मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : प्रधानन्यायाधीशबारे निर्णय गर्दै संसदीय समिति, बजेटबारे अर्थमन्त्रीले दिए जवाफ

खडेरीका कारण खेतबारीमै सुक्न थाले बाली
सोमबार, २९ जेठ २०८०, २० : ४८
सोमबार, २९ जेठ २०८०

आज २०८० जेठ २९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा बजेटबारे उठेका प्रश्नको यसरी दिए अर्थमन्त्रीले जवाफ, प्रधानन्यायाधीशबारे संसदीय सुनुवाइ समितिले ३२ गते निर्णय गर्ने, खडेरीका कारण खेतबारीमै सुक्न थाले बाली, प्युठानमा कार दुर्घटना; ८ जनाको मृत्यु, नक्कली शरणार्थी प्रकरणका प्रतिवादीले इजलासमै गरे गुनासो– हिरासतमा राम्रो व्यवहार गरिएन, गेटालाई मेडिकल विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता लगायत छन् ।

१. बजेटबारे उठेका प्रश्नको यसरी दिए अर्थमन्त्रीले जवाफ
आगामी आर्थिक वर्षको बजेटबारे संसदमा उठेको प्रश्नबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएका हुन् ।


२. प्रधानन्यायाधीशबारे संसदीय सुनुवाइ समितिले ३२ गते निर्णय गर्ने
प्रधानन्यायाधीशमा नियुक्तिका लागि गरिएको सिफारिसका सम्बन्धमा संसदीय सुनुवाइ समितिले जेठ ३२ गते निर्णय गर्ने भएको छ । सोमबार बसेको बैठकले जेठ ३१ गते उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते प्रधानन्यायाधीशमा सिफारिस गरिएका हरिकृष्ण कार्कीसँग उजुरीका बारेमा प्रस्टिकरण लिएपछि निर्णयमा पुग्ने गरी कार्यतालिका बनाएको हो ।

३. खडेरीका कारण खेतबारीमै सुक्न थाले बाली
मनसुन भित्रिन ढिला हुँदा देशभर गर्मीले जनजीवन प्रभावित भइरहेको छ । लामो खडेरीका कारण देशका विभिन्न भागमा किसानले खेतबारीमा लगाएका बाली सुक्न थालेका छन् । 

४. प्युठानमा कार दुर्घटना; ८ जनाको मृत्यु
प्युठानमा सोमबार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भेतुकेमा लु१च ६३४५ नम्बरको कार दुर्घटना भएको हो ।

५. नक्कली शरणार्थी प्रकरणका प्रतिवादीले इजलासमै गरे गुनासो– हिरासतमा राम्रो व्यवहार गरिएन
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष समशेर मियाँले हिरासतमा आफूहरुलाई राम्रो व्यवहार नगरिएको गुनासो गरेका छन् । सोमबार थुनछेक बहसका क्रममा उनीहरुले काठमाडौं जिल्ला अदालतको इजलासमै यस्तो गुनासो गरेका हुन् ।

६. शुभेच्छुक संस्थामा पकड गुमाउँदै देउवा
नेपाली कांग्रेसको शुभेच्छुक संस्थामा सभापति शेरबहादुर देउवा पक्षले पकड गुमाउँदै गएको छ । पार्टीको १४ औँ महाधिवेशनबाट भारी बहुमतका साथ दोस्रो पटक सभापति बनेका देउवाले शुभेच्छुक संस्थामा भने पकड गुमाएका हुन् ।

७. गेटालाई मेडिकल विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता
सरकारले गेटामा सञ्चालनको क्रममा रहेको मेडिकल कलेजलाई विश्व विद्यालयका रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री प्रकाशशरण महतसँग भेटघाट गरी कैलालीको गेटामा सहिद दशरथ चन्द मेडिकल विश्व विद्यालय सञ्चालन गर्न माग गरेको थियो ।

८. माधव नेपाललाई प्रधानमन्त्रीले भने– बजेटको विरोध नगरौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न आग्रह गरेका हुन् ।

९. एमाले महासचिवले गरे ७० वर्षे उमेर हद हटाउने निर्णयको बचाउ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षे उमेर हद हटाउने निर्णयको बचाउमा उत्रेका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षे उमेर हद हटाउने पार्टीको निर्णय उचित रहेको बताए ।

१०. प्रधानमन्त्रीलाई भेटेर रेशम चौधरीले गरे छलफल
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएपछि पहिलोपटक चौधरी र मन्त्री श्रेष्ठले सुदूरपश्चिम सरकार लगायतका विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप