खडेरीले चिन्तित छन् कर्णालीका किसान
सुर्खेत । लेकबेसी नगरपालिका–१० मैनडाँडाका किसान डिलाराम आचार्यले अघिल्लो पटक १२ जेठमा धानको बीउ राखेर असार पहिलो सातामै धान रोपाइँ गरिसकेका थिए । यो पटक भने पानीको अभावमा अहिलेसम्म पनि बीउ राख्न सकेका छैनन् ।
‘आकाशबाट पानी झर्ला र बीउ राखुँला भन्याको पानी आउँदैन । अहिले साल त हामी किसानका दशा लाग्न्या भया,’ उनले रातोपाटीसँग भने,‘ खोली किनार नजिक खेतबारी भयाका मान्छेले बीउ राख्न्या भया । तर, अहिले खोली नै सुक्न थाल्यापछि बीउसमेत नउम्रिने भया ।’
अगुवा कृषकका रुपमा चिनिने आचार्यले ३० केजी त धानको बीउ मात्र राख्छन् । उनले गाई, भैँसीसमेत पालेर कृषि पेशाबाटै सहज जीवनयापन गर्दै आएका छन् । यद्यपि यो पटक खडेरीले खानेपानीसमेत जोहो गर्न मुस्किल परिरहेको उनको दुःखेसो छ ।
उनले बारीमा टन्नै मकै पनि लगाएका थिए । तर, चर्को खडेरीका कारण खेतमा २ पटक लगाएको मकै सुकिसक्यो । भन्छन्,‘पहिलो पटकको सुक्यो । त्यसपछि परेको पानीमा लगाएको मकै पनि सुक्न थालिसक्यो । हामी किसानलाई त यो प्रकृतिले पनि बडो दुःख दिन लाग्यो क्यार्नु ।’
उनी मात्र होइन, कृषि क्षेत्रका लागि निकै प्रख्र्यात मानिने उक्त गाउँका अधिकांश कृषकको पीडा एउटै छ ।
ठाटीकाँध गाउँपालिका–१ दैलेखका देउराम बुढाले झण्डै ६० केजी सम्मको मकैको बीउ बारीमा लगाएका थिए । खडेरीले उम्रिएका मकै सखाप हुन थालेपछि उनी चिन्तित छन् । ‘अहिलेको जस्तो उखरमाउलो खडेरी कहिल्यै परेको अनुभव छैन,’ उनले भने,‘पहिला त हामी यो बेला पहिलो पटकको मकै गोडेर पनि खेत रोपाइँ गर्न सुरु गरिसक्थ्यौँ ।’
उनको क्षेत्रतिर मकै दुई पटक गोडमेल गर्ने चलन छ । साथै उनले खोलाको पानीबाट धानको बीउ राखेपनि खडेरीका कारण खोला नै सुक्न थालेपछि बीउसमेत सुक्न थालेको पीडा सुनाए ।
दैलेखका मटेला, चिनेजिउला, पादुका, सुवाखेत, राकम कर्णाली, नौमुले लगायतका ठुल्ठुला धाने जिउला (खेत) यतिबेला पानीको अभावमा रित्तै छन् ।
शिवालय गाउँपालिका–५ थाला रैकर जाजरकोटकी कमला शाहीले पनि बारीमा लगाएको मकै सुक्न थालेको बताइन् ।
उसो त चर्को खडेरीका कारण यो समस्या कर्णाली प्रदेशभरको साझा समस्या हो । भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार खडेरीका कारण कर्णालीका सबै जिल्लामा हुने बर्खे बालीमा प्रत्यक्ष असर परेको छ ।
अधिकारी भन्छन्,‘यो पटक यहाँका कृषकहरु दोहोरो मारमा परेका छन् । भारी बर्षात्का कारण गएको वर्ष भत्किएका सिँचाई कुलो बनाउने क्रम जारी छ । तर, प्राकृतिक विपत्तिलाई त के गर्न सकिन्थ्यो र ?’
आकाशे पानीमा निर्भर कर्णाली
विशेष गरी कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यानका कृषकहरु सिँचाइका लागि प्रायः आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ ।
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार कर्णालीमा कुल २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । यद्यपि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफल जमिनमा मात्रै खेती गर्ने गरिएको छ । त्यसमा पनि ४५ हजार ४६८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुन्छ ।
यस अनुसार डोल्पामा २७६, मुगुमा ४ हजार ४२०, हुम्ला ६१०, जुम्लामा २ हजार ९ सय, कालिकोटमा ३ हजार ८१, रुकुम पश्चिममा ३ हजार ४८, सल्यानमा ७ हजार ७८, जाजरकोटमा ३ हजार ६३, दैलेखमा ८ हजार ३१३ र सुर्खेतमा १२ हजार ६७९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
कुल खेतीयोग्य जमिनमध्ये ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा वर्षभरी सिँचाई सुविधा पुग्ने गरेको छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल आंशिक सिँचाई हुने क्षेत्रमा पर्छ । समग्रमा कुल खेतीयोग्य जमिनको ३१.५१ प्रतिशत भूभागमा मात्र सिँचाई सुविधा छ ।
यद्यपि, यो पटकको खडेरीका कारण सिँचाई सुविधा पुगेको भनिएका क्षेत्रहरु समेत प्रभावित भएका छन् ।
सुर्खेत, वीरेन्द्रनगरको खेतीयोग्य जमिन पुरै आकाशे पानीकै भरमा निर्भर छ । चर्को खडेरीका कारण सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट लगायतका पहाडी जिल्लाका किसान समस्यामा छन् । रुकुम पश्चिममा भने सबैतिर सिँचाईको सहज सुविधा भएकाले समस्या छैन ।
रुकुममा धान खेतीका लागि भने बीउ राख्ने क्रम सुरु भएको छ भने जुम्लामा रोपाइँ करिब सकिने बेला भयो । यस्तै डोल्पामा पनि रोपाइँ करिब करिब सकिएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामा बताउँछन् ।
हिमाली जिल्लामा पहाडी क्षेत्र भन्दा केही पहिला नै रोपाइँ सुरु हुन्छ । त्यहाँ चैत्र अन्तिम सातादेखि नै बीउ राख्ने सुरु हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतविरुद्ध अस्ट्रेलियन ब्याट्सम्यानको प्रदर्शन झनै निराशाजनक
-
लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार