‘भारतसँग अलिकति ठाकठुक परिहाल्छ, त्यसलाई अन्यथा लिनु हुँदैन’
काठमाडौँ । मन्त्री भएको बेला प्रधानमन्त्रीको भारत भ्रमण दलमा पटक–पटक सहभागी भएका माओवादी केन्द्रका नेता रामेश्वर राय यादवले हालै भारत भ्रमणलाई अनावश्यक विवादमा ल्याएको बताउँछन् ।
नेपाल–भारतको विशेष सम्बन्ध भएको कारण सानातिना कुरामा कहिलेकाहीँ केही तालमाथि हुने हुँदा त्यसलाई विवादको विषय बनाउन नहुने उनको जिकिर छ । लामो समय मधेसको राजनीतिमा रहेका राय हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । प्रस्तुत छ, समसामयिक विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईं प्रधानमन्त्रीसँग पटक–पटक भारत भ्रमणमा सामेल हुनुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमण प्रायः किन विवादमा पर्छ ?
– भ्रमण त अरू–अरू देशमा पनि हुन्छन्, तर त्यसको खासै चर्चा हुँदैन । तर यहाँका नेताहरूको भारत भ्रमण हुने बित्तिकै केही न केही विवाद आइहाल्छ । यो विवाद प्रधानमन्त्री प्रचण्डको भ्रमणमा मात्र भएको होइन ।
मेरो विचारमा यो पूर्वाग्रही सोच हो । देशका प्रधानमन्त्रीले सबै देशसँग राम्रो सम्बन्ध राख्नुपर्छ र हाम्रो परराष्ट्र नीतिले पनि त्यस्तै भन्छ । हाम्रो असंलग्न परराष्ट्र नीति भए पनि हामीले उत्तर र दक्षिणमा रहेका हाम्रा छिमेकीहरूसँग सम्बन्ध राम्रो बनाउनुपर्छ । त्यसमा पनि भारतसँग हाम्रो विशेष सम्बन्ध हो, यसलाई हामीले स्वीकार गर्नैपर्छ ।
चीनसँग हाम्रो भौगोलिक सम्बन्ध छ, आर्थिक सम्बन्ध छ, राजनीतिक सम्बन्ध छ । तर, भारतसँग सांस्कृतिक सम्बन्ध छ, सामाजिक सम्बन्ध छ, जनजनको सम्बन्ध छ, रोटीबेटीको सम्बन्ध छ ।
हाम्रो भूगोल नै यस्तो छ कि नेपालमा केही भयो भने त्यसको असर भारतमा पर्छ, भारतमा केही भयो भने त्यसको असर नेपालमा पर्छ । भूराजनीतिक सम्बन्ध पनि धेरै नै घनिष्ठ रहेको छ । त्यसैले, भारतसँग हाम्रो सम्बन्धको बारेमा अरू देशसँग तुलना गर्न मिल्दैन ।
हालै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा ऐतिहासिक सम्झौताहरू भएका छन् तर ती सबैलाई ओझेलमा परेर अन्य स–साना विषय झिकेर भ्रमणलाई विवादित बनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा गर्नु भएको सम्झौताहरूलाई तपाईंले कसरी बुझ्नु भएको छ ?
–भारतसँग ऐतिहासिक सम्झौताहरू भएका छन् । अहिले भएका सम्झौताहरू यसअघिका कुनै पनि प्रधानमन्त्रीको भ्रमणमा भएको थिएन । अन्य प्रधानमन्त्रीको भ्रमण राजनीतिक एजेण्डामै अल्झिरहन्थ्यो, विकास र आर्थिक एजेण्डामा कुनै पनि छलफल, सम्झौता हुँदैनथ्यो ।
मेरो विचारमा जनस्तरबाट भारतको विरोध भएकै होइन । पोल्टिकल बायसनेस लिएकाहरूले विरोध गराइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारतसँग गरेको सात सम्झौताहरू सबै आर्थिक क्षेत्रसँग सम्बन्धित भएकाले देशलाई एक पाइला अगाडि बढाएको छ । केनेक्टिभिटी, जलविद्युत, विद्युत् व्यापार, पारवहन लगायतका क्षेत्रमा सम्झौता भएका छन्, यसलाई नेपालको आर्थिक समृद्धिका लागि ठुलो सफलता नै मान्नुपर्छ ।
यपटक प्रधानमन्त्री प्रचण्ड अरू कुनै कुरामा अल्झन चाहनु भएन । देशलाई कसरी समृद्ध बनाउने, आर्थिक उन्नति कसरी गर्ने, व्यापार व्यवसाय कसरी अगाडि बढाउनेमा उहाँले विशेष जोड दिनुभएको छ ।
तर, जनस्तरबाटै समेत भारतप्रति किन यति आशङ्का गर्छन् जस्तो लाग्छ तपाईंलाई ?
–म यो प्रश्नसँग सहमत छैन । मेरो विचारमा जनस्तरबाट भारतको विरोध भएकै होइन । पोल्टिकल बायसनेस लिएकाहरूले विरोध गराइरहेका छन् । केही नेता, केही पार्टीको पूर्वाग्रही सोचले यो विरोध भइरहेको हो ।
संसद् जस्तो गरिमामय ठाउँमा भ्रमणबाट के–के उपलब्धि भयो, त्यसको बारेमा चर्चा नगरी कसले स्वागत गरे, कहाँ पूजा गरे, भ्रमणमा छोरीलाई किन सहभागी गराइयो, मुर्रा भैँसी जस्ता विषयलाई उठाएर अनावश्यक विवाद खडा गरियो । प्रधानमन्त्री भैँसी चढेर आए जस्ता अभिव्यक्ति दिएर सांसदहरूले लज्जास्पद काम गरेका छन् ।
भारतले सम्झौता गर्छ तर त्यसलाई कार्यान्वयनमा ल्याउँदैन, सीमादेखि अन्य सन्धि सम्झौतालाई पुनरावलोकन गर्दैन, त्यही भएर भारतको विरोध हुने गरेको छ भन्छन् नि ?
–दुई छिमेकीको बीचमा यस्ता कुराहरू हुन्छन् । गाउँघरमा पनि हामी छिमेकीसँग खुब मिलेका हुन्छौँ तर ससाना कुराले विवाद भइरहेका हुन्छन् । तिम्रो बाख्राले मेरो बाली खायो । तिम्रो घरको पानी मेरो आँगनमा आयो जस्ता विवाद हुन्छ । तर, त्यही छिमेकीसँग आत्मीयता पनि त्यतिकै हुन्छ ।
भारत हाम्रो सबैभन्दा नजिकको छिमेकी हो । त्यसैले, अलिकति ठाकठुक परि नै हाल्छ, त्यसलाई अन्यथा लिनु हुँदैन । तर समग्रमा देशलाई त्यसले के घाटा, के नाफा–नोक्सान भइरहेको छ, त्यो हेर्नुपर्छ ।
प्रचण्ड माओवादी वा कम्युनिष्ट पार्टीको प्रधानमन्त्री होइन, देशकै प्रधानमन्त्री हुनुहुन्छ । उहाँले सबै धर्मलाई समान रूपमा हेर्नुपर्छ ।
यदि कुनै विवाद छ भने त्यसलाई आपसी समझदारीमा समाधान गर्नुपर्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आपसी समझदारीमा सीमालगायतका समस्या समाधान गर्ने भन्नु भएको छ । सीमा विवाद छ भन्ने स्वीकार गर्नु नै ठुलो कुरा हो । यसलाई अब कसरी अगाडि बढाउने हो, त्यसमा हामीले लाग्नुपर्छ । प्रधानमन्त्रीले बोलिसकेपछि त्यसलाई बेलाबेलामा सम्झाई रहनुपर्छ ।
प्रधानमन्त्रीले भारतको मन्दिरमा गएर गेरुवा वस्त्र लगाएर पूजापाठ गरेको सन्दर्भबारे के भन्नु हुन्छ ?
हेर्नुस्, यहाँ धर्मनिरपेक्षताको नेतृत्व कसले गर्यो ? माओवादीले गरेको हो नि । विगतमा यो देश हिन्दु राष्ट्र नेपाल थियो । यसलाई धर्मनिरपेक्ष राष्ट्र बनाउने कामको नेतृत्व प्रधानमन्त्री प्रचण्डले नै गर्नुभएको थियो ।
धर्मनिरपेक्ष भनेको हिन्दु विरोधी, क्रिश्चियन विरोधी, बुद्धिष्ट विरोधी त पक्कै होइन । यसले सबै धर्मलाई समान व्यवहार गर्छ । प्रचण्ड माओवादी वा कम्युनिष्ट पार्टीको प्रधानमन्त्री होइन, देशकै प्रधानमन्त्री हुनुहुन्छ । उहाँले सबै धर्मलाई समान रूपमा हेर्नुपर्छ ।
उहाँले भारतमा गर्नुभएको पूजापाठ प्रधानमन्त्रीको हैसियतमा हो, कम्युनिष्ट पार्टीका अध्यक्षको हैसियतले होइन । त्यहाँ गएर त्यसरी पूजा गर्नु भनेको हाम्रो लागि पनि गौरवको विषय हो । नेपालमा रहेका लाखौँ हिन्दुहरुको सम्मान हो त्यो । यसमा विवाद गर्ने नानाथरी कुरा गर्ने कुनै कारण नै छैन ।
उहाँ भारतको मन्दिरमा मात्र होइन, नेपालको पशुपतिमा गएर पनि पूजा गर्नुभएको हो । धर्मनिरपेक्ष राज्यमा यस्तो हुन्छ ।
भारतको महाकालेश्वर मन्दिरमा पूजा गरेपछि मात्र पशुपतिमा पनि पूजा गर्नुपर्छ भन्ने दिव्यज्ञान त्यहीबाट प्राप्त हुनु तपाईंलाई अनौठो लागेन ?
–जुन महाकालेश्वर मन्दिरमा दर्शन गर्न जानु भयो, त्यहाँको जल र प्रसाद पशुपतिमा चढाउनुपर्ने चलन रहेको छ । दुई पिठाधीशको आफ्नै सम्बन्ध रहेकाले त्यसको सम्बन्धलाई अझै बलियो बनाउन प्रधानमन्त्री प्रचण्ड पशुपति पनि दर्शन गर्नुभएको हो । सरकार प्रमुखको त्यो कर्तव्य पनि हो ।
भारत र नेपालको भगवान् बराबर हुन् । दुईटै मन्दिर विश्वको प्रख्यात मन्दिर हो । पर्यटकीय हिसाबले पनि यी मन्दिरको दर्शन हुनु राम्रो पनि हो ।
नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भने प्रयास न नेपालले गरेको देख्छु ,न भारतले गरेको देख्छु । यसमा अमेरिकाले बिना करण टाउको दुखाएको छ ।
हिन्दु राष्ट्रको विषयमा अमेरिकाको प्रतिवेदन आउनु, त्यसपछि प्रधानमन्त्री प्रचण्ड भारतको चर्चित मन्दिरमा गएर विशेष पूजा गर्नु, नेपाल फर्केपछि पशुपतिमा गएर पूजा गर्नु, यसले के नेपाललाई हिन्दु राष्ट्र बनाउन भूमिका बाँधिएको हो त ?
–मलाई यो विषयमा गहिरो अध्ययन छैन । तर, अमेरिकाको जुन प्रतिवेदन आएको छ, त्यो पूर्णता पूर्वाग्रही प्रतिवेदन हो । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनका लागि कहिले आन्दोलन भएन ।
तर, संविधान निर्माण हुँदाखेरी धर्मनिरपेक्षता लागु भयो । धेरै मानिसलाई थाहा पनि थिएन, संविधानमा आइसकेपछि मात्र धेरैले थाहा पाए । संविधानमा आइसकेपछि कसैले विरोध गरेन सबैलाई माने । धर्मनिरपेक्षता सबैले स्विकार गरेका छन् भने अमेरिकाले त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नुको कुनै तुक छैन । त्यो प्रतिवेदन प्रायोजित हो जस्तो मलाई लाग्छ ।
नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भने प्रयास न नेपालले गरेको देख्छु ,न भारतले गरेको देख्छु । यसमा अमेरिकाले बिना करण टाउको दुखाएको छ ।
तपाईंको विचारमा नेपाल हिन्दु राष्ट्र हुनुपर्छ कि पर्दैन ?
–भावनात्मक रूपमा हिन्दुहरूको सङ्ख्या धेरै छ । जनमत सङ्ग्रहद्वारा वा अरू कुनै मुभमेन्टद्वारा हिन्दु राष्ट्र भयो भने त्यसमा आश्चर्य मान्नु हुँदैन । किनभने देशमा हिन्दुहरूको बाहुल्यता छ । तर राज्यको नीतिमा नै धर्मनिरपेक्ष लेखाई सकेपछि हिन्दु राष्ट्रको बारेमा अहिले सोच्न पनि सकिँदैन ।
मुर्रा जातको राँगोको बारेमा जुन विषय उठेको छ, त्यो असान्दर्भिक छ । यसलाई म मानसिक दिवालियापन भन्छु ।
तपाईं सम्बद्ध माओवादी पार्टीमा पनि हिन्दु राष्ट्रको एजेण्डा प्रवेश गरेको छ । पार्टी नेता रामकुमार शर्माले हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने माग गर्नुभएको छ । पार्टी अब हिन्दु राष्ट्रका लागि अगाडि बढ्छ त ?
–रामकुमारजीले पार्टीमा के भन्नु भएको छ त्यो मलाई आधिकारिक रूपमा थाहा भएन । यस विषयमा पार्टीमा कुनै छलफल भएको छैन । धर्मनिरपेक्षका लागि लडेको पार्टी हिन्दु राष्ट्रमा अल्झिन्छ जस्तो लाग्दैन । मलाई लाग्दैन कि प्रधानमन्त्री प्रचण्ड हिन्दु राष्ट्रका लागि तयार हुनुहुन्छ होला ।
मेरो विचारमा धर्मलाई विवादमा ल्याउनु हुँदैन । जुन व्यक्ति, जुन धर्म मान्छन्, त्यसलाई परिवर्तन गराउनु हुँदैन जस्तो लाग्छ । जसले जे मानिरहेका छन्, त्यसलाई मान्न दिनुपर्छ । कसैलाई जबरजस्ती गर्नुहुँदैन ।
तपाईं कृषि फर्ममा पनि लाग्नु भएको छ । प्रधानमन्त्री प्रचण्डको भ्रमणमा त्यस्ता महत्त्वपूर्ण सम्झौताहरू भए तर ती सबैलाई गौणमा राखेर मुर्रा जातको राँगाको कुरा बढी चर्चा पायो, यसलाई कसरी लिनु भएको छ ?
–मुर्रा जातको राँगोको बारेमा जुन विषय उठेको छ, त्यो असान्दर्भिक छ । यसलाई म मानसिक दिवालियापन भन्छु । नेपालमा आउने मुर्रा जातका राँगा ल्याउनु भनेको नेपालको कृषिलाई समृद्ध बनाउनु हो । देशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि भएको प्रयास हो । दूधमा उत्पादनमा आत्मनिर्भरका लागि मुर्रा जातको राँगा ल्याइएको हो । तर, त्यसलाई यहाँका सांसदहरूले मजाकको विषय बनाएका छन् ।
सात वर्ष पहिले भएको सम्झौताअनुसार अहिलेको यो मुर्रा जातको राँगो आएको हो । प्रधानमन्त्री प्रचण्डले सम्झौता गर्नुभएको होइन । तर अहिले प्रधानमन्त्री प्रचण्ड भ्रमणमा गएको बेला भारतले दिने घोषणा गरेको छ । यसलाई पनि ठुलो कुरा मान्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत