देउवाको स्वास्थ्यमा के छ समस्या ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज (मंगलबार) राति ‘फलोअप’का लागि सिंगापुर जाने भएका छन् l देउवाले पछिल्लो एक दशकदेखि सिंगापुरमा उपचार गराउँदै आएको उनको सचिवालयले जनाएको छ ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार २–२ वर्षमा ‘फलोअप’मा जानुपर्ने थियो । २०७८ असारमा देउवा प्रधानमन्त्री बनेपछि व्यस्तताका कारण ‘फलोअप’का लागि सिंगापुर जाने परिस्थिति बनेको थिएन ।
भानुका अनुसार पार्टीको १४ औं महाधिवेशन र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण ‘फलोअप’ रोकिएको थियो । देउवाले २०७० यता सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा उपचार गराउँदै आएका छन् । ‘करिब डेढ दशक अघि वीर अस्पताल र टिचिङमा धेरै उपचार गराउनु भयो । टिचिङमा मधु घिमिरेले हेर्नु भएको थियो,’ भानुले रातोपाटीलाई भने, ‘रोग नै पत्ता लागेन । पछि सिंगापुरमा उपचार गराउँदा पेटमा समस्या देखियो ।’
उनका अनुसार २०७३ भदौ १० मा देउवा स्वास्थ्य जाँचका लागि पत्नी आरजु देउवा राणासहित सिंगापुर पुगेका थिए । त्यसपछि २०७५ साउन २३ मा पनि देउवा उपचारका लागि सिंगापुर गएका थिए ।
त्यतिबेला आँखासँगै पेटमा समस्याको पनि उपचार गरिएको थियो । ‘सिंगापुरमा उहाँको आँखाको समेत उपचार गरेपछि चस्मा लगाउन छाड्नु भएको हो । आँखाको लेन्सको समस्या थियो, अहिले निको भएको छ,’ उनले भने ।
भानुका अनुसार त्यसको ११ महिनापछि ९ जेठ २०७६ मा देउवा पुनः सिंगापुर गएका थिए । चार वर्षपछि देउवा दम्पतीको सिंगापुरमा उपचार हुने भएको छ । भानुका अनुसार कांग्रेस केन्द्रीय सदस्य तथा देउवा पत्नी आरजु राणा सोमबार नै सिंगापुर प्रस्थान गरिसकेकी छन् ।
आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जाँदै छन् । देउवाका साथ भानु पनि जाने भएका छन् । भानुले भने, ‘मेडम (आरजु) हिजो नै गइसक्नु भएको छ । आज हामी जाँदैछौं ।’
देउवा प्रधानमन्त्री रहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका चिकित्सक रहेका डा. शैल रुपाखेतीले देउवामा कुनै स्वास्थ्य समस्या नरहेको बताए ।
उनले रातोपाटीलाई भने, ‘मैले ११ महिना उहाँको स्वास्थ्यबारे नजिकबाट हेरेको छु । उहाँमा कुनै समस्या छैन । ब्लड रिपोर्ट त मेरोभन्दा राम्रो छ ।’
देउवाले सामान्य डोजको प्रेसर सम्बन्धी औषधिमात्र सेवन गर्ने गरेको डा. रुपाखेतीको भनाइ छ । उनले भने, ‘उहाँले २.५ को डोजमा प्रेसर सम्बन्धी औषधि सेवन गर्नुहुन्छ । अरु कुनै रोगको औषधि सेवन गर्नु परेको छैन ।’
डा. रुपाखेतीका अनुसार १०–१५ वर्षअघि देउवाले सिंगापुरमा आँखाको उपचार गराएका थिए । उनले भने, ‘पहिले उहाँले चस्मा लगाउनु हुनुहुन्थ्यो । १०–१५ वर्षअघि सिंगापुरमा आँखाको उपचार गराएपछि उहाँले चस्मा लगाइराख्नु परेको छैन ।’
राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्नेमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्मको लामै सूची छ । पाँच पटक मुलुकको प्रधानमन्त्री भएका देउवा भने अपवाद देखिएका छन् । सरकारको रेकर्डमा देउवाले उपचार खर्चको नाममा अहिलेसम्म कुनै सुविधा लिएको देखिएको छैन ।
उनको सचिवालयका अनुसार अहिले पनि उनी व्यक्तिगत खर्चमा सिंगापुरमा फलोअफका लागि जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय