बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट सङ्क्रमित

मङ्गलबार, ३० जेठ २०८०, २० : २४
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ । 

महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ । ती जिल्लामध्ये सबभन्दा बढी प्रभावित कैलाली, सुनसरी र महोत्तरी रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावरी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिकाको वडा नं २ र ५ रहेका छन् । ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अहिलेसम्म दादुराको प्रकोपबाट बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यही जेठ २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । दादुरा प्रकोप प्रभावित जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ । 

बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । दादुरा रुबेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा सङ्क्रमितले १८ जनासम्म रोग सार्न सक्दछ । मन्त्रालयले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरिएको छ ।

महाशाखाले काठमाडौँका सबै स्वास्थ्य संस्था, निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाएको छ ।  

सबै स्वास्थ्य संस्था र निजी अस्पताललाई दादुराको शङ्कास्पद केस नगरपालिका र स्वास्थ्य सेवा विभागमा प्रतिवेदन पेश गर्न अनुरोध गरिएको छ । यस्तै दादुराको निगरानीको लागि सबै जिल्ला र नगरपालिका फोकल पर्सनलाई संवेदनशील हुनसमेत महाशाखाले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप