छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण
काठमाडौँ । आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् । जेठ ३२ गते संसदीय सुनुवाइ गरेर कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गर्न लागिएको हो ।
सघीय संसद् संयुक्त संसद् नियमावलीमा भएको व्यवस्था अनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ । संसदीय सुनुवाइमा प्रस्ताव अनुमोदनको लागि बहुमत भए पुग्ने र अनुमोदन नगर्न दुई तिहाइ सदस्यको मत चाहिने भएकाले समितिमा रहेको मतको आधारमा कार्की छोटो समयको लागि प्रधानन्यायाधीश बन्ने भएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए । उनले भने, ‘प्रस्तावित व्यक्ति अनुमोदन हुने–नहुने भन्ने विषय समितिले निर्णय गर्ने विषय हो । प्रस्तावित व्यक्तिसँग समेत छलफल गरिसकेपछि समितिको बैठकले नियमावली बमोजिम दुई तिहाइबाट अस्वीकृत भएन भने अनुमोदन भएको मान्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।’ अनुमोदनपछि प्रधानन्यायाधीश कार्कीले आफ्नो काम नियमित रूपमा असार २० गतेसम्म मात्र गर्नेछन् । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा १ महिनाअघि बिदामा बस्ने चलन छ ।
संसदीय सुनुवाइ हुनुअघि समितिले कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । संघीय संसद् सचिवालयका प्रवक्ता गिरीले समितिमा २९ वटा उजुरी परेको र त्यसको छानबिन र अनुसन्धान भइरहेको बताए । कामु प्रधानन्यायाधीश कार्कीलाई एक बहालवाला जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले प्रधानन्यायाधीशको लागि अयोग्य भनेर उजुरी गरेका छन् । बहालवाला न्यायाधीशले प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएको यो पहिलो घटना हो । प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई उजुरी दिनेमध्ये केही व्यक्ति संसदीय सुनुवाइको लागि सिफारिस हुने सबै व्यक्तिलाई निरन्तर उजुरी दिने व्यक्तिहरू पनि रहेको प्रवक्ता गिरीले जानकारी दिए । संसदीय सुनुवाइ समितिले जेठ ३१ गते उजुरी कर्ताहरूसँग छलफल गर्ने भएको छ । यसपछि प्राप्त उजुरीमध्ये योग्य उजुरीलाई सुनुवाइको समयमा प्रश्नको रूपमा लगिने प्रवक्ता गिरीले बताए ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ सुरु गर्न संसद्बाट सुनुवाइ समिति गठन नहुँदा लामो समय सुनुवाइ प्रभावित बनेको थियो । गत जेठ १४ गते संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित भएसँगै सुनुवाइ समिति गठनको बाटो खुलेको थियो । सदनले सोही दिन समिति गठन गरेसँगै समितिले जेठ १७ गते सार्वजनिक सूचनामार्फत १० दिनको समय दिई कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो ।
कसैले व्यक्तिगत र कसैले संयुक्त रूपमा उजुरी दिएको समिति सचिवालयले जनाएको छ । जसमध्ये ५ उजुरी इमेलमार्फत आएका छन् भने २४ वटा उजुरी लिखित छन् । उजुरीमा कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति हुन अयोग्य रहेको दाबी गरिएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका व्यक्तिविरुद्ध जो कोहीले पनि उजुरी दिनसक्ने व्यवस्था छ । तर बहालवाला न्यायाधीश नै आफैँ उजुरी बोकेर संसदीय सुनुवाइ समितिमा पुगेको यो पहिलो घटना हो । प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले सुनुवाइ समिति सचिवालयमा उजुरी दिएका छन् । रोलक्रममा जुनियर कार्कीलाई राजनीतिक आडबाट बनाइ सर्वोच्च प्रवेश गराएको र अहिले प्रधानन्यायाधीशमा सिफारिस गरिएको उजुरीकर्ताहरूको आरोप छ । उनीहरूले कार्कीमा कार्य क्षमताको अभाव रहेको प्रश्न उठाएका छन् ।
कार्कीविरुद्ध संसद् विघटन मुद्दामा स्वार्थ बाझिने गरी सुनुवाइ गरेर बदनियत देखाएको आरोप छ । साथै कार्कीमा न्यायिक विचलन देखिने गरी काम गरेको आरोप समेत छ । कार्कीको शैक्षिक योग्यता कमजोर रहेको उजुरीकर्ताको आरोप छ । केही उजुरीकर्ताले भने संवैधानिक परिषद् सम्बन्धी कानुन नै रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीशमा सिफारिस गर्नु गैरकानुनी रहेको उजुरी सचिवालयमा दिएका छन् । संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक संसद्मा विचाराधीन रहेको र कानुनी रिक्तता रहेको बेला परिषद्बाट भएको सिफारिस गैरकानुनी रहेको उनीहरूको ठहर छ ।
अवैध सिफारिसलाई समितिले सुनुवाइ गर्न नमिल्ने पनि उजुरीकर्ताको उजुरीमा रहेको छ । न्याय परिषद् ऐनको दफा ३१ अनुसार ६० दिन पहिला नै पदमा नरहेको जानकारी सम्बन्धित व्यक्ति र निकायलाई दिनुपर्ने व्यवस्थाको स्मरण गराउँदै नियमअनुसार जेठ १९ गते नै कार्कीले न्यायपरिषद्बाट पदमा नरहेको जानकारी पाइसकेको र सर्वोच्च प्रशासनलाई पनि जानकारी दिइएको जिकिर उजुरीमा गरिएको छ । ऐनअनुसार पदमा नरहने चिठी पाइसकेको व्यक्ति त्यो भन्दा माथिको पदमा जान नमिल्ने कतिपय उजुरीकर्ताको भनाइ छ । १९ साउनदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जानुपर्ने कार्कीलाई सिफारिस गरिएको भन्दै उजुरी गरेका छन् ।
गत वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइ समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते गर्ने र र त्यसै दिन सो प्रस्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको छ । कार्यतालिकामा उजुरीकर्ताहरूसँग छलफलका लागि जेठ ३१ गते बुधवार बिहान ११ बजेको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास