रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार
आज २०८० जेठ ३० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
अस्पतालमा राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि ७९ बर्षीय पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । राष्ट्रपति पौडेललाई भोलि मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको हो।
कारण देखाऊ आदेश
सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।
आत्मदाहको प्रयास
नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मोरङ कटहरीका निरजकुमार कामतले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका हुन् ।
चीन विरोधी गतिविधि नहोस्
चीनले नेपालमा चीन विरोधी गतिविधि नहोस् भनेर अनुरोध गरेको छ । चिनियाँ जन राजनीतिक परामर्श दातृ सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हु निङ र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाबीच मंगलबार बेइजिङगमा भएको भेटमा चिनियाँ पक्षले यस्तो अनुरोध गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १० जना वकिलले बहस गरेका छन् । मंगलबार १० वकिलले बहस गर्दा नसकिएकाले बुधबार पनि थुनछेक बहस जारी रहने छ ।
देउवा सिंगापुर जाँदै
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज (मंगलबार) राति ‘फलोअप’का लागि सिंगापुर जाने भएका छन् l देउवाले पछिल्लो एक दशकदेखि सिंगापुरमा उपचार गराउँदै आएको उनको सचिवालयले जनाएको छ ।
एमालेको युटर्न
मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर मुख्यमन्त्रीलाई दोस्रो पटक विश्वासको मत लिन बाध्य बनाएको नेकपा एमालेले सरकारलाई फेरि समर्थन गरेको छ । नेकपा एमालेले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री सरोजकुमार यादवलाई फेरि विश्वासको मत दिएको हो ।
दौरा–सुरुवाल र धर्मको ब्रह्मज्ञान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक सरकारको नेतृत्व गरिरहेका छन् । तर उनको यो कार्यकाल अघिल्ला दुई कार्यकालको तुलनामा भिन्न देखिएको छ । खासगरी उनले आफ्नै जीवनशैली र आचरणमार्फत त्यो भिन्नतालाई उजागर गर्दै आएका छन् ।
बैंकविरुद्ध बहस
सोमबार बिहान १० बजेदेखि बसेको अर्थ समितिको बैठकमा सांसदहरुले बैंकविरुद्ध बहस छेडेका छन् । बिहान ८ बजेदेखि बस्ने भनिएको बैठक २ घण्टा ढिलागरी बसेको थियो । धितोपत्र बोर्डले वितरण गर्न लागेको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्न बसेको बैठकको छलफल बैंकविरुद्ध मोडिएको हो ।
एक महत्त्वाकांक्षी युवाले देखेको सपना
पक्कै हो, सपना निदाएपछि मात्र देखिन्छ । तर, संसारमा केही यस्ता महत्त्वाकांक्षी व्यक्ति पनि हुन्छन्, जसलाई खुला आँखाले देखेको सपना पूरा गर्ने हुटहुटीले रातभर निदाउनै दिँदैन । यो कथा पनि त्यस्तै एक महत्त्वाकांक्षी युवाको हो ।