बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

गढीमाई साझेदारी वनका निर्वाचित कार्यसमिति सदस्यद्वारा पदभार ग्रहण

मङ्गलबार, ३० जेठ २०८०, १० : १९
मङ्गलबार, ३० जेठ २०८०

बारा । गढीमाई साझेदारी वन उपभोक्ता समूह बारा पथलैयाका नवनिर्वाचित कार्यसमिति सदस्यहरूले पदभार ग्रहण गरेका छन् । दुई साताअघि निर्वाचित कार्यसमिति सदस्यहरूलाई डिभिजन वन कार्यालय बाराले सोमबार शपथग्रहण गराए लगत्तै पदभार सम्हालेका हुन् । 

रामएकवाल साह तेलीको अध्यक्षतामा गढीमाई साझेदारी वन उपभोक्ता समूहमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । देशभर रहेका ३१ वटा साझेदारी वन समूहहरू मध्ये बाराको गढीमाई साझेदारी वनमा पहिलो पटक नयाँ कार्यसमिति चयन भएको हो ।

बाराको गढीमाईपछि कपिलवस्तु, मोरङ र लुम्बिनीका साझेदारी वनमा नयाँ कार्यसमिति चयन भएको छ ।  सङ्घीयता लागु भएपछि आवश्यक ऐन,कानुनको अभाव र वैज्ञानिक वन खारेजी लगायतका कारणले झन्डै एक दशकदेखि साझेदारी वनमा नयाँ नेतृत्व चयन हुन सकेको थिएन । पछिल्लो समय बारा पछि मधेस प्रदेशको सर्लाहीमा रहेको जानकारी नगर साझेदारी वन उपभोक्ता समूहको अधिवेशन उद्घाटन भए पनि राजनीतिक हस्त क्षेत्रका कारण नयाँ कार्यसमिति चयन हुन भने सकेन ।

बाराको ४ वटा साझेदारी वन उपभोक्ता समूह मध्ये हलखोरिया साझेदारी वनको शुक्रवार भएको अधिवेशनले विकल्प भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ सो साझेदारी वनमा उपाध्यक्ष पदमा भने विवाद कायमै छ । यता कोहल्वीमा भएको तामागढी साझेदारी वनको अधिवेशनमा विवाद भएपछि नयाँ कार्यसमिति चयन स्थगित भएको छ ।

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वन क्षेत्र सिसाको घर जस्तो भएको र यसमा ढुङ्गा हान्ने मान्छे धेरै भएको टिप्पणी गरेका छन् । ‘सिसाको घरमा बसेर कसरी काम गर्ने त्यसलाई ख्याल राखेर हामी कस्तो किसिमको वन बनाउन चाहन्छौ, वनबाट उत्पादन हुने वस्तु र सेवा कसरी जनता समक्ष पुर्याउने भन्ने उद्देश्यले तपाईहरुले काम गर्नुहोला’ निर्वाचित कार्यसमितिलाई निर्देशन दिँदै सिंहले भने ।

वनको अत्यधिक विनाशका कारण पछिल्लो समय स्थानीय तापक्रम मात्रै होइन देशको औसत तापक्रम बढेको वन अधिकृत  सिंहले जनाएका छन् । ‘वन तथा वातावरणको क्षेत्रमा अत्यधिक प्रदूषण बढेको छ, वन क्षेत्र बस्ती, कृषि क्षेत्र, खुला चौरमा परिणत भएको छ जसको परिणाम आज हामी भोगिरहेका छौ’  उनले भने  । साझेदारी वनका निर्वाचित कार्यसमिति सदस्यहरूले  भने वन तस्करी रोकेर प्रचलित ऐन कानुनलाई टेकेर वन क्षेत्र संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप