मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बुद्ध दर्शनमा पर्यावरण र पारिस्थितिक प्रणाली

मङ्गलबार, ३० जेठ २०८०, १२ : ३२
मङ्गलबार, ३० जेठ २०८०

जगत्मा विराजमान सबै वस्तु, प्राणी, वनस्पति इत्यादिप्रति करुणा र समभावको दृष्टि राख्ने भएका कारण बौद्ध परम्परामा पर्यावरणीय सन्तुलनलाई विशेष महत्त्व दिइएको  भन्न सकिन्छ । 

जैन, हिन्दु र बौद्ध परम्पराका अनुयायीहरू प्रकृति र वातावरणका सम्बन्धमा जागरुक थिए । कर्मफलको सिद्धान्तमा विश्वास गर्ने भएकाले बौद्ध र हिन्दुका दुइटै सम्प्रदायले प्रकृतिलाई नष्ट गर्ने खालका कुनै पनि कृत्य नगर्न आममानिसलाई सचेत गराएका छन् । यद्यपि संसारलाई नै माया र भ्रम ठान्ने यी दुवै दर्शनले आफ्नो पर्यावरणीय दृष्टिकोणको आधारशिला के हो भन्ने कुरा प्रस्टसँग बताएका छैनन् ।

बौद्ध दर्शनले व्यक्तिगत सम्पत्तिलाई अहङ्कारको स्रोत मानेको छ, तर उसले आफ्ना भिक्षुलाई दानशीलता र दानपारमिताको पनि महिमा सिकाएको हुनाले सम्पत्तिको स्रोतका रूपमा रहेका प्राकृतिक साधनप्रतिको संरक्षण र समभाव कसरी र कुन सीमासम्म राख्न सकिन्छ भन्न संकोच मानेको देखिन्छ । 

सबैजसो प्राचीन आर्य धर्मले जस्तै बौद्ध धर्मले पनि त्याग र आत्मसन्तुष्टिलाई उच्च स्थानमा राखेको छ । यद्यपि, मध्य मार्गमा हिँड्ने बुद्धको शिक्षाको अनुरूप भिक्षुहरूले आफ्नो व्यक्तिगत सम्पत्ति पूर्ण रूपमा त्याग गर्ने अपेक्षा गरिएको थिएन ।

आफूले खोजेको जीवनको सत्य र प्रकाश उनले वनभित्रै पाएकाले हुन सक्छ उनी वनवास र प्रकृतिलाई अगाध प्रेम गर्थे । यद्यपि उनले सबैलाई अनिवार्य रूपमा श्रमण बन्न र संन्यासको जीवन बाँच्न उत्प्रेरित भने गरेनन् ।

भिक्षु अनुशासनले केही सम्पत्ति राख्ने अनुमति दिएको छ, तर ती सम्पत्ति पूर्ण रूपमा प्रयोग गर्न भनिएको छ र भिक्षुहरूले कुनै पनि हालतमा विलासी जीवन बाँच्नु हुँदैन भनिएको छ । भिक्षुलाई सबै प्रकारका विलासिता र अपव्ययबाट बच्न आदेश दिइएको हुँदा भिक्षुले आफ्ना चिजलाई रिसाइकल गरेर तिनको पुनर्प्रयोग गर्न सुझाइएको छ । भिक्षुका सरसामान फाटे वा बिग्रिएपछि पनि तिनीहरूलाई मर्मत गरेर पुनः प्रयोग गर्न सकिन्छ ।

बुद्धले खासमा भन्दा कुनै बस्ती बसाएर कुनै सामुदायिक सांस्कृतिक जीवन पद्धतिमा रहन अस्वीकार गरेका थिए । कुनै बस्तीमा बसोबास गर्ने व्यक्तिको रूपमा त्यहाँका सामाजिक सांस्कृतिक अस्तित्व बाँच्न अभ्यस्त जीवन पद्धतिलाई रुचाएनन् । उनी त घुमन्ते र यायावरीय जीवन प्रणाली मन पराउने संन्यासी थिए । 

आफूले खोजेको जीवनको सत्य र प्रकाश उनले वनभित्रै पाएकाले हुन सक्छ उनी वनवास र प्रकृतिलाई अगाध प्रेम गर्थे । यद्यपि उनले सबैलाई अनिवार्य रूपमा श्रमण बन्न र संन्यासको जीवन बाँच्न उत्प्रेरित भने गरेनन् । त्यसो भएको हुँदा उनले समाज, सभ्यता र प्रकृतिको त्रिकोणात्मक सम्बन्ध र तिनीहरूबीचको सन्तुलन सम्यक ढङ्गले बोध गरेका थिए । 

उनको यो सन्तुलित बोध पछि गएर उनका अनुयायीका निम्ति एउटा अनुकरणीय नमुना बनेको छ । किन्तु अहिले बौद्धहरूको विलासी जीवन र पर्यावरणप्रतिको उदासीनताले बुद्ध दर्शनको पर्यावरणीय चेतनामाथि गम्भीर सवाल उठेका छन् । बुद्धको प्रकृतिप्रेम र ऐकान्तिक जीवनपद्धतिलाई धेरै भिक्षुले जीवनको आदर्श मानेका छन्, किन्तु बुद्धको आन्तरिक प्रकाशबाट कति भिक्षु प्रकाशित भएका छन् भन्ने प्रश्न संवेदनशील छ । वास्तवमा बुद्धले वनजङ्गलको समीपमा प्राप्त गरेको आनन्दका पछाडि कुनै सन्तुलित, शान्त, सुगन्धित र सौम्य पर्यावरणीय शक्तिको पनि भूमिका रहेको थियो भन्ने विश्लेषण गर्न सकिँदो हो । 

बुद्धका सुरुतिरका केही अनुयायीले बुद्धले वनमा पाएको सत्यलाई धेरै गम्भीरतापूर्वक लिएका थिएनन् । भिक्षुहरू भन्थे : वनहरू रमाइला हुन्छन् । यहाँ साधारण मानिसले कुनै आनन्द पाउँदैनन्, किन्तु इच्छाबाट मुक्त हुनेहरू यहाँ रमाउन सक्छन् । इच्छामुक्त व्यक्ति विषय र वासनाजन्य सुखको खोजी गर्दैनन् । हलुकासँग गरिएको टिप्पणी भए पनि वन भनेका वासनामुक्त मानिसका निम्ति नै उपयुक्त हुन्छन् । 

मानव समुदाय र प्रकृतिको मिलन कुनै एक साधारण रोमान्टिक खोज होइन । यो सम्मिलन वास्तवमा मानव र प्रकृतिबीचको पर्यावरणीय सन्तुलन हो । वन भनेको कविको काव्यात्मक आनन्द पोख्ने ठाउँ हो भनेर स्वीकार गर्न सकिएला, अपितु वनजङ्गल र वन्यजन्तु अनि वनस्पतिको सन्तुलनबाट बनेको पारिस्थितिक प्रणालीको संवेदनशीलतामा मानव समुदाय गम्भीर बन्नैपर्छ । जङ्गल खतरनाक हुन्छ तर जङ्गल नै एउटा यस्तो चुम्बकीय गुण भएको ठाउँ हो, जसले आध्यात्मिक डर अनि आकर्षणको दोहोरो पहिचान बनाइरहेको हुन्छ । 

यद्यपि वन–जङ्गलबाट मानिसको दिमागमा डर उत्पन्न हुन्छ । साथै वनले मानिसलाई अर्को पाटोबाट बोलाइरहेको हुन्छ । आकर्षण र विकर्षणको यो अरण्य खेलबाट मानिसहरू आफ्नो सोचलाई हरपल नयाँ बनाउन खोजिरहेका हुन्छन्, किनभने जङ्गलले मानिसको चिन्तन प्रणालीलाई निरन्तर परिवर्तित गराइरहेको हुन्छ । 

वनले बोलाइरहेको बुद्धको मन थामिन सकेन र उनी सांसारिक सुखभोग छाडेर वनतर्फ लागेका थिए । वनको बोलाहटमा आकर्षण हुन्छ । प्रेम र सद्भाव हुन्छ, अनि हुन्छ मानव चेतनालाई सन्तुलनको मार्गमा हिँडाउने शक्ति । वन भनेको त्यही स्थान हो, जहाँ सत्य खोज्नेहरूले अनन्ततामा महŒवपूर्ण अन्तर्दृष्टि प्राप्त गर्नेछन् ।

बौद्ध दर्शनको प्रतीत्यसमुत्पादको सिद्धान्तको केन्द्रीय भाव विचार गर्दा कारणहरूको शृंखला अनुसार पारिस्थितिक प्रणालीलाई मनन गर्ने आधुनिक अवधारणा र इकोलजिकल ब्यालेन्स कति महत्त्वपूर्ण रहेछ भन्ने आभास हामीलाई हुन्छ । वास्तवमा बुद्ध दर्शनको प्रतीत्यसमुत्पादले प्राचीनकालमै पर्यावरणीय सन्तुलनको अवधारणा हृदयाङ्गम गरेको बुझिन्छ । 

यसको अर्थ के हो भने संसारका हरेक जीवात्माको अर्को कुनै जीवात्मासँग कहीँकतै सम्बन्ध रहेको हुन्छ ।

जगत्मा कुनै चिज एक्लो, स्वतन्त्र र निरपेक्ष छैन भनी विज्ञानले भनेको छ । अझ आइन्स्टाइनको सापेक्षताले यसै भनेको छ । कुनै पनि चिज र वस्तु कहिल्यै एक्ला, स्वतन्त्र र निरपेक्ष हुँदैनन् भने प्रस्ट छ : चीजहरूको अन्तर्निर्भरता र अन्तर्सम्बन्ध स्थापित हुन्छ । 

गतिको सिद्धान्तले सबै जीवित प्राणी र घटनाहरू सधैँ गतिमा हुन्छन् र यहाँ स्थिर र शाश्वत केही छैन भन्ने बुझ्न सिकाउँछ । सबै चिज एक दिन मिटिएर जाने भएकाले कसैका प्रति वा कुनै चिजका निम्ति शोक गर्नु व्यर्थ छ । 

बुद्धले यो भौतिक जगत्लाई प्राणीको जन्म, दुःख, मरण र पुनर्जन्म भइरहने अन्तहीन चक्रका रूपमा चित्रण गरेका छन् । मानिसले निर्वाण प्राप्त नगरेसम्म जन्म र मृत्युको अनन्त शृंखलाबाट पार पाउन सक्दैन भन्ने मान्यता बुद्धदर्शनले बोकेको छ । सबै मानिसले ६ वटा गन्तव्यमार्फत जगत्को अन्तहीन परिक्रमा गरिरहेका हुन्छन् । आफ्ना भिक्षुलाई अवलोकन गर्दै बुद्ध भिक्षुहरूलाई भन्छन्– तपाईंका आमाबुबा वा तपाईंका दाजुभाइ नभएको प्राणी भेट्टाउन सजिलो छैन । 

यसको अर्थ के हो भने संसारका हरेक जीवात्माको अर्को कुनै जीवात्मासँग कहीँकतै सम्बन्ध रहेको हुन्छ । अर्थात् जगत्मा रहेका सबै प्राणी जीवन र मरणको अनन्त शृंखलाद्वारा एक आपसमा जेलिएका छन्, त्यसकारण के भन्न सकिन्छ भने अहिलेको पर्यावरणीय सन्तुलन वा इकोलजीको भौतिक अध्ययनभन्दा बुद्धको प्रतीत्यममुत्पादको सिद्धान्त अझ जटिल, सूक्ष्म र संवेदनशील थियो । 

यही कारण अन्य प्राणीप्रति मानिसको व्यवहार करुणामय र मैत्रीपूर्ण हुनुपर्छ । यो मैत्रीभाव जीवित प्राणीसँग मात्र सम्बन्धित छैन, यो भाव त वनस्पति, जलाशय, पहाड र वायुसँग पनि जोडिएको हुनुपर्छ । 

मानिसले वनस्पतिको बिज अङ्कुरणका समयमा आफ्नो पाइला सुस्त चाल्नुपर्छ । पन्छीहरूको अण्डामा क्षति पुर्‍याउनु हुँदैन । पशुपन्छीहरूको आश्रयस्थलमा क्षति पुर्‍याउनु हुँदैन भन्नेसम्मका अति संवेदनशील उपदेश बुद्धले आफ्ना अनुयायीलाई दिएका थिए भनिन्छ । 

यस प्रकार बुद्ध दर्शनले प्रकृति र पर्यावरणको रक्षाका निम्ति जसरी र जुन गहिरो अन्तर्दृष्टिपूर्वक देशनाहरू दिएको छ, तिनको संवेदनशीलतामा आजको इकोलजी र वातावरण विज्ञान निकै फिका प्रतीत हुन्छन्, किन्तु जागतिक तथ्यका सम्बन्धमा बुद्धका कतिपय विचार भावनापरक पनि लाग्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोविन्द पौडेल
गोविन्द पौडेल
लेखकबाट थप