सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

तौल घटाउन दैनिक ८० वटा चुरोट पिउँथिन्, पाँचौँ विवाहको तीन महिनापछि मृत्यु : यस्तो छ जुडी गार्लेन्डको कहानी

सोमबार, २९ जेठ २०८०, १४ : ११
सोमबार, २९ जेठ २०८०

हलिउडकी सर्वाधिक सुन्दर र चर्चित नायिका जुडी गार्लेन्ड । सुन्दरता र उत्कृष्ट अभिनयबाहेक उनको गायन कला प्रशंसनीय थियो । यसै कारण उनी सङ्गीतको सबैभन्दा ठुलो अवार्ड ग्रामी जित्ने विश्वको पहिलो महिला बनिन् । 

सुन्दा त यो कहानी सुन्दर लाग्छ तर यो सफलता, नाम, चर्चा हासिल गर्न उनले आफ्नो बाल्यकाल र स्वतन्त्रतालाई तिलाञ्जली दिनु पर्‍यो । कम उमेरमा फिल्ममा आबद्ध भएकी जुडीलाई सेटमा जगाउनका लागि हेभी डोज ड्रग दिने गरिन्थ्यो जुन वर्षौँपछि लतमा परिणत भयो र मृत्युको कारण पनि । 

जुडीले पाँच वटा विवाह गरिन् तर चार विवाह टुटे । कुनै बेला हलिउडकी सर्वाधिक धनी नायिका जुडीलाई ड्रग एडिक्सन, डिप्रेसन र छुट्दो सम्बन्धमा सबै कुरा गुमाउनु पर्‍यो ।

आज कम उमेरमा ओस्कार जित्ने जुडीबारे पढौँ – 

judy garland1३२ बायोग्राफी, ११ बायोपिक

जुडी गार्लेन्ड हलिउडकी स्टार थिइन् । उनको मृत्युपछि उनको जीवनबारे ३२ वटा बायोग्राफी लेखिएको छ । यस्तै, उनीबारे ११ बायोपिक फिल्म र टिभी सिरिज बनाइसकिएको छ । जुडी ग्रामी जित्ने विश्वकै पहिलो महिला हुन् । उनले ग्रामी एक पटक मात्रै होइन, दुई पटक जितेकी थिइन् । मृत्युपछि उनलाई ओस्कर र ग्रामीले लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरेकाे थियो ।

क्षमता, हलिउड र सफलता

२ वर्षको उमेरमा दिइन् पहिलो प्रस्तुति

जुडी गार्लेन्डको जन्म १० जून १९२२ मा युनाइटेड स्टेटको ग्रान्ड रेपिड्समा भयो । उनको वास्तविक नाम फ्रान्सेस एथल गम थियो । उनलाई घरमा प्रेमपूर्वक बेबी भनेर बोलाइन्थ्यो । जुडीका आमाबुवाले थिएटर चलाउँथे । त्यहाँ उनकी दिदीले पनि प्रस्तुति दिन्थिन् । दुई वर्षको उमेरमा जुडीले पनि दिदीसँगै बुवाको थिएटरमा जिंगल बेल्स गीतमा प्रस्तुति दिइन् । त्यति बेला उनकी आमाले पियानो बजाएकी थिइन् ।

बदनामी हुने डरले फेर्नुपर्‍यो सहर

सन् १९२६ मा उनका पितामाथि समलिङ्गी भएको आरोप लाग्यो । बदनामीबाट बच्नका लागि उनको पूरा परिवार ल्यानकेस्टर सरे । त्यहाँ उनीहरुले अर्को थिएटर किने । ६ वर्षको उमेरमा नृत्य सिकेपछि जुडी आफ्नी दिदीसँग फिल्म ‘द बिग रेव’ को गीत ‘द्‌याट्स द गुड ओल्ड सन्नी साउथ’ मा देखिइन् ।

ओपेरा थिएटरमा जुडीले गाएको देखेर एमजीएम स्टुडियोका गीत लेखक बर्टन लेनले स्क्रिन टेस्ट नलिईकनै उनीसँग सम्झौता गरे । यद्यपि, स्टुडियोका लागि जुडीको उमेरले बाधा पुर्‍याइरहेको थियो । १३ वर्षकी उनी चाइल्ड आर्टिस्टका लागि ठुली थिइन्, हिरोइनका लागि सानी । जुडी आफू पनि आफ्नो लुकका लागि सधैँ चिन्तित भइरहन्थिन् किनभने उनलाई लाग्थ्यो कि उनी अन्य केटीहरू जस्तो सुन्दर छैनन् । यसले उनको मानसिक स्वास्थ्यलाई पनि नकारात्मक असर पारिरहेको थियो । यस्तै एमजीएम स्टुडियोकी हेड लुइस बी. मेयरका लागि जुडी स्टुडियोकी सबैभन्दा क्षमतावान् केटी थिइन् । यस्तोमा उनीसँग हरेक हप्ता सय डलरको पारिश्रमिक दिइने सम्झौता गरिएको थियो ।

judy garland2सुन्दर देखिन लगाइन् नक्कली दाँत र नाक

एमजीएम स्टुडियोले जुडीका लागि एउटा फोटो सुट गराइन् जसमा उनलाई बच्चाको साधारण गाउन लगाइएको थियो । उनको दाँतलाई राम्रो देखाउन त्यसमा निकाल्न मिल्ने क्याप लगाइएको थियो र नाकको बनावट राम्रो देखाउन रबरले बनेको नाकको सहारा लिइयो । यो नै उनको फाइनल लुक बन्यो ।

पहिलो कन्सर्टको केही घण्टापछि नै पिताको मृत्यु

१४ वर्षको उमेरमा १६ नोभेम्बर १९३५ मा जुडीले पहिलो प्रस्तुति दिइन् । उक्त कन्सर्ट भएको केही घण्टापछि नै उनका पिता आफ्नो जीवनको अन्तिम क्षणमा छन् भन्ने उनले खबर पाइन् । त्यसको भोलिपल्ट नै उनको पिताको मृत्यु भयो र जुडीलाई यो खबरले अत्यधिक पीडा दियो । जुडीले थुप्रै कन्सर्टमा गीत गाउन जारी राखिन् र उनलाई फिल्म एभरी सन्डे (१९३६) मा कास्ट गरियो ।

judy garland3स्टारडम, हिंसा र नशा

तौल घटाउनका लागि स्टुडियोका मानिसले ८० वटा चुरोट पिउन लगाउँथे

सन् १९३९ को फिल्म ‘विजर्ड अफ ओज’ मा उत्कृष्ट प्रस्तुतिका लागि जुडीलाई ओस्कर अवार्ड (एकेडेमी जुभेनाइल अवार्ड दिइयो । त्यति बेला उनी १६ वर्षकी थिइन् । फिल्ममा राम्री देखाउनका लागि स्टुडियोका मानिसले उनको तौल घटाउनका लागि कठिन डाइट दिए । उनलाई दिनभरि चिकेन सुप र कालो कफी दिइन्थ्यो । यस्तै ८० वटा चुरोट र डाइट पिल्स पनि समावेश थियो ।

सुत्न र उठ्नका लागि दिइन्थ्यो ड्रग

जुडीले स्टुडियोले जे भन्यो, त्यस अनुसार डाइट फलो गर्नुपर्दथ्यो । १७ वर्षको उमेरमा जुडीले एक दिनमा ३–४ वटा फिल्मको सुट गर्नुपर्दथ्यो । लगातार जागा राख्नका लागि उनलाई एन्फेटामाइन्स पिल्स दिइन्थ्यो । त्यसैले सुटिङ सकिने बित्तिकै उनलाई निद्रा लागिहालोस् भन्नका लागि उनलाई निद्रा लाग्ने औषधी दिइन्थ्यो । १७ वर्षको उमेरमा उनलाई स्लिपिङ ट्याबलेटको लत लागिसकेको थियो । कति पटक त जुडी बिहान ५ बजे सुटिङ सकेर नसुतीकनै स्कुल जाने गर्थिन् । एक अन्तरवार्तामा जुडीले एमजीएम स्टुडियोले उनको बाल्यकाल खोसेको बताएकी थिइन् । 

JUDYGarlandहलिउडका चर्चित व्यक्तिले गरे शारीरिक शोषण

जुडीको बायोग्राफी लेख्ने गेराल्ड क्लार्कका अनुसार किशोरावस्थामा उनले थुप्रै पटक यौन हिंसाको सामना गर्नुपरेको थियो । सेटमा उनीसँग धेरैजसो यौन सम्बन्धको माग गरिन्थ्यो । यसले उनको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्दथ्यो । बायोग्राफीका अनुसार एमजीएम स्टुडियोका प्रमुख लुइस बी. मेयरले पनि उनलाई गायनमा प्रस्तुति दिइरहेका बेला आफ्नो कार्यालय लिएर गएको र उनलाई आपत्तिजनक तरिकाले छुन थालेका थिए । जुडीका तेस्रो श्रीमान् सिडनी लफ्टले लेखेको उनको बायोग्राफी जुडी एन्ड आई ः माई लाइफ विद जुडी गार्लेन्डमा उनले फिल्म विजर्ड अफ ओजको सेटमा केही चर्चित व्यक्तिले उनको ड्रेसमा हात हालेर उनीमाथि दुर्व्यवहार गरेको खुलासा गरेका थिए ।

फिल्ममा गर्नुपरेको थियो २० वर्ष जेठो अभिनेतालाई चुम्बन

सन् १९४० मा १८ वर्षकी जुडी फिल्म ‘लिटिल नेली केली’ मा देखिइन् । यो उनको मुख्य भूमिका रहेको पहिलो फिल्म थियो । साथै, उनले यो फिल्ममा पहिलो पटक चुम्बन र दोहोरो भूमिका निभाएकी थिइन् । फिल्ममा उनले २० वर्ष जेठो जोर्न मफीसँग चुम्बनको दृश्य दिइन् तर अभिनेता एक बालिकालाई चुम्बन गर्न सहज थिएनन् । जुडी १८ वर्षको उमेरसम्म स्टार भइसकेकी थिइन् र उनी हलिउडको सबैभन्दा बढी कमाई गर्ने अभिनेत्री बनिसकेकी थिइन् । 

judygarland4न आफ्नो मर्जीले विवाह गर्न सकिन्, न आमा बन्न सकिन्

किशोरावस्थामा नै जुडी अभिनेता आर्टी शसँग प्रेम गर्न थालेकी थिइन् । उनी आर्टीलाई असाध्यै मन पराउँथिन् तर आर्टीले नायिका लाना टर्नरका लागि उनलाई छोड्दा उनी नराम्रोसँग टुटिन् । त्यसपछि जुडी कम्पोजर डेविड रोजसँग प्रेममा परिन् । डेविडले उनको १८ औँ जन्मदिनमा उनलाई हिराको औँठी दिएर विवाहको प्रस्ताव गरे तर स्टुडियोले यसमाथि आपत्ति जतायो । सम्झौता अनुसार जुडी फिल्मको बीचमा नै विवाह गर्न सक्दिन थिन् । यस्तै, डेभिड र उनकी गायिका श्रीमती मार्था राएको सम्बन्ध विच्छेद पनि टुङ्गिइसकेको थिएन । यस्तोमा यी दुईले कुर्ने निर्णय गरे । एक वर्षपछि सन् १९४१ मा जुडी गार्लेन्डले १९ वर्षको उमेरमा ३० वर्षका कम्पोजर डेविड रोजसँग विवाह गरिन् ।

स्टुडियोको दबाबमा गर्नुपर्‍यो गर्भपात

सन् १९४१ मा जुडी गर्भवती भइन् तर स्टुडियोले सम्झौता गरेको भन्दै उनलाई गर्भपात  गराउन दबाब दियो । सन् १९४३ मा जुडी प्रेमी टायरन पावरको बच्चाको आमा बन्न लागेकी थिइन् तर उनले पुनः गर्भपात गराउनुपर्‍यो र सन् १९४४ मा जुडीले पहिलो श्रीमान् डेविडसँग सम्बन्ध विच्छेद गरिन् ।

एक वर्षपछि उनले आफ्नो फिल्म ‘मिट मी इन सेन्ट’ लुइस निर्देशक विन्सेन्ट मिनेलीसँग विवाह गरिन् र एक छोरी जन्माइन् । यी दुईको यो विवाह ६ वर्षसम्म चल्यो । जुडीले आफ्नो श्रीमान् विन्सेन्टको अफेयर एक व्यक्तिसँग भएको थाहा पाएपछि उनले सन् १९५१ मा सम्बन्ध विच्छेद गरिन् ।

judy garland4लागु औषध दुर्व्यसनले खराब भयो छवि, थुप्रै सम्झौता रद्द

सन् १९४८ को अप्रिलमा फिल्म ‘द पाइरेट्स’ को सुटिङ गर्दा जुडीलाई नर्भस ब्रेकडाउन भयो । त्यसपछि उनलाई एक निजी अस्पतालमा भर्ना गरियो । नशाको लत र टुट्दो सम्बन्धका कारण जुडी यति डिप्रेसनमा थिइन् कि उनले सन् १९४८ को जुलाईमा काँचको टुक्राले आफ्नो नाडी काट्ने कोसिस गरिन् । उनको उद्धार गरियो र दुई हप्तासम्म मनोविद्को निगरानीमा राखियो ।

जुडीको अनुपस्थितिमा फिल्मको सुटिङ रोक्नुपर्‍यो , जसका कारण खर्च बढ्यो र फिल्मलाई घाटा लाग्यो । जुडीको अर्को फिल्म ‘ईस्टर परेड’ सुपरहिट रह्यो जसका कारण स्टुडियोले उनलाई फिल्म ‘द बर्कले अफ ब्रडवे’ मा कास्ट गर्‍यो । उनी बार्बीटुरेट र मर्फिन औषधी एकै पटक लिन्थिन् । माइग्रेनको समस्या पनि बढ्यो त्यसैले थुप्रै दिनसम्म सेटबाट गायब भइन् । उनको यस्तो लापरबाहीले उनलाई एमजीएम स्टुडियोबाट निलम्बित गरियो ।

judy garland9दुई पटक निलम्बन गरेपछि सिसाले घाँटी काट्ने प्रयास गरेकी थिइन् 

निलम्बनको समय सकिएपछि उनलाई रोयल वेडिङ फिल्ममा कास्ट गरियो तर उनको व्यवहारमा सुधार भएन । थुप्रै पटक बिना जानकारी सेटबाट गायब भएपछि उनलाई फिल्मबाट हटाइयो । पहिले नै डिप डिप्रेसनसँग जुध्दै गरेकी जुडी यति टुटिन् कि उनले सिसाको टुक्राले आफ्नो घाँटी काट्ने कोसिस गरिन् । एमजीएमका कारण जुडीले घाँटी काट्ने कोसिस गरिन् भन्ने खबर मिडियामा फैलियो । त्यसपछि उनले हलिउड फिल्म पाउनै छोडिन् । 

हलिउडमा दमदार फिर्ती र ओस्कार

सङ्गीतमार्फत पुनः भइन् चर्चित

सन् १९५० सम्म जुडी विश्व भरी साङ्गीतिक कार्यक्रम गरिरहेकी थिइन् । क्यालिफोर्निया कन्सर्टका बेला उनको भेट सिडनी लिफ्टसँग भयो, जो उनका टुर म्यानेजर थिए । यी दुईले ८ जुन सन् १९५२ मा विवाह गरेका थिए । जुडीले त्यसको अर्को वर्ष लार्ना लुफ्टलाई जन्माइन् स सन् १९५५ मा छोरा जोई लुफ्टलाई जन्म दिइन् ।

judy garland5सन् १९५४ मा हलिउडमा दमदार फिर्ती

आफ्नो छवि सुधारेपछि जुडीले सन् १९५४ को फिल्म ‘अ स्टार इज बर्न’ बाट हलिउडमा फिर्ती गरिन् । सुटिङका बेला जुडीले पुनः आफ्नो बिग्रँदो स्वास्थ्यका कारण निर्माण पक्षलाई सेटमा घण्टौँ कुराउन थालिन् । कति पटक त जुडी कसैलाई केही नभनी सेटमा जाँदैन थिन् । जुडीको यस्तो व्यवहारले निर्माताको तालिका बढ्यो र खर्च पनि । ५ मिलियन डलरमा बनेको फिल्मले बक्स अफिसमा ६ मिलियन डलर मात्रै कमाउन सक्यो । जुडीका कारण बजेट दोब्बर नभएको भए फिल्मले बढी नाफा कमाउन सक्थ्यो ।

ओस्कार नोमिनेसन पाइन्, अस्पतालमा नै कभर गर्न पुगेका थिए क्यामरा म्यान

२७ औँ ओस्कर अवार्डमा जुडी गार्लेन्डलाई फिल्म ‘अ स्टार इज बर्न’ का लागि उत्कृष्ट अभिनेत्रीको नोमिनेसन प्रदान गरियो । जुन दिन कार्यक्रम थियो त्यसै दिन जुडीले छोरा जोसेफ लुफ्टलाई जन्म दिएकी थिइन् । यस्तोमा उनी कार्यक्रममा सहभागी हुन सकिनन् । अवार्ड जुडीले नै जित्छिन् भनेर सबैले सोच्थे त्यसैले उनको वार्डमा ओस्करका केही क्यामरा म्यान पठाइएका थिए । उनको भाषण अस्पतालबाट नै प्रसारण गर्ने योजना बनाइएको थियो । तर बिजेताको नाम घोषणा हुँदा सबैलाई धक्का लाग्यो । 

उनको साटो फिल्म ‘द कन्ट्री गर्ल’ का लागि ग्रेस केलीले अवार्ड पाइन् । घोषणा लगत्तै सबै क्यामरा म्यानले उनको कोठा छोडे । जुडीले ओस्कार त पाइनन् तर यसै फिल्मका लागि उनले गोल्डेन ग्लोब अवार्ड भने बाजी मारिन् ।

judy garland6बाँच्ने चाहना र गरिबी

डाक्टरले भनेका थिए – ४–५ वर्ष मात्रै बाँच्नेछिन्

फिल्मबाट टाढा भएर सन् १९५५ पछि जुडी टिभी सिरिज र साङ्गीतिक कार्यक्रममा मात्रै केन्द्रित भइन् । सन् १९५९ मा जुडीलाई हेपाटाइटिसको समस्या देखिएपछि अस्पताल भर्ना गर्नुपरेको थियो । लामो उपचारपछि डाक्टरले उनी ४–५ वर्ष मात्रै बाँच्ने र बाँचिहाले पनि गाउन नसक्ने बताए ।

रक्सीको नशामा श्रीमान्‌ले कुटपिट गर्थे

सन् १९६३ मा जुडीले आफ्ना श्रीमान्‌ले सिड्नीले उनलाई मानसिक तनाव दिएर रक्सीको नशामा कुटपिट गर्ने गरेको बताएकी थिइन् । सन् १९६५ मा जुडीका टुर प्रोमोटर तथा अभिनेता मार्क हेरनले आफूहरूले हङकङमा विवाह गरेको घोषणा गरे । यद्यपि, त्यति बेला जुडीले सिडनी लुफ्टसँग सम्बन्ध विच्छेद गरिसकेकी थिइनन् ।

१९ मे १९६५ मा जुडी र सिडनीको सम्बन्ध विच्छेद भयो र ५ महिनापछि १४ नोभेम्बर १९६५ मा उनले मार्कसँग कानुनी विवाह गरिन् । केही समयपछि जुडीले उनका श्रीमान्‌ले कुटपिट गर्ने गरेको र उनको थुप्रै महिलासँग सम्बन्ध भएको खुलासा गरिन् । यद्यपि, मार्कले आत्मरक्षाका लागि आफूले हात उठाएको भन्दै आफ्नो बचाउ गरे ।

judy garland7४ करोड ऋण लागेपछि बेच्नुपर्‍यो घर

जुडीका पूर्व पतिले नै उनको पैसा सम्हाल्ने गर्थे तर सम्बन्ध विच्छेद पछि जुडीलाई ४ करोड ऋण लाग्यो । कर तिर्न नसकेपछि उनका थुप्रै सम्पत्ति जफत भए । ऋण मुक्त हुनका लागि उनले ब्रेन्टवुड होमस्थित आफ्नो बङ्गला असाध्यै कम मूल्यमा बेचिदिइन् र भाडाको घरमा सन्तानसहित बस्न थालिन् ।

जुलाई सन् १९६७ मा उनले न्युयोर्क प्यालेसमा आफ्ना सन्तान लोर्ना र जोईसँग प्रस्तुति दिइन् । त्यो टुरका लागि उनलाई २ लाख डलर दिइयो तर फेडरेल टेक्स एजेन्ट्सले उनको धेरैजसो कमाई जफत गरिदिए ।

मृत्यु हुनु तीन महिना अघि मात्रै गरेकी थिइन् पाँचौँ विवाह

सन् १९६९ सम्म जुडीको स्वास्थ्य असाध्यै बिग्रिसकेको थियो । सन् १९६९ को मार्चमा उनले कोपेनहेगनमा अन्तिम पटक स्टेजमा प्रस्तुति दिइन् । मार्कसँग सम्बन्धविच्छेदपछि जुडीले सन् १९६९ मार्च १५ मा नाइट क्लबका म्यानेजर मिक्की डिन्ससँग विवाह गरिन् । विवाहको तीन महिनापछि २२ जून सन् १९६९ मा जुडीलाई उनको बाथरुममा मृत भेटियो । उनको मृत्युको कारण स्लिपिङ पिल्सको ओभरडोज थियो । उनले एकै पटक १० वटा स्लिपिङ पिल्स खाएकी थिइन् । यस्तै उनको शव नजिकै सय वटा स्लिपिङ पिल्स भएको एउटा सिसा राखिएको थियो । पोस्टमार्टम रिपोर्टमा जुडीको मृत्युलाई दुर्घटना बताइयो ।

judy garland8मृत्युपछि श्रीमान्‌ले गरे सामानको लिलामी

जुडीको अन्तिम संस्कारमा उनलाई त्यही ग्रे सिल्कको गाउन लगाइयो जुन उनले तीन महिना अघि आफ्नो विवाहमा लगाएकी थिइन् । न्युयोर्कमा जुडीको अन्तिम संस्कारमा करिब २० हजार मानिस जम्मा भएका थिए । मृत्युपछि उनीसँग ४० डलर मात्रै थियो भन्ने कुरा थाहा भयो । जुडीको बाँकी ऋण उनकी छोरी लिजा मिनेलीले तिरेकी थिइन् ।

केही समयपछि जुडीका पूर्व श्रीमान् सिडनी लुफ्टले उनका ५०० सामान लिलामी गराए । त्यसबाट उनले लगभग १० करोड रुपैयाँ जम्मा गरे । यो रकम उनका छोरीबीच बाँडियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप