मेडिकल विश्वविद्यालयबारे पूर्वउपकुलपतिहरूलाई पत्र
कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोलिनु पर्छ भनेर केही हप्ता देखी त्यस भेगका नागरिकहरू आन्दोलित छन् । त्यसको जानकारी तपाइहरूलाई भएकै होला । देशमा पहिलो मेडिकल विश्वविद्यालय खोल्ने खबर र भवन बाहेक अन्य कुनै पनि पूर्वाधार नभएको ठाउँमा मेडिकल विश्वविद्यालय खोल्ने निर्णयले देश भित्र छलफलका तरङ्ग फैलनुका साथै यो एउटा बहसको विषय बनेको छ । त्यस भेगका नागरिकबाट पनि थरिथरिका आवाज, विचार, तर्क, सकारात्मक, नकारात्मक, टीकाटिप्पणी आइरहेका छन् ।
एक समूह विश्वविद्यालय सेतो हात्ती हो त्यसमा जानुहुँदैन भन्दैछन् भने अर्को समूह प्रतिष्ठानमा जानुपर्छ जुन सजिलै सँग सञ्चालनमा ल्याउन सकिन्छ भन्दैछन् । त्यस्तै गरी अर्को समूह पहिले सुविधा सम्पन्न अस्पताल सञ्चालन भइसकेपछि मात्र मेडिकल विश्वविद्यालयको पठन पाठनमा जानु पर्छ भन्ने विचार राख्दछन् । सुविधा सम्पन्न अस्पताल नहुँदा सयौँको सङ्ख्यामा दिनहुँ बिरामीहरू भारत जाने गरेका उनीहरूले देख्दै र भोग्दै आएका छन् । गुणस्तरीय सेवा नपाएर धरैले अकालमा ज्यान गुमाइरहेको कुरा उनीहरूले बुझेका छन् । वर्षौँ देखिको राजनैतिक किचलोले अस्पताल सञ्चालन हुन नसकेको अवस्थामा मेडिकल विश्वविद्यालय कसरी सञ्चालन हुन्छ भन्ने प्रश्न केहीको छ । आफ्नो पदाधिकारीहरू नियुक्ति गर्लान् तर विश्वविद्यालय सञ्चालन गर्ने स्थिति देखिँदैन ।
अर्को एउटा जमात प्रश्न गर्दै छन् चिकित्सक उत्पादन गरी विदेश पठाउन किन चाहियो विश्वविद्यालय? एक थरी मानिसको जमात भने विश्वविद्यालय खोली आफ्नो मान्छेलाई पदाधिकारी बनाई पार्टीको कार्यकर्ताहरूको भर्ती केन्द्र बनाउने विश्वास पालेर बसेका छन् । विभिन्न समयमा विभिन्न सरकारले यथास्थितिको अध्ययन नगरी आ–आफ्नो हिसाबले प्रतिष्ठान वा विश्वविद्यालयका बारेमा फरक फरक धारण र निर्णय लिएको हुनाले पनि यस विषयले जनतामा द्विधा ल्याएको केही बुद्धिजीवीहरूको धारणा रहेको छ । यस्तै शङ्का उपशङ्का बिच, बुझेर वा नबुझेर आन्दोलन अगाडि बढिरहेको देखिन्छ र आन्दोलन दिन प्रतिदिन पेचिलो बन्नुको साथै राजनीतिकरण हुँदै गहिरिएको देखिन्छ ।
जब जब देशमा राजनैतिक पार्टीहरू, नेताहरू र केही स्वार्थ बोकेका समूहद्वारा सञ्चालित भीडहरूको आन्दोलनले बाटो बिराउँदछ तब तब नागरिक समाज र बुद्धिजीवी हरूको वक्तव्य मार्फत बाटो देखाउने कार्य हुँदै आइरहेको छ । त्यसैले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय स्थापनाको माग जायज हो या हैन विभिन्न विश्वविद्यालय र प्रतिष्ठानहरूका पूर्वउपकुलपतिज्यूहरु जसले विश्वविद्यालय र प्रतिष्ठान स्थापना र सञ्चालन गरी अनुभव ज्ञान र सिप प्राप्त गर्दै राष्ट्रको सम्पत्तिको रूपमा रहनु भएको छ । उहाँहरूले राजनैतिक आस्था भन्दा माथि उठेर बोल्नु पर्ने बेला आएको छ ।
त्यसैले पूर्वउपकुलपतिज्यूहरु एक ठाउँमा बसी मेडिकल विश्वविद्यालय आवश्यक छ कि छैन, छ भने किन र कुन ठाउँमा ? मेडिकल विश्वविद्यालय र प्रतिष्ठानमा भिन्नता के छ ? कुन चाहिँ सजिलो र व्यवहारिक हुन्छ भन्ने छलफल गरी उत्तर खोजिदिनु पर्यो । विश्वविद्यालय खोल्नलाई के कस्तो पूर्वाधार, जनशक्ति र सञ्चालन गर्न कति आर्थिक दायित्व पर्दछ, जनतालाई बुझाइदिनु पर्यो । मेडिकल कलेज पूर्ण रूपमा कार्यान्वयनमा आउन कति समय लाग्दछ र सुविधा सम्पन्न अस्पताल बन्न कति वर्ष लाग्दछ, मेडिकल विश्वविद्यालयले कसरी त्यस भेगको जनताको स्वास्थ्य स्तरमा परिवर्तन ल्याउँदछ ? आर्थिक सङ्कटले मेडिकल विश्वविद्यालय विचमै अलपत्र पर्न सक्ने सम्भावना छ वा छैन । विश्वविद्यालय खोलेर सञ्चालनमा ल्याउन के कस्ता कठिनाइ आइपर्दछ र खोल्नुको फाइदा बेफाइदा दुवैबारे प्रस्ट रूपमा जनतालाई बताइदिनु पर्यो ।
स्वास्थ्य शिक्षाको क्षेत्रमा लामो इतिहास बोकेका चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज र वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जहाँ सबै पूर्वाधार पुरा छन्, ले पनि मेडिकल विश्वविद्यालय सञ्चालन गर्न नसकिरहेको अवस्थामा भवन बाहेक कुनै पूर्वाधार नभएको गेटामा एकै चोटि मेडिकल विश्वविद्यालय खोल्दा देश भित्र र अन्न मुलुकका विश्वविद्यालय वा शिक्षण संस्थाहरुले मान्यता दिने वातावरण बन्न सक्ने कि नसक्ने र यसको विश्वसनीयता माथि प्रश्न उठ्न सक्छ कि सक्दैन ?
सुदूरपश्मिाञ्चल भेगका जनताको स्वास्थ्य स्तरमा सुधार ल्याउन पहिले सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउने वा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने वा मेडिकल विश्वविद्यालय खोल्ने यस बारेमा तपाइहरू को स्पष्ट धारण जनताहरूले जान्न चाहिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी