पादक घोराही सिमेन्टले यही जेठ ३२ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउँदैछ ।

वैदेशिक रोजगारीमा गएकाहरूलाई, स्थानीयवासीलाई र कर्मचारीलाई सेयर बिक्री गरिसकेको कम्पनीले सर्वसाधारणलाई यही जेठ अन्तिमबाट सेयर खुलाउने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको सेयरमा ३३५ रुपैयाँ प्रिमियम शुल्क जोडेर सेयर बिक्री गर्दैछ । कम्पनीले बिक्री खुलाउने सेयर, नेपालको सिमेन्ट बजार र भारत निर्यातका विषयमा केन्द्रित रहेर कम्पनीका निर्देशक आदित्य संघाईसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः–

आगामी आर्थिक वर्षदेखि नेपाल आत्मनिर्भर बनेको वस्तुको आयात घटाउने र अनधिकृत आयात समेत रोक्ने नीति सरकारले लिएको छ । यसलाई कसरी लिनुहुन्छ ?

घोराही सिमेन्ट सन् २०१२ देखि सञ्चालनमा आएको हो । र, उक्त समयमा नेपालमा ४० प्रतिशतसम्म सिमेन्ट आयात भइरहेको थियो । उक्त समयमा हाम्रो लक्ष्य नै आयात प्रतिस्थापनको अभियान नै सेट गरेका थियो । हामीले आफ्नै देशमा प्रशस्त सिमेन्ट उत्पादन क्षमता हुँदाहुँदै आयात भइरहेको र त्यसलाई न्यूनीकरण गर्नुपर्छ भनेर लागेका थियौँ । घोराही सिमेन्टको लगानीपछि अन्य धेरै लगानीकर्ताले लगानी गरे । त्यसपछि, सिमेन्टको आयात नै करिब करिब रोकियो ।

हाल नेपालमा दुई प्रकारका सिमेन्ट आउँछ । एउटा अनौपचारिकरुपमा चोरी पैठारी गरेर र अर्को विदेशी लगानीकर्ताको लगानीमा बन्ने आयोजनामा विदेशकै सिमेन्ट ल्याउने प्रचलन पनि छ । आज पनि बजारमा भारतीय सिमेन्ट बिक्रीमा हुँदैन । तर, ठुला आयोजनाले भारत र चीनबाटै ल्याउने गरेका छन् । यसका लागि नेपाल सरकारले स्वदेशी उत्पादनलाई नै प्रयोग गर्नका लागि प्रोत्साहन गर्नुपर्ने देख्दछु । 

aditya sanghai (2)

उत्पादनमा आत्मनिर्भर रहेको वस्तुहरूको स्वदेशी खपत गर्ने सरकारी नीति छ । यो नीतिले नेपाली उत्पादनलाई कति प्रभावित पार्छ ?

कुनै पनि उत्पादनमा आत्मनिर्भर बन्न सकेमा यो विषय देशको सबैभन्दा ठुलो स्ट्रेन्थ हुन्छ । आजको दिनमा केही वस्तुमा आत्मनिर्भर भएको अवस्थामा सयौँ अर्ब रुपैयाँ बराबरको आयात घटेको छ । पहिलाको आयात तथ्याङ्कको तुलनामा अहिले सिमेन्ट आयात घटेको छ । अहिले हामी आत्मनिर्भरभन्दा पनि माथि अर्थात् खपत क्षमताभन्दा धेरै उत्पादन क्षमता बनिरहेको छ ।

लगानीकर्ताले लगानी बढाएपछि अहिले ‘ओभर क्यापासिटी’ भएको छ । क्षमताभन्दा बढी उत्पादन सुरु भएपछि पहाडी क्षेत्रका बाटोहरूमा ढलान गर्ने प्रचलन सुरु भएको छ । यो सही बाटो हो । यसअघि, बिटुमिन आयात भइरहेको थियो, यसको आयात पनि घट्यो । नेपालमा उत्पादित सिमेन्टको खपत पनि बढ्छ । साथै, नेपालमा बनिरहेको सिमेन्ट भारततर्फ निर्यात समेत सुरु भइसकेको छ । घोराही सिमेन्टले हाल क्लिङ्कर नै निर्यात सुरु गरेको छ । असारदेखि सिमेन्ट नै जान थाल्छ । अहिले सिमेन्ट निर्यातका लागि अनुमतिको प्रक्रिया अघि बढेको छ । यसबाट ब्यालेन्स अफ पेमेन्ट नै सुधार हुँदै जान्छ ।

aditya sanghai (4)

यतिबेला पहाडी इलाकाको सडक कालोपत्रेको सट्टा ढलान गर्ने भनिएको छ । यसबाट कति क्षमतामा सिमेन्टको खपत बढ्ला ?

सरकारले लिएको यो नीतिले समस्त सिमेन्ट उद्योगहरूको व्यापारमा वृद्धि हुने म देख्दछु । हाम्रो देश नेपाल पहाडै पहाडले भरिएको देश भएकाले हामीले गरेको एक सर्वेक्षणको आधारमा पहाडी इलाकामा कालोपत्रेको सट्टा ढलानको सडक निर्माण गर्दा ८ इन्चको ६ मिटर चौडा सडक ढलान गर्दा प्रतिवर्ष १ हजार किलोमिटर सडक बनाउँदा मोटामोटी आधा मिलियन टन सिमेन्ट खपत हुन्छ । यसले के देखाउँदछ भने नेपालमा सिमेन्ट उद्योगको उत्पादनहरू अत्यधिक मात्रामा स्वदेशमा नै खपत हुनसक्ने देख्दछु । जसका कारण सिमेन्ट व्यापारको वृद्धि भई उल्लेख्य मात्रामा मुनाफा आर्जन गर्न सकिने र यसको प्रतिफल लगानीकर्ताहरूको नै हुने ठान्दछु ।

सरकारले गत वर्षदेखि ल्याएको नीतिका कारण भारतीय बजारमा सिमेन्टको निर्यात सुरु भइसकेको छ । आगामी केही वर्षमा हामीले भारतको कति बजार लिन्छौँ होला ?

नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशको सीमा क्षेत्रको मासिक खपत नै १२ लाख टन बराबर छ । जबकि, यो नेपालको वार्षिक सिमेन्ट खपत क्षमता बराबर हो । यति धेरै सिमेन्ट नेपालले उत्पादन नै गर्न सक्दैन । उत्तर प्रदेशको पनि नेपालसँग सीमा जोडिएको क्षेत्रको मात्रै कुरा गर्दै छौँ । नेपालको कूल उत्पादन क्षमताअनुसार भारतीय बजारमा निर्यात गर्दा पनि उताको माग धान्दैन ।

नेपालबाट भारततर्फ सिमेन्टको निर्यात बढाउन कस्ता व्यवस्था गर्नुपर्छ ?

सरकारले भारततर्फ सिमेन्ट निर्यात गर्ने उद्योगलाई ८ प्रतिशतसम्म इन्सेन्टिभ दिने घोषणा गरेको छ । र, यो घोषणा भएको धेरै लामो समय भएको छैन । अहिलेसम्म निर्यातको लाइसेन्स पाउन भारतीय गुणस्तर विभागबाट अनुमति पाउनुपर्छ । यो प्रक्रिया पुरा गर्न १२ महिनासम्म लाग्न सक्छ । अहिलेसम्म नेपालका ४ वटा उद्योगले भारतमा सिमेन्ट निर्यात गर्न अनुमति पाइसकेका छन् । यसले सुरुवाती प्रक्रिया पुरा गर्न नै अड्किएको हो ।

aditya sanghai (5)

नेपालको उत्पादन लागत भारतको तुलनामा महँगो छ । यसलाई ब्यालेन्स कसरी गर्न सकिन्छ ?

नेपालको उत्पादन लागत भारतको तुलनामा पक्कै पनि महँगो छ । तर, नेपालको उत्पादनबाट भ्याट हटाउँदा भारतको तुलनामा बराबर हुन्छ । ८ प्रतिशत क्यास इन्सेटिभको व्यवस्थाचाहिँ ५० करोडभन्दा बढीको सिमेन्ट निर्यात गर्ने उद्योगले मात्रै पाउँछन् । यस्तै, निर्यात क्षमताअनुसार भिन्नभिन्न व्यवस्था गरिएको छ । नेपालबाट सिमेन्ट निर्यात हुँदा भारतीय ट्रकलाई पनि फाइदा हुन्छ । हाल नेपालमा क्लिङ्करसहित सिमेन्ट उत्पादन प्लान्ट उद्योगको सङ्ख्या १५ वटा छ । यसबाहेक, ग्रान्डिङ उद्योगको सङ्ख्या करिब ३० वटा छ ।

पछिल्लो समय नेपालमा चिनियाँ लगानीको दुई वटा उद्योग स्थापना भएपछि सिमेन्टको मूल्यमा व्यापक गिरावट आएको छ । यससँगै, पुराना प्रविधिमा आधारित उद्योग बन्द नै हुने अवस्थामा पुगेका छन् । भारततर्फ निर्यात भएन भने कतिवटा उद्योग बन्द हुन्छन् होला ?

भारततर्फ निर्यात प्रक्रिया पुग्न सकेन र निर्यात भएन भने क्लिङ्र उत्पादन नगर्ने उद्योग त पूर्णरुपमा समस्यामा पर्छन् । क्लिङ्करसहित सिमेन्ट उत्पादन गर्ने उद्योगले उत्पादन लागत घटाउनेतर्फ ध्यान दिनुपर्छ । समस्यामा परेका उद्योग बचाउनका लागि अहिलेको न्यून विकासलाई हटाउनुपर्छ । हामीले अहिले खपत क्षमताभन्दा बढी भनिरहेका छौँ, यो वास्तवमा अविकसित देशको सूची समेत हो । देशमा विकासको गतिविधि अघि बढ्ने हो भने सम्पूर्ण सिमेन्ट स्वदेशमै खपत हुन्छ ।

यसका लागि सरकारले बनाउने नीतिगत व्यवस्था आगामी १ वा २ दशकका लागि राख्नुपर्छ । नेपालबाट हुने सम्पूर्ण निर्यातमा क्यास इन्सेन्टिभ पाउने व्यवस्था समेत गर्नुपर्छ । यो विश्वव्यापी प्रचलन हो । तर, हामी घोषणा मात्रै गर्छौँ र लागू गर्दैनौँ । यदि घोषणा अनुसारको काम हुने हो भने नेपालको उत्पादनमूलक वातावरण र क्षमता दुवै बढ्छ र उद्योगमा स्थिरता आउँछ । यस्तै, नेपालको खपत बढाउनका लागि अन्य नीति ल्याउनुपर्छ । भारत र चिनियाँ आयोजनामा नेपालकै सिमेन्ट खपत गर्नुपर्ने लगायतका विषय समेत गर्नुपर्छ ।

अब घोराही सिमेन्टको विषयमा बताइदिनु न ।

घोराही सिमेन्ट सन् २०१२ मा स्थापना भएको हो । सुरुमा कम्पनीले २ हजार टन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमताबाट उत्पादन सुरु गरेको थियो । ६ वर्षपछि उत्पादन क्षमता बढाएर प्रतिदिन ५ हजार टन पुग्यो । घोराहीले सगरमाथा ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । र, यसको मुख्य बजार सुदूरपश्चिम क्षेत्रमा छ । यसबाहेक, बागमती लगायतका क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गरिरहेको छ । यही वर्षको असार भित्रै निर्यात समेत गर्दैछौ । हामी कम्तीमा ५० करोड रुपैयाँको सिमेन्ट निर्यात गरेर सरकारको घोषित  व्यवस्थाअनुसार ८ प्रतिशत नगद अनुदान लिने लक्ष्यमा छौँ ।

aditya sanghai (1)

अब कम्पनीको साधारण सेयरतर्फ केन्द्रित बनौँ । १०० रुपैयाँको सेयरमा ३३५ रुपैयाँ थपेर गरिने आईपीओ बिक्रीबाट उठेको रकमलाई केमा प्रयोग गरिनेछ ?

हाल घोराही सिमेन्टले आफ्नो उत्पादन क्षमता बढाउनका लागि नयाँ प्लान्ट स्थापना गरेको छ । त्यसमा लागेको खर्चको ऋण र ब्याज तिर्न आईपीओमार्फत उठेको रकम खर्च गर्ने योजना छ । यसबाहेक, प्रिमियममा आउन सेयर आउनुको कारण भनेको हामीले अर्थात् यस कम्पनीका संस्थापकहरूले १०औँ वर्षदेखि कमाएको कुनै पनि रकम लाभांशको रूपमा प्राप्त नगरी यसै कम्पनीलाई कसरी बलियो बनाउन सकिन्छ ता कि भोलिका दिनहरूमा अन्य कम्पनीको तुलनामा यो कम्पनी निकै सशक्त सबल रहोस् भन्ने सोचेर सम्पूर्ण आम्दानी रकमहरू यस कम्पनीको सम्पत्तिमा लगानी गर्दै गयौ । जसका कारण आज यो कम्पनी निकै बलियो रहेको छ भने यसको जगेडा कोष पनि उत्तिकै बलियो छ । सर्वसाधारणमा शेयर जारी गर्नु अगावै कम्पनी मुनाफा वितरण गर्न सक्षम त छँदैछ त्यसमाथि पनि सर्वसाधारणमा प्रिमियम सहित शेयर जारी गरेपश्चात् कम्पनीको जगेडा कोष अझ बलियो हुने देख्दछु । यसका कारण आगामी आर्थिक वर्षहरूमा शेयर लगानीकर्ताहरूले नै उच्चतम प्रतिफल प्राप्त गर्ने मैले ठानेको छु ।

आगामी आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर नेटवर्थ २९२.९२ रुपैयाँ रहनेछ । यस्तै, कम्पनीको प्रति सेयर आम्दानी प्रतिकित्ता १६.३३ रुपैयाँ छ भने कम्पनीको जगेडा कोष ७ अर्ब ७८ करोड १७ लाख रुपैयाँभन्दा धेरै छ ।

अन्त्यमा मैले माथि उल्लेख गरिएबमोजिम कम्पनीको समस्त वित्तीय अवस्था एकदमै बलियो रहेको मैले ठानेको छु । यद्यपि हामीले निष्कासन गर्न लागेको शेयरमा लगानी गर्ने वा नगर्ने भन्ने निर्णय लगानीकर्ताहरूको नै हुने भएकोले लगानी गर्नु अगाडी समस्त लगानीकर्ताहरूलाई म के अपिल गर्न चाहन्छु भने तपाईहरुले कुनै पनि कम्पनीमा लगानी गर्नु अगाडी उक्त कम्पनीको बारेमा विस्तृत अध्ययन गरेर मात्र लगानी गर्नुहोला । तपाईहरुलाई यस कम्पनीको बारेमा कुनै पनि जिज्ञासा तथा जानकारीहरू आवश्यक परेमा निष्कासन तथा बिक्री प्रबन्धकहरूको वेबसाईट वा नेपाल धितोपत्र बोर्डको वेबसाइटमा गई प्रकाशित विबरण पत्र हेर्न वा निष्कासन तथा बिक्री प्रबन्धकहरुसँग वा यस कम्पनीमा सम्पर्क गर्न सक्नु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप