सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

के हो यो सेटिङ भनेको ?

मङ्गलबार, ३० जेठ २०८०, १५ : १८
मङ्गलबार, ३० जेठ २०८०

सेटिङ शब्द केही समय अघि मात्र बोलीचालीको भाषामा आएको हो । साधारण मानिसले यसको अर्थ नबुझे पनि यसको भाव भने धेरैले बुझेकै छन् । अंग्रेजी शब्द यो अहिले पूरै नेपालीकरण भइसकेको छ । 

सेटिङको अर्थ नेपालीमा गोप्य रूपमा मिलेमतो गर्नु हो, तर यसो भन्दा कसैले बुझ्न सक्दैन । किनभने यसलाई हामीले नेपाली शब्द बनाइसकेका छौँ । सेटिङ भन्ने बानी बसिसकेको छ, बुझ्न पनि यो शब्द सजिलो छ ।

भुइँमान्छेका लागि यो सेटिङ शब्दले खासै महत्त्व राखेको हुँदैन । यो शब्द ठुलाबडाका लागि मात्र बनेको हो । त्यसैले आजकाल बारम्बार प्रयोग भइरहेको छ । भित्रभित्र कसरी प्रयोग हुँदो रहेछ भन्ने सबैको कुतूहलको विषय बन्दो रहेछ । बाहिर आए पो कुतूहल मेटिन्थ्यो । बाहिर त ल्याइँदै ल्याइँदो रहेनछ । कसैले भनिदियो भने बित्यास परिहाल्छ भनेर यतिसम्म गोप्यता कायम गरिँदो रहेछ कि जस्तै खोजतलास गरे पनि पत्तै लगाउन नसकिने । कस्तो अचम्मको रहेछ त यो सेटिङ शब्द ?

पढे–लेखेकाले पनि प्रयोग नगर्ने यो सेटिङ शब्द अहिले जोसुकैको मुखमा झुन्डिएको छ । यस्तो विकृति कसले ल्यायो भन्ने पनि आउन सक्छ । यो सामान्य मानिसले ल्याएकै होइनन् । यो त ठुल्ठूला दिग्गज व्यक्तिको दिमागमा खाइखेली गरेको शब्द रहेछ । बिचरा तपाईं–हामी जस्ताका लागि किन आवश्यक पर्‍यो र ? न धन कमाउनु छ, न राजनीति गर्नु छ, न त कुनै खराब काम गरेर अकुत सम्पत्ति जोड्नु छ । यो ठूलै शक्ति र सत्तामा बस्नेले प्रयोगमा ल्याउने शब्द रहेछ । उनीहरूले ल्याएको हुनाले नै साधारण मानिसले थाहा पाउन नसकेका हुन् ।

अहिले सेटिङ मूलतः न्यायालय, ठेक्कापट्टा, राजनीति दललगायत अन्य महत्त्वपूर्ण जिम्मेवारीमा भएकासँग सम्बन्धित देखिन्छ ।

जहाँ स्वार्थको खेल खेल्नु छ, जहाँ शक्तिको खेल खेल्नु छ, जहाँ पैसाको खेल खेल्नु छ, जहाँ छलकपट गर्नु छ, जहाँ अरुलाई धोका दिनु छ, जहाँ अर्काको सम्पत्ति हडप्नु छ, त्यहाँ सेटिङले डेरा जमाएको हुँदो रहेछ । यो सेटिङलाई खेलाउन अरुले सक्दा रहेनछन् । जो शक्तिशाली छ, उसैले खेलाउन सक्दो रहेछ । भुइँमान्छेले त चिताउनैपर्दो रहेनछ । अर्को कुरा सेटिङले उनीहरूलाई चिन्दै चिन्दो रहेनछ । चिनेर पनि के काम लाग्यो, त्यसलाई चलाउन सकिँदैन भने !

यो शब्दको संरचनाको अध्ययन गर्दा सेटबाट सेटिङ भएको देखिन्छ । सेट भनेको टाँसिनु, नउप्किनु, कमजोर नहुनु र अखण्ड भएर सधैँ रहिरहनु हो, दुर्भाग्य कहिलेकाहीँ यो बिग्रिन पुग्दो रहेछ । किनकि सेटिङ राम्रोसँग जम्न वा बस्न नसकेर कमजोर बन्दो रहेछ । जस्तो घरको ढलान गर्दा राम्रोसँग सिमेन्ट, बालुवा, गिटी, पानीको अनुपात मिलाउन सकिएन भने ढलान चुहिने हुन्छ । अर्थात् सेटिङ राम्रोसँग बसेको हुँदो रहेनछ । घर बनाउन नपाउँदै मर्मत गर्नुपर्ने हुन्छ । यो सामान्य अर्थ हो । तपाईं–हामीले बुझ्ने, तर ठूलाबडाले गर्ने सेटिङ भनेको अर्कै हो । जुन सेटिङले व्यक्तिलाई मात्र होइन, राष्ट्रलाई नै दुःख दिएको हुन्छ । सेटिङका कारण अहिले धेरै मानिसले दुःख पाएका छन् । राष्ट्रले दुःख पाएको छ । जे हुनुपर्ने हो त्यो नभएपछि र जे नहुनुपर्ने हो त्यो भएपछि दुःख नभए अरु के पो हुन्थ्यो र ?

अहिले सेटिङ मूलतः न्यायालय, ठेक्कापट्टा, राजनीति दललगायत अन्य महत्त्वपूर्ण जिम्मेवारीमा भएकासँग सम्बन्धित देखिन्छ । यही सेटिङका कारण गर्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीश निलम्बनमा परेका छन् । लामो अवधि भइसक्दा पनि न उनीउपर कारबाही चल्छ, न त बहाली हुन सक्छ । संसद्मा कारबाहीको प्रक्रिया अघि बढाउने भनिए पनि त्यसै तुहिएर जाने कुरा पनि समाचारमा आएको छ । कारबाही गर्ने भनिन्छ तर अगाडि सर्दैन । यस्तो अवस्था सिर्जना हुनु भनेको पहिले बनेको सेटिङ बिग्रिनुलाई लिन सकिन्छ होला । त्यसैले नेपाली काङ्ग्रेसले एमालेलाई दोष दिने, एमालेले नेपाली काङ्ग्रेसलाई दोष दिने गरेका छन् । यसमा न्यायालय बोल्ने कुरा नभए पनि उसका आफ्नै रिजर्भेसन हुन सक्छन् । 

अहिले देखिएको सेटिङ भनेको सर्प, भ्याकुतो र बिच्छी एकै ठाउँमा भएको अवस्था जस्तो हो । एकले अर्कोलाई देख्न नसक्ने तर आक्रमण पनि गर्न नसक्ने । त्यसैले तै चुप, मै चुप भएका छन् । सबै नै सेटिङमा फसेपछि कसले कसलाई कारबाही गर्ने ? यस्तो नभएको भए यति लामो अवधिसम्म सर्वोच्च अदालत जस्तो न्यायको मन्दिरमा आसीन प्रमुख न्यायमूर्तिको लाञ्छनाउपर किन कारबाही नभएको त ? भर्खर मात्र कारबाहीको प्रक्रिया अघि बढाइए पनि टुंगोमा पुग्छ भन्ने विषयमा आशंका नै देखिन्छ । आशंका मेटाउनेबारे कुनै जवाफ छ ?

सेटिङको कुरा गर्ने हो भने नेपालमा यस्ता डरलाग्दा घटना धेरै आउने गरेका छन् । केही समयअघि निकै चर्चामा आएको र अहिले सेलाउँदै गएको बालुवाटार जग्गा प्रकरणलाई लिन सकिन्छ । यसमा ठुल्ठूला मान्छेको संलग्नता भनिएको थियो । आफू फसिन्छ कि भनेर एउटा ठूलै नेताले त आफूले किनेको जग्गा नै सरकारको नाममा फिर्ता गरिदिए र आफू पानीमाथिको ओभानो हुन पुगे । उच्चपदस्थ कर्मचारी, उच्च राजनीतिकर्मी, उच्च व्यापारी, उच्च बिचौलिया र यस्तै अन्य उच्चहरूको साँठगाँठबाट सञ्चालित यो राज्यको सम्पत्ति हडप्ने घटनालाई गम्भीर रूपमा लिएको देखिँदैन । किन लिइएन, सबैलाई थाहा छ– सेटिङमा कसिएको जोड–घटाउ ।

नेपालमा निकै डरलाग्दा घटना घट्छन् र सेलाउँदै छन् । यसलाई यसरी पनि भन्न सकिन्छ– नेपालमा ठुल्ठूला मुद्दा उठान हुन्छन्, तर टुंगोमा पुर्‍याइँदैनन् । किन यस्तो हुन्छ ?

नेपालमा सेटिङ भइरहेको देखिन्छ । यसअघिका लाउडा, धमिजा, आयल निगमको जग्गा प्रकरण, ओम्नी, ३३ किलो सुनकाण्ड, चुडामणि शर्मासँग सम्बन्धित कर फस्र्योट आयोगले फस्र्योट गरेको ठूलो धनराशिको रकम, वाइडबडी खरिद प्रकरण, एनसेलको पुँजीगत लाभकर, तारागाउँको जग्गाकाण्डजस्ता ठूला र देशकै आर्थिक अवस्था डुबाउनेजस्ता जघन्य काण्ड चर्चामा छन् । तत्काल कारबाही गर्ने जस्तो बहाना सरकारले देखाए पनि हाल यी सबै काण्ड सेलाउँदै गएको अवस्था छ । उच्च तहले भ्रष्टाचार गर्ने र उच्च तहबाटै कारबाही नचलाउने हुँदा यी सबै काण्ड अन्ततोगत्वा सेलाउँदै जाने परिपाटीले प्रश्रय पनि पाउँदै आएको सन्दर्भमा भ्रष्टाचारसम्बन्धी कारबाही केवल औपचारिकतामा मात्र सीमित हुन गएको छ । यी केही प्रतिनिधिमूलक काण्डलाई सरकारले मुद्दा चलाई टुंगोमा पुर्‍याउन सके पनि सरकारप्रति जनताको विश्वास बढ्न जाने थियो, तर अवस्था त्यस्तो देखिँदैन । किनकि मुद्दा सेलाउँदै जानु भनेको यी सबै सिमेन्ट जमेको जस्तो गरी सेटिङ भइसकेका छन् ।

सेटिङ भनेकै उच्च तह तथा कुलीन वर्गसँग जोडिएको हुँदो रहेछ । मधेस प्रदेशले साइकल खरिद गरेको प्रकरणले एकपटक खुबै चर्चा पाएको थियो । ठूलै घोटालाको कुरा आएको थियो । करोडौँ करोडको भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु पनि गरेको थियो । पछि उच्च वर्गबाटै विरोध पनि भएको थियो । अहिले यो घटना त्यसै सेलाउँदै गएको अवस्थामा छ, कतिले सफाइ पाइसके ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले अस्पताल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो, तर ठेक्कामा केही निश्चित कम्पनीलाई मात्र मिल्ने गरी सेटिङ गरेर बोलपत्र माग गरियो भन्ने समाचार आएको थियो । मर्का पर्ने पक्षले अदालतमा मुद्दा हालेका र अदालतबाट ठेक्कापट्टा अघि नबढाउनु भन्ने अन्तरिम आदेश जारी भएको थियो पनि । यसरी सेटिङ भन्ने कुरा कुनै निश्चित क्षेत्रमा मात्र नभई यसको सञ्जाल विभिन्न क्षेत्रमा फैलिँदै गएको देखिन्छ ।

अहिले जल्दोबल्दो सेटिङ भनेको नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउनु हो । यसमा बहालवाला गृहमन्त्री, गृहसचिव, पूर्वउपप्रधानमन्त्री र उनका छोरा, पूर्वरक्षामन्त्रीका सल्लाहकार र उनका छोरा लगायत धेरै बिचौलिया मिलेर अर्बौं रुपैयाँ असुलेका रहेछन् । लेनदेनमा कुरो नमिलेपछि सेटिङ भत्किन पुगेछ । परिणामस्वरूप अहिले मन्त्री, सचिव, बिचौलिया लगायत सेटिङमा संलग्न हुनेहरू प्रहरी हिरासतमा छन् । हेरौँ त राजनीति र प्रशासन सञ्चालन गर्नेहरूको हबिगत ! सेटिङको करामत !

यसबाट यो बुझ्न सकिन्छ, नेपालमा निकै डरलाग्दा घटना घट्छन् र सेलाउँदै छन् । यसलाई यसरी पनि भन्न सकिन्छ– नेपालमा ठुल्ठूला मुद्दा उठान हुन्छन्, तर टुंगोमा पुर्‍याइँदैनन् । किन यस्तो हुन्छ ? सबैलाई थाहा भए पनि प्रश्न अनुत्तरित छ । हैन, के हो यो सेटिङ भनेको ? 

(लेखक पूर्वउपसचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णमणि पराजुली
कृष्णमणि पराजुली
लेखकबाट थप